गोकुलगंगा, रमेछाप।
गोकुलगंगा गाउँपालिका–४, बेतालीको वडा कार्यालय अहिले जनसेवाको केन्द्र होइन, लापरवाही र बेपर्वाहीको प्रतीक बनेको छ। जनताको सानो समस्या समाधान गर्नुपर्ने कार्यालय नै आज सेवा नपाइने, कर्मचारी नदेखिने र जिम्मेवारीबोध हराएको स्थान बनेको छ।
स्थानीय बासिन्दाहरू भन्छन् — “पाँच मिनेटमा सकिने सिफारिसको लागि दुई दिन पर्खनु पर्छ। कहिलेकाहीँ त वडा कार्यालय पुग्दा ढोका त खुला हुन्छ, तर कर्मचारी नै भेटिँदैन।”
कर्मचारीको लापरवाही र जनप्रतिनिधिको मौनता
पालिका र वडाका जनप्रतिनिधिहरूको हेलचेक्करी, कर्मचारीहरूको अनुशासनहीनता र कर्तव्यविमुखताले गर्दा स्थानीय बेतालीबासी आज सेवा पाउन असमर्थ छन्। कार्यालयमा सचिवविहीन अवस्थाले झन् समस्या थपिएको छ। आवश्यक कामका लागि कार्यालय धाउने जनतालाई ‘आज हुँदैन, भोलि आउनुहोस्’ भन्ने जवाफ मात्र मिलिरहेको छ।
एक स्थानीय युवाले रोष पोख्दै भने,
“जनताको करको पैसाबाट तलब खाने तर जनता सेवाबाट वञ्चित हुने यो के न्याय हो? यस्तो कार्यालय र कर्मचारी किन चाहियो?”
जनताको विश्वास डगमगाउँदै
वडाको यस अवस्थाले जनताको सरकारप्रतिको भरोसा कमजोर बन्दै गएको छ। पालिकाले समयमै ध्यान नदिए वडास्तरमै भ्रष्ट प्रणाली र बेथिति मौलाउने खतरा देखिन्छ। स्थानीयहरूले चेतावनी दिएका छन् —
“यदि सुधार भएन भने, सिंहदरबार त टाढा छ, तर अब वडासम्म पनि पुग्ने विश्वास हराउँदैछ।”
तात्कालिक कदमको आवश्यकता
यस समस्याप्रति गाउँपालिका प्रमुख र सम्बन्धित निकायले तत्काल ध्यान नदिए जनताको असन्तोष विस्फोट हुन सक्ने अवस्था छ। बेतालीका नागरिकले माग गरेका छन् —
- कर्मचारीहरूको नियमित उपस्थितिको निगरानी होस्,
- सेवा प्रवाहमा पारदर्शिता ल्याइयोस्,
- सचिबविहीन अवस्था तत्काल अन्त्य होस्।
जनताको कार्यालयमा जनताको समस्या सुन्ने कोही छैन भने, त्यो कार्यालयको अस्तित्व नै प्रश्नचिन्हमुनि पर्छ।
बेतालीको वडा कार्यालय: सेवा होइन, प्रतीक्षाको स्थल बनेको छ।