Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिरोले उठिबास लगाएको जलेश्वर : आठ दिनदेखि धर्मशालामा रात कटाउँदै स्थानीय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०८३
  • 266
    SHARES

म्याग्दी । बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको परिवारले पछिल्लो आठ दिनदेखि आफ्नै घरमा होइन, गलेश्वर मन्दिरको धर्मशालामा रात बिताउँदै आएको छ। घरमाथिबाट खस्न थालेको पहिरोले बस्ती नै जोखिममा परेपछि जलेश्वरका स्थानीय घर छाडेर सुरक्षित आश्रय खोज्न बाध्य भएका हुन्।

म्याग्दी सदरमुकाम बेनी बजार नजिकै रहेको जलेश्वर बस्ती डेढ वर्षअघि सडक विस्तारका क्रममा सिर्जित पहिरोको जोखिममा परेको थियो। पछिल्लो पटक असोज ८ देखि ११ गतेसम्म परेको लगातारको झरीपछि बस्तीमाथि रहेको राहुवडाको पाखोबाट पहिरो खस्न थालेपछि समस्या थप गम्भीर बनेको स्थानीयले बताएका छन्।

बस्तीको तल्लो भाग हुँदै बेनी–जोमसोम–कोरला सडक निर्माण गरिएको छ। सडक निर्माण तथा भू–क्षयका कारण पहिलेदेखि नै जोखिममा रहेको बस्तीमाथि यसपटक ठूलो पहिरो खसेपछि स्थानीयको घरबाससँगै जीविकोपार्जनका आधारसमेत प्रभावित भएका छन्।

इन्द्र बरुवालका अनुसार उनका पुर्खाले करिब ३० रोपनी जमिनमा बसाएको जलेश्वर बस्ती सडक विस्तारका क्रममा सिर्जित पहिरोका कारण अहिले करिब १५ रोपनी क्षेत्रमा सीमित भएको छ।

“हाम्रा पुर्खाले ३० रोपनी जमिनमा बसाएको बस्तीलाई विसं २०५४ मा खुलेको बेनी–गलेश्वर सडक विस्तारका क्रममा सिर्जना भएको पहिरोले १५ रोपनीमा खुम्चाएको थियो,” इन्द्रले भने, “राहुवडाको पहिरोले हाल छ घरपरिवारको बसोबाससमेत रहेको जलेश्वरको उठिबास लगाएको छ।”

घरभित्र पस्यो हिलो, कुखुरा फार्ममा ठूलो क्षति

पहिरोका कारण चक्र बरुवाल, भूमिराज बरुवाल र सूर्य नगरकोटीको घरभित्र हिलो पसेर बस्नै नमिल्ने अवस्था बनेको छ। इन्द्र र चक्र बरुवालले सञ्चालन गरेका कुखुरा फार्ममा समेत पहिरोले ठूलो क्षति पुर्‍याएको छ।

ती दुई वटा कुखुरा खोरमा करिब तीन हजार दुई सय कुखुरा पाल्न सक्ने क्षमता थियो। पहिरो खोरभित्रै पसेपछि बिक्रीका लागि तयार अवस्थामा रहेका करिब एक हजार पाँच सय ब्रोइलर कुखुरा नष्ट भएका छन्।

पहिरोले भवनसमेत भत्काएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। इन्द्र र मुक्ति बरुवालको घरमा आंशिक क्षति पुगे पनि घर बस्न योग्य नरहेको स्थानीयले बताएका छन्।

घरभित्र पसेको हिलोले लत्ताकपडा, महत्वपूर्ण कागजात, भाँडाकुँडा, अन्नपात तथा बालबालिकाका कापी–किताबसमेत नष्ट भएका छन्। घरभित्र पहिरो र हिलो थुप्रिएपछि केही परिवारले बेनी बजारमा डेरा लिएर बस्न थालेका छन्।

घरसँगै रोजगारीको आधार पनि गुम्यो

पहिरोले घर मात्र नभई जलेश्वरवासीको आयआर्जनको मुख्य आधारसमेत तहसनहस बनाएको छ। बेनी बजार नजिक भएकाले पछिल्लो समय जलेश्वरमा कुखुरापालन, दूध उत्पादन तथा पशुपालन व्यवसाय विस्तार हुँदै गएको थियो।

स्थानीय परिवारहरू कुखुरा, गाईभैँसी र बाख्रापालनमा निर्भर थिए। तर पहिरोले फार्म, खोर र पशुपालनका संरचनामा क्षति पुर्‍याएपछि उनीहरूको नियमित आम्दानीको स्रोतसमेत बन्द भएको छ।

चक्र बरुवालका अनुसार वर्षौंको मेहनत र लगानीबाट निर्माण गरिएको घर तथा व्यवसाय एकैपटक पहिरोले तहसनहस बनाएको छ।

“वर्षौंको मेहनत र सङ्घर्षपछि बनाएको घर छाडेर धर्मशालामा आश्रय लिएर रात कटाउनुपर्दा पीडा भएको छ,” चक्रले भने, “पहिरोले हामीलाई घरबास मात्र नभई रोजगारी र आम्दानीको आधार बनेको पोल्ट्री फार्मका सबै संरचना भत्कायो।”

बगैँचा पनि पहिरोमा पुरियो

जलेश्वरका सुन्तला तथा केराका बगैँचासमेत पहिरोमा पुरिएका छन्। पहिरोका कारण खेतीपाती र फलफूल उत्पादनमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।

साँझ परेपछि गलेश्वर मन्दिरको धर्मशालामा गएर सुत्ने र दिउँसो घरमा आएर पहिरोले पुरिएका सामान खोज्ने तथा सफा गर्ने स्थानीयको दिनचर्या बनेको छ।

बस्तीमाथिको जमिनमा चिराचिरा परेको र धाजा फाटेको देखिएकाले जुनसुकै बेला थप पहिरो खस्न सक्ने त्रास स्थानीयमा छ। यही जोखिमका कारण घर फर्केर बस्ने अवस्था तत्काल नदेखिएको उनीहरू बताउँछन्।

पहिरो जानुअघि बिहानदेखि साँझसम्म स्थानीयहरू आफ्ना कुखुरा, गाईभैँसी तथा बाख्राको स्याहारसुसारमा व्यस्त हुन्थे। अहिले भने उनीहरू आफ्नो घर, व्यवसाय र भविष्य कसरी जोगाउने भन्ने चिन्तामा छन्।

‘घर मात्रै होइन, पूरै बस्ती सुरक्षित हुनुपर्छ’

स्थानीय मुक्ति बरुवालले व्यक्तिगत घर जोगाउनेभन्दा पनि पूरै बस्तीको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने गरी योजना बनाउनुपर्ने बताए।

“हाम्रो घरमात्रै जोगाउने कुरा होइन,” उनले भने, “पूरै बस्ती सुरक्षित हुनेगरी योजना बनाउनुपर्छ। यहाँ बस्नै नसकिने अवस्था आयो भने हामी कहाँ जाने?”

उनका अनुसार बस्तीको माथिल्लो भागबाट खस्ने पहिरो नियन्त्रणसँगै तल्लो भागमा रहेको कालीगण्डकी नदीको कटानसमेत नियन्त्रण गर्न आवश्यक छ। तत्कालका लागि जोखिम न्यूनीकरण र दीर्घकालीन रूपमा बस्ती संरक्षण तथा पुनःस्थापनाको योजना आवश्यक रहेको उनको भनाइ छ।

एकीकृत रूपमा जोखिम व्यवस्थापन गर्नुपर्ने सुझाव

भूगर्भविद् चम्पकबाबु सिल्वालका अनुसार जलेश्वरको समस्या एउटा मात्रै कारणसँग सम्बन्धित नभई विभिन्न पक्षसँग जोडिएको छ। कालीगण्डकीको कटान, सडक निर्माणका क्रममा भएको भू–क्षय तथा बस्तीमाथिको पहिरोको जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

स्थानीयका लागि अहिले तत्काल सुरक्षित आश्रयको व्यवस्था गर्नु चुनौती बनेको छ। तर उनीहरूलाई दीर्घकालीन रूपमा कहाँ र कसरी पुनःस्थापना गर्ने भन्ने विषय झनै ठूलो चिन्ताको विषय बनेको छ।

अध्ययनपछि संरक्षण र पुनःस्थापनाको योजना

बेनी नगरपालिकाका प्रमुख शुरत केसीले पछिल्लो विपद्का कारण जिल्ला सदरमुकाम बेनी बजारको न्युरोडसहित नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेको बताए।

क्षति तथा जोखिमको अवस्थाबारे अध्ययन गर्न भूगर्भविद्को टोली बोलाएर अध्ययन गरिएको उनले जानकारी दिए। अध्ययन टोलीले दिने सुझाव र सिफारिसका आधारमा आवश्यक बजेट व्यवस्थापन गरी बस्ती संरक्षण, पुनर्निर्माण तथा पुनःस्थापनाका योजना अघि बढाइने नगर प्रमुख केसीको भनाइ छ।

जलेश्वरवासीका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न सुरक्षित रूपमा कहाँ बस्ने र आफ्नो गुमेको जीविकोपार्जन कसरी पुनःस्थापित गर्ने भन्ने बनेको छ। वर्षौंको मेहनतले निर्माण गरेको घर, पशुपालन तथा पोल्ट्री व्यवसाय र फलफूलका बगैँचा गुमाएका परिवारहरू तत्काल राहतसँगै दीर्घकालीन समाधानको प्रतीक्षामा छन्।

पहिरोको जोखिम अझै कायम रहेकाले जलेश्वरको समस्या तत्कालीन राहतमा मात्र सीमित नराखी भू–क्षय, नदी कटान, सडक निर्माण र बस्तीको भौगोलिक जोखिमलाई समेटेर दीर्घकालीन संरक्षण तथा पुनःस्थापनाको योजना आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४