काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टी संगठनका विभिन्न तहमा ३५ वर्षमुनिका झण्डै ४४ हजार युवा विभिन्न पद तथा जिम्मेवारीमा निर्वाचित भएका छन्। पार्टीको नयाँ विधानअनुसार वडा तहदेखि केन्द्रीय संरचनासम्म युवाको प्रतिनिधित्व बढाउने व्यवस्था गरिएपछि ठूलो संख्यामा युवा नेतृत्वमा आएका हुन्।
कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार नयाँ व्यवस्थाअनुसार देशभर ३५ वर्षमुनिका ४३ हजार ९८६ जना युवाले पार्टीभित्र औपचारिक पदीय जिम्मेवारी पाएका छन्। उनका अनुसार नेपाली राजनीतिक दलहरूको इतिहासमा एउटै महाधिवेशन तथा संगठनात्मक प्रक्रियाबाट यति ठूलो संख्यामा युवालाई पदीय जिम्मेवारी दिइएको यो पहिलो घटना भएको दाबी गरिएको छ।
नयाँ विधानले वडा तहबाटै युवाको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ। प्रत्येक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना युवालाई क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित गर्नुपर्ने प्रावधान राखिएको छ। तीमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था पनि गरिएको छ।
देशभर रहेका ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाका दरले मात्रै हिसाब गर्दा २० हजार २२९ जना युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने आधार तयार हुन्छ। तर वडामा रहेको क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा तीनदेखि बढीमा सात जनासम्म युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने व्यवस्था रहेकाले औसत पाँच जनाका दरले करिब ३३ हजार ७१५ जना युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएको विवरण कांग्रेसले सार्वजनिक गरेको छ।
त्यसैगरी स्थानीय तहको वडा कार्यसमितिमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। गाउँपालिकाका प्रत्येक वडाबाट एक जना र नगरपालिकाका प्रत्येक वडाबाट दुई जना युवा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
नेपालमा हाल गाउँपालिकातर्फ ३ हजार २१५ वडा र नगरपालिकातर्फ ३ हजार ५२८ वडा रहेको विवरणअनुसार गाउँपालिकाका वडाबाट ३ हजार २१५ जना तथा नगरपालिकाका वडाबाट ७ हजार ५६ जना युवा वडा कार्यसमिति सदस्यका रूपमा निर्वाचित हुने देखिन्छ। यसरी क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सदस्यको संख्या जोड्दा ३३ हजार ७१५ क्षेत्रीय प्रतिनिधि तथा १० हजार २७१ वडा सदस्य गरी कुल ४३ हजार ९८६ युवाले पदीय जिम्मेवारी पाएको कांग्रेसको विवरणमा उल्लेख छ।
झण्डै एक लाख युवाबीच प्रतिस्पर्धा
युवा प्रतिनिधित्व बढेसँगै कांग्रेसको अधिवेशनमा युवाबीचको प्रतिस्पर्धा पनि उल्लेख्य देखिएको निर्वाचन समितिले जनाएको छ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार विभिन्न पदमा निर्वाचित हुने संख्याभन्दा कम्तीमा दोब्बर संख्यामा उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो। त्यसका आधारमा अधिवेशन प्रक्रियामा झण्डै एक लाख युवा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा सहभागी भएको उनको भनाइ छ।
यसले पार्टीका तल्ला तहमा नेतृत्व लिन चाहने युवाको संख्या उल्लेख्य रहेको देखाएको छ। यद्यपि, प्रतिस्पर्धामा सहभागी सबै युवा निर्वाचित भने भएका छैनन्। विधानले तोकेको पद संख्या र निर्वाचन परिणामका आधारमा निश्चित संख्यामा मात्र उम्मेदवारहरू विभिन्न जिम्मेवारीमा चयन भएका छन्।
स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व
कांग्रेसको नयाँ विधानअनुसार युवा प्रतिनिधित्व वडा र क्षेत्रीय तहमा मात्र सीमित रहने छैन। क्षेत्रीय प्रतिनिधिहरूमध्येबाट गाउँपालिका तथा नगरपालिकाका कार्यसमितिमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा कम्तीमा तीन जना चयन हुने र त्यसमा एक जना महिला हुनुपर्ने व्यवस्था रहेको कांग्रेसले जनाएको छ। त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा जिल्ला कार्यसमितिमा पनि क्षेत्रीय प्रतिनिधिहरूमध्येबाट विभिन्न संख्यामा पदाधिकारी तथा सदस्य चयन हुने प्रक्रिया अघि बढेको छ।
प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना तथा जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा पनि युवा सहभागिता
कांग्रेसको संगठनात्मक संरचनामा युवा सहभागिता बढाउने अर्को व्यवस्था महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयनमा देखिएको छ।
निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुने व्यवस्था गरिएको छ।
यसबाट पार्टीको नीति निर्माण तथा महाधिवेशनस्तरीय निर्णय प्रक्रियामा पनि युवाको सहभागिता हुने संरचना तयार भएको कांग्रेसले जनाएको छ।
प्रदेश र केन्द्रीय संरचनामा पनि युवा प्रतिनिधित्व
नयाँ विधानले प्रदेश तहमा समेत युवा सहभागितालाई संस्थागत गर्ने व्यवस्था गरेको छ। प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
त्यसैगरी सातै प्रदेशका प्रदेश कार्यसमितिमा दुई महिलासहित कम्तीमा पाँच जना युवा सदस्य रहने व्यवस्था गरिएको कांग्रेसको विधानमा उल्लेख छ।
केन्द्रीय कार्यसमितिमा पनि पहिलोपटक प्रत्येक प्रदेशबाट एक जना युवा र एक जना युवतीसहित कुल १४ जना युवाको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। यसले पार्टीको सबैभन्दा माथिल्लो संगठनात्मक संरचनामा पनि युवाको सहभागिता सुनिश्चित गर्ने कांग्रेसको भनाइ छ।
युवाको सहभागिताले बदलिँदै कांग्रेसको संगठनात्मक संरचना
विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले ठूलो संख्यामा युवाले पदीय जिम्मेवारी पाउनु कांग्रेसको संगठनात्मक संरचनामा आएको परिवर्तनको संकेत भएको बताएका छन्।
उनका अनुसार महाधिवेशन प्रक्रियामा ठूलो संख्यामा युवाले उम्मेदवारी दिनु र विभिन्न तहमा निर्वाचित हुनु पार्टीभित्र नयाँ पुस्ताको सक्रियता बढेको प्रमाण हो। पौडेलले कांग्रेसको संगठनमा युवाको सहभागिता विगतको तुलनामा उल्लेख्य रूपमा बढेको बताएका छन्।
यद्यपि, युवा प्रतिनिधित्वको संख्यात्मक वृद्धि मात्रले संगठनमा पुस्तान्तरण वा प्रभावकारी नेतृत्व स्थापित भएको निष्कर्ष निकाल्न भने आगामी कार्यसम्पादन, निर्णय प्रक्रियामा उनीहरूको भूमिका र पार्टीका विभिन्न तहमा उनीहरूले पाउने वास्तविक जिम्मेवारीले निर्धारण गर्ने विषय रहन्छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट वडा तहदेखि केन्द्रीय तहसम्म युवालाई प्रतिनिधित्व गराउने व्यवस्था कार्यान्वयनमा आएसँगै पार्टीको संगठनात्मक संरचनामा नयाँ पुस्ताको उपस्थिति बढेको देखिएको छ। अब निर्वाचित युवा नेतृत्वले पार्टीको नीति निर्माण, संगठन सञ्चालन र आगामी राजनीतिक गतिविधिमा कस्तो भूमिका निर्वाह गर्छन् भन्ने विषय आगामी दिनमा महत्वपूर्ण रहनेछ।