Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिपी कोइराला क्यान्सर अस्पताल: एक वर्षमा दुई लाख बढीलाई सेवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १२ २०८३
  • 513
    SHARES

चितवन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत २ लाख १२ हजार ९७७ जना बिरामीलाई सेवा दिएको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा प्रत्येक वर्ष असोज १० गते सार्वजनिक गर्ने तथ्याङ्कअनुसार उक्त संख्यामा बिरामीले ओपिडी सेवा लिएका हुन्।

अस्पतालका डा. सुशील अधिकारीका अनुसार ओपिडी सेवा लिने बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी थिए। बाँकी बिरामी भने यसअघि उपचार गराइसकेपछि पुनः परीक्षण तथा उपचारका लागि अस्पताल आएका थिए। सन् २०२५ मा अस्पतालमा आएका बिरामीमध्ये ६ हजार ८५८ जनामा नयाँ क्यान्सर पहिचान भएको अस्पतालले जनाएको छ।

अघिल्लो वर्ष अर्थात् सन् २०२४ मा अस्पतालको ओपिडी सेवाबाट २ लाख ४ हजार ९७१ जना बिरामीले सेवा लिएका थिए। त्यसमध्ये ३१ हजार ५६० जना नयाँ बिरामी थिए भने ७ हजार ९ जना नयाँ क्यान्सरका बिरामी पहिचान भएका थिए।

अस्पतालको तथ्याङ्कअनुसार सन् २०२५ मा आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएका छन्। त्यस्तै, ११ हजार ५५९ जना बिरामी भर्ना भएर अन्तरङ्ग सेवा लिएका थिए। सोही अवधिमा अस्पतालमा ३ हजार ९१ वटा ठूला शल्यक्रिया गरिएको डा. अधिकारीले जानकारी दिनुभयो।

सन् २०२४ मा आकस्मिक विभागबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना बिरामी भर्ना भएर उपचार गराएका थिए। सो वर्ष ३ हजार १६९ वटा ठूला शल्यक्रिया गरिएको थियो। त्यस्तै, २७ हजार ४९३ जनाले डे केयर सेवा लिएका थिए।

सन् २०२५ मा अस्पतालमा विकीरण प्रविधि (सेकाई) मार्फत उपचार गराउने बिरामीको संख्या २ हजार ९७० रहेको छ। त्यस्तै, डे केयरमा भर्ना भएर केमोथेरापी लिने बिरामीको संख्या २६ हजार ४७२ रहेको अस्पतालले जनाएको छ।

१० हजार ९२० विपन्नको निःशुल्क उपचार

अस्पतालले आर्थिक रूपमा विपन्न बिरामीलाई समेत उपचारमा सहुलियत तथा निःशुल्क सेवा प्रदान गर्दै आएको छ। सन् २०२५ मा मात्रै १० हजार ९२० जना विपन्न बिरामीले निःशुल्क उपचार सेवा पाएका छन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार विपन्न बिरामीको उपचारबापत ४३ करोड १२ लाख १४ हजार १६१ रुपैयाँ १६ पैसा बराबरको छुट प्रदान गरिएको छ।

यसैगरी क्यान्सर सेवा समाजमार्फत थप १७६ जना बिरामीले १५ लाख ७३ हजार १४५ रुपैयाँ बराबरको छुट पाएका छन्।

सन् २०२४ मा ९ हजार ११२ जना विपन्न बिरामीले अस्पतालबाट सेवा पाएका थिए। उनीहरूलाई उपचारबापत ३५ करोड ५८ लाख २२ हजार २०६ रुपैयाँ ९५ पैसा बराबरको छुट प्रदान गरिएको थियो। सोही वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जना बिरामीले १३ लाख ९० हजार ३६४ रुपैयाँ बराबरको छुट पाएका थिए।

जनरल बेड र खानाको सुविधा

पाँच सय शय्या क्षमताको अस्पतालमा आइसियू, एचडियू र क्याबिनबाहेकका सम्पूर्ण जनरल बेड निःशुल्क उपलब्ध गराउँदै आएको डा. नेपालले बताउनुभयो। अस्पतालमा भर्ना भएर उपचार गराउने बिरामीलाई दुई छाक खाना र एक छाक नास्ता पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।

अस्पतालमा हाल ७१८ जना कर्मचारी कार्यरत छन्। तीमध्ये १०० जना चिकित्सक र २९५ जना नर्स रहेका छन्। देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।

उपचारसँगै अनुसन्धान र रोकथाममा जोड

सरकारबाट स्वायत्त संस्थाका रूपमा सञ्चालन हुने गरी विसं २०५३ मा ऐनमार्फत बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको हो। उपचार, अनुसन्धान तथा क्यान्सरको निवारण र रोकथामलाई मुख्य उद्देश्य बनाएर स्थापना गरिएको अस्पताल चीन सरकारको सहयोगमा निर्माण भएको थियो।

सुरुमा १०० शय्या क्षमताको अस्पतालका रूपमा सञ्चालनमा आएको यो संस्था अहिले ५०० शय्या क्षमतामा विस्तार भएको छ। पछिल्लो तथ्याङ्कले अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या ठूलो रहेको देखाएको छ भने क्यान्सर उपचारका विभिन्न सेवासमेत विस्तार हुँदै गएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४