Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०८३
  • 665
    SHARES

काठमाडाैं  । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार हुँदै गए पनि उत्पादनअनुसारको बजार र उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्। बारीमा लटरम्म खुर्सानी फलेर पाक्न थालेपछि किसान उत्पादन देखेर उत्साहित भए पनि बिक्रीको सुनिश्चितता नहुँदा आम्दानीको विषयमा अन्योलमा छन्।

भकिम्लीका गोविन्द किसानले यस वर्ष कोदो र मकैको विकल्पका रूपमा पहिलोपटक घरनजिकैको दुई रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका छन्। बोटमा खुर्सानी राताम्मे हुन थालेपछि उनी उत्पादनबाट उत्साहित छन्। तर, उत्पादन कहाँ र कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको उनको भनाइ छ।

“गाउँका अन्य किसानको सफलताबाट प्रभावित भएर दुई रोपनीमा खुर्सानी लगाएको हुँ। खुर्सानी पाकेर राताम्मे हुन थालेको छ,” उनले भने, “खुर्सानी देखेर खुसी हुनुपर्ने अवस्थामा कहाँ लगेर बेच्ने भन्ने चिन्ताले सताएको छ।”

गत वर्ष प्रतिकिलो करिब रु २०० सम्ममा बिक्री भएको अकबरे खुर्सानीको मूल्य यस वर्ष घटेको किसानहरूको गुनासो छ। कतिपय किसानले प्रतिकिलो रु १७० पाउनसमेत कठिन भएको बताएका छन्। मूल्य घट्दै जाँदा उत्पादन लागत उठाउनसमेत समस्या हुने अवस्था आएको उनीहरूको भनाइ छ।

सोचिन्द्रा कृषि तथा पशुपक्षी फार्मका सञ्चालक लालबहादुर पुनले गत वर्ष खुर्सानी बिक्रीबाट रु चार लाख आम्दानी गरेका थिए। यस वर्ष उनले चिनाखेतस्थित पुख्र्यौली जग्गामा नौ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरेका छन्।

उनका अनुसार बजार मूल्य राम्रो भएको अवस्थामा यस वर्ष भकिम्लीबाट मात्रै रु २० लाखभन्दा बढीको अकबरे खुर्सानी बिक्री गर्न सकिने सम्भावना छ। तर, बजारमा मूल्य निरन्तर घटेकाले किसानको अपेक्षित आम्दानीमा असर परेको छ।

“दुई वर्षअघि प्रतिकिलो रु ३५० सम्ममा खुर्सानी बिक्री भएको थियो। गत वर्ष प्रतिकिलो रु १९० सम्म पाएका थियौँ,” पुनले भने, “यस वर्ष भने प्रतिकिलो रु १३० पाउन पनि मुस्किल भइरहेको छ।”

भकिम्लीमा गोविन्द नेपाली, लालबहादुर पुन, राम रुचाल, खिम आले, कुल पुन, जगदेवी घर्ती, मनी रोकालगायत करिब १० जना किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन्। किसानहरूका अनुसार खेती विस्तार हुँदै गए पनि उत्पादनको तुलनामा स्थानीय बजार सीमित हुँदा समस्या देखिएको हो।

अकबरे खुर्सानी खरिद गर्ने केही व्यापारीले सस्तो मूल्यमा खुर्सानी खरिद गर्नुका साथै समयमै भुक्तानी नगर्दा किसान थप समस्यामा परेको लालबहादुर पुनले बताए। उत्पादन भएपछि तत्काल बिक्री गर्नुपर्ने भएकाले किसान व्यापारीले निर्धारण गरेको मूल्यमा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

भकिम्लीका किसानले पछिल्ला तीन वर्षदेखि अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न थालेका हुन्। त्यसअघि यहाँ अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको थिएन। बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका रूपमा खेती सुरु गरेका थिए। परीक्षण सफल भएपछि अन्य किसान पनि व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।

भकिम्लीमा पहिलोपटक व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु हुँदा कृषि विकास कार्यालयले तरकारी खेती प्रवद्र्धन कार्यक्रममार्फत किसानलाई अनुदानसमेत उपलब्ध गराएको थियो। यसले स्थानीय किसानलाई परम्परागत कोदो, मकै लगायतका बालीको विकल्प खोज्न सहयोग पुगेको बताइएको छ।

कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार भकिम्लीको उच्च पहाडी भूगोल र हावापानी अकबरे खुर्सानी खेतीका लागि अनुकूल छ। दिउँसो करिब २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड तथा तराईका विभिन्न भूभागमा अकबरे खुर्सानी खेती गर्न सकिने उनले बताए।

भकिम्लीमा उत्पादन भएको अकबरे खुर्सानीका लागि बेनी, दरवाङ, तातोपानी, गलेश्वर, मुस्ताङ, बाबियाचौर, कुश्मा र बागलुङलगायतका क्षेत्र स्थानीय बजारका रूपमा रहेका छन्। तर, उत्पादन बढ्दै जाँदा यी बजारले मात्र पर्याप्त माग धान्न नसक्ने किसानको भनाइ छ।

किसानले उत्पादन बढाए पनि बजार व्यवस्थापन कमजोर हुँदा मूल्यमा ठूलो उतारचढाव आउने गरेको छ। यसले एक वर्ष राम्रो मूल्य पाएर उत्साहित भएका किसानलाई अर्को वर्ष उत्पादन बढेपछि बिक्रीकै समस्या हुने अवस्था सिर्जना गरेको छ।

अकबरे खुर्सानी खेतीमा उत्पादनसम्बन्धी समस्या पनि देखिएको किसानहरूले बताएका छन्। किसान कुलबहादुर पुनले कोदो र मकैजस्ता परम्परागत खाद्यबालीको विकल्पमा अकबरे खेती गरे पनि फूल खेल्न थालेपछि बोट सुक्ने समस्या देखिएका कारण अपेक्षित आम्दानी लिन नसकेको गुनासो गरे।

यस समस्यालाई समाधान गर्न कृषि प्राविधिकको नियमित निगरानी र किसानलाई रोग तथा कीरा व्यवस्थापनसम्बन्धी प्राविधिक ज्ञान आवश्यक देखिएको छ। उत्पादनको गुणस्तर कायम गर्न समयमै रोग तथा कीराको पहिचान र उपचार गर्नुपर्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले किसान र व्यापारीबीच समन्वय गरी खुर्सानीको बजारीकरणमा सहयोग गर्ने प्रयास भइरहेको बताए। उत्पादन भएको खुर्सानी बिक्रीका लागि सम्भावित व्यापारीसँग किसानलाई सम्पर्क गराउने तथा रोग–कीराको समस्या देखिएका ठाउँमा कृषि प्राविधिक परिचालन गर्ने काम भइरहेको उनको भनाइ छ।

किसानका अनुसार ताजा खुर्सानी बिक्री हुन नसकेको अवस्थामा त्यसलाई सुकाएर लामो समयसम्म सुरक्षित राख्न सकिने भए पनि स्थानीयस्तरमा प्रशोधन, भण्डारण र प्याकेजिङको पर्याप्त व्यवस्था छैन। त्यसैले किसानलाई खुर्सानी सुकाउने, प्रशोधन गर्ने, प्याकिङ गर्ने र सुरक्षित रूपमा भण्डारण गर्ने प्रविधिसम्बन्धी तालिम आवश्यक रहेको उनीहरूको माग छ।

अकबरे खुर्सानीको खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने सम्भावना भए पनि उत्पादनसँगै बजार व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने देखिएको छ। स्थानीय बजारमा मात्र निर्भर नभई बाहिरी जिल्लासम्म बजार विस्तार, किसान र व्यापारीबीच नियमित समन्वय, उचित मूल्य निर्धारण, भण्डारण तथा प्रशोधनको व्यवस्था गर्न सके अकबरे खेती किसानका लागि थप आम्दानीको स्रोत बन्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४