एजेन्सी । शक्तिशाली टाइफुन ‘डुजुआन’ जापानतर्फ अघि बढ्दै गर्दा जनजीवन प्रभावित बनेको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै जापानमा करिब ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
आइतबार बिहान टोकाइ क्षेत्रको दक्षिणी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढिरहेको ‘डुजुआन’ सोमबार दिउँसोदेखि मंगलबार बिहानसम्म इजु टापु हुँदै कान्तो क्षेत्र नजिक पुग्ने र त्यसपछि तोहोकुको तटबाट पूर्वतर्फ अघि बढ्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले आँधीको प्रभावसँगै भारी वर्षा र तीव्र हावाहुरीको जोखिम रहेको बताएका छन्।
जापान एयरलाइन्सले १३५ वटा र अल निप्पोन एयरवेज (एएनए) ले १४० वटा उडान रद्द गरेका छन्। थप उडान प्रभावित हुन सक्ने जनाइएको छ। टोकियो आसपासका क्षेत्रमा ९ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने केही रेल सेवासमेत स्थगित गरिएका छन्।
टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले आँधीको प्रभावका कारण केही क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिएको छ। एजेन्सीका अनुसार वर्षाको मात्रा सेप्टेम्बर महिनाको औसत वर्षाभन्दा बढी हुन सक्ने र केही स्थानमा कीर्तिमानी वर्षासमेत हुन सक्ने सम्भावना छ।
विपद् व्यवस्थापन अधिकारीहरूले राजधानी टोकियोसहित आसपासका क्षेत्रमा बसोबास गर्ने १६ लाखभन्दा बढी बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।
आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ निर्धारित समयभन्दा अगावै बन्द गरिएको छ। चिबामै आयोजना हुने ठूलो खुला सङ्गीत महोत्सव र बेसबल खेलसमेत रद्द गरिएका छन्।
यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको छ। कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनुभएको छ।
टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको टाइफुन ‘डुजुआन’मा प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलेको जनाइएको छ। आँधीको मार्ग र तीव्रतामा परिवर्तन आउन सक्ने भएकाले जापानी अधिकारीहरूले स्थानीय बासिन्दालाई मौसमसम्बन्धी पछिल्ला सूचनामा ध्यान दिन आग्रह गरेका छन्।