Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ३ २०८३
  • 513
    SHARES

नेपालगञ्ज । नेपालगञ्जमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव बाँकेको सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ। करिब डेढ शताब्दीभन्दा लामो इतिहास बोकेको यो महोत्सव नेपालकै पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सवमध्ये एक हो।

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाका अनुसार हरेक वर्ष विजयादशमी अर्थात् दशैंको अवसरमा आयोजना हुँदै आएको रामलीला महोत्सवले नेपालगञ्जलाई नेपालसँगै भारतमा समेत विशिष्ट सांस्कृतिक पहिचान दिलाएको छ।

उनका अनुसार रामलीला महोत्सव धार्मिक कार्यक्रम मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा समेत विकास भएको छ। महोत्सवमा हिन्दु, मुस्लिम, सिखलगायत विभिन्न समुदायका मानिसहरू एकजुट भएर सहभागी हुने गरेका छन्।

राति ८ बजेदेखि मध्यरातसम्म रामलीला

सत्यमाथि असत्यको विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीसम्म हरेक राति रामलीला मञ्चन गरिन्छ। राति ८ बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुने रामलीला हेर्न नेपालगञ्जवासीको ठूलो सहभागिता हुने गरेको छ।

यस वर्ष रामलीला महोत्सवको १५९औँ संस्करण असोज २५ गते घटस्थापनाका दिनदेखि सुरु हुने भएको छ। महोत्सवमा भगवान् श्रीरामको जन्मदेखि उहाँको राज्यारोहणसम्मको जीवनकथालाई नाटकका रूपमा प्रस्तुत गरिनेछ।

रामलीलाका विभिन्न प्रसङ्गमा श्रीरामको जन्म, सीता स्वयंवर, वनवास, धनुष यज्ञ, लङ्कासँगको युद्ध, रावणवध, भरतमिलाप तथा अन्त्यमा श्रीरामको शुभ राज्याभिषेकलगायतका दृश्य मञ्चन गरिन्छ।

वृन्दावनबाट कलाकार ल्याइँदै

रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार यस वर्ष पनि विगतका वर्षझैँ भव्य रूपमा महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको छ।

यसपटक भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली नेपालगञ्ज ल्याएर रामलीला मञ्चन गरिने भएको छ।

रामलीला मञ्चनका लागि हरेक वर्ष भारतबाट कलाकार ल्याउन ठूलो रकम खर्च हुने गरेको समितिले जनाएको छ। एउटा रामलीला आयोजनामा कम्तीमा १५ लाख रुपैयाँ खर्च हुने गरेको अध्यक्ष कनोडियाले बताए।

नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि अपेक्षित सफलता प्राप्त हुन नसकेको उनको भनाइ छ। अब स्थानीयस्तरमै कलाकार उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्ने योजना बनाइएको उनले जानकारी दिए।

समुदायको सहयोगमा डेढ शताब्दी लामो परम्परा

नेपालगञ्जको रामलीला महोत्सव पूर्ण रूपमा समुदायको सहयोग र सहभागितामा सञ्चालन हुँदै आएको छ। अध्यक्ष कनोडियाका अनुसार डेढ सय वर्षभन्दा लामो समयदेखि समुदायको अग्रसरतामा निरन्तरता पाउँदै आएको यो सांस्कृतिक विरासतलाई जोगाइराख्नु चुनौतीपूर्ण बन्दै गएको छ।

स्थानीय कलाकार उत्पादनलाई प्राथमिकता दिएर रामलीलालाई अझ व्यवस्थित र दिगो बनाउन स्थानीय सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ।

उनले ऐतिहासिक रामलीलालाई आगामी पुस्तासम्म जीवित राख्न समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।

कोरोना महामारी र आन्दोलनका कारण प्रभावित

डेढ सय वर्षभन्दा लामो समयदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको रामलीला महोत्सव विभिन्न समयमा प्रतिकूल परिस्थितिका कारण प्रभावितसमेत भएको छ।

कोरोना महामारीका कारण रामलीलाको १५३औँ र १५४औँ वर्ष प्रवेशका कार्यक्रम स्थगित भएका थिए। त्यस्तै गत वर्षको १५८औँ संस्करण पनि जेनजी आन्दोलनका कारण नियमित रूपमा मञ्चन हुन सकेन। यद्यपि रावण दहन कार्यक्रम भने गरिएको थियो।

यस्ता चुनौतीका बाबजुद रामलीलाको परम्परा निरन्तर अगाडि बढाउने प्रयास भइरहेको समितिले जनाएको छ।

नेपाल–भारत सीमापार लोकप्रियता

रामलीला महोत्सव नेपालगञ्जवासीमा मात्र सीमित छैन। सीमावर्ती भारतीय क्षेत्रमा समेत यसको विशेष आकर्षण रहेको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्य बताउँछन्।

उनका अनुसार रामलीला हेर्न नेपालगञ्जसँगै भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु आउने गरेका छन्।

स्थानीयस्तरमा सहयोग सङ्कलन गरेर महोत्सव सञ्चालन हुँदै आएको उनले बताए। सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा रामलीला मञ्चन हुँदै आएको उनको भनाइ छ।

यिनै अग्रजले सुरु गरेका थिए रामलीला

रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार नेपालगञ्जमा रामलीला महोत्सव सुरु गर्ने अग्रजहरूमा विश्वनाथ टण्डन, बद्रिनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन र भाइ लाल हल्वाईलगायत रहेका छन्।

उनीहरूको पहलबाट सुरु भएको रामलीला आज नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा बनेको छ।

हरेक वर्ष रामलीला हेर्न सयौँ दर्शक राति अबेरसम्म मैदानमा उपस्थित हुने गरेका छन्। धनुष यज्ञदेखि रावणवध, भरतमिलाप हुँदै भगवान् श्रीरामको राज्याभिषेकसँगै महोत्सवको समापन हुने गर्दछ।

करिब डेढ शताब्दी लामो इतिहास बोकेको नेपालगञ्जको रामलीला महोत्सवले धार्मिक आस्थासँगै कला, संस्कृति, सामाजिक सद्भाव र नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत जोड्दै आएको छ। आगामी पुस्तामा यो परम्परा हस्तान्तरण गर्न स्थानीय कलाकार उत्पादन र संस्थागत संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४