काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शुक्रबार बिहान सडकमा राखिएको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको पनि विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।