Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजुरा जिल्ला अस्पतालमा जटिल शल्यक्रिया हुन थालेपछि जिल्लावासीलाई राहत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 855
    SHARES

काठमाडाैं। जिल्ला अस्पताल, बाजुरामा जटिल प्रकृतिका शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि जिल्लावासीलाई ठूलो राहत मिलेको छ । जटिल प्रसूति अवस्था, आपत्कालीन एपेन्डिक्स, रिभर्स सुरल आर्टरी फ्ल्यापलगायत शल्यक्रिया जिल्लामै हुन थालेपछि सामान्य उपचारदेखि जटिल स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको हो ।

आधारभूत १५ शय्याको जिल्ला अस्पतालले दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासँगै सुलभ दरमा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि अस्पतालप्रति स्थानीयवासीको विश्वाससमेत बढ्दै गएको छ ।

बाजुरा देशकै दुर्गम हिमाली जिल्लामध्ये एक हो । यसअघि जटिल प्रकृतिका शल्यक्रियाका लागि बाजुरावासी धनगढी, काठमाडौंलगायत जिल्ला बाहिर जानुपर्ने अवस्था थियो । सीमित जनशक्ति, औषधि, उपकरण तथा स्रोतसाधनका बीच अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालन गर्न थालेपछि उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढेको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीका अनुसार विशेषज्ञ सेवा सुरु भएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । उनका अनुसार हुम्ला, मुगुलगायत छिमेकी जिल्लाबाट समेत दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

हाल अस्पतालमा एमडिजिपी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ ।

‘विशेषज्ञ चिकित्सकको अभावमा विभिन्न सेवासँगै शल्यक्रियाका लागि धनगढी, काठमाडौंसम्म जानुपर्ने अवस्थाको अन्त्य भएको छ’, सूचना अधिकारी गिरीले भने, ‘अहिले अधिकांश जटिल शल्यक्रिया यहीँ सफलतापूर्वक भइरहेका छन् ।’

अस्पतालमा दैनिक ओपिडी तथा शल्यक्रिया सेवाका साथै चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । बालरोग, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक, कान, घाँटी, मानसिक स्वास्थ्यलगायत सेवासमेत उपलब्ध रहेको गिरीले बताए ।

जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिशबहादुर मल्लले सीमित स्रोतसाधनका बीच अस्पतालले जीवनरक्षक तथा विशेषज्ञ स्वास्थ्य सेवा निरन्तर प्रदान गरिरहेको बताए ।

सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा अस्पतालमै विशेषज्ञ चिकित्सकसहितका सेवा सञ्चालन भएपछि स्थानीयवासीलाई ठूलो राहत मिलेको उनको भनाइ छ ।

एक वर्षमा करिब ३५ हजारले पाए उपचार सेवा

जिल्ला अस्पतालमा एक वर्षमा करिब ३५ हजार बिरामीले उपचार सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार ९५५ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको अस्पतालले जनाएको छ ।

सो अवधिमा ३५१ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको थियो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म मात्रै ६ हजार ४६१ जना बिरामीले अस्पतालबाट उपचार सेवा लिएका छन् ।

यहाँ बाजुराका नौवटै स्थानीय तहसँगै छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको दुई महिनामा मात्रै १३९ जनाको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

करार कर्मचारीको भरमा अस्पताल

जिल्ला अस्पतालमा हाल एक जना मेडिकल सुपरिटेन्डेन्ट नवौँ तह र एक जना आठौँ तहका चिकित्सकसहित कुल १८ जनाको दरबन्दी रहेको छ । तर अहिले निमित्त मेडिकल सुपरिटेन्डेन्ट आठौँ तहसहित जम्मा नौ जना मात्रै दरबन्दीका कर्मचारी कार्यरत छन् ।

अस्पतालमा मेडिकल अधिकृतसहित ८९ जना करार सेवाका कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

‘संरचना पर्याप्त छ, ५० शय्याको अस्पताल हुनुपर्नेमा १५ शय्याको मात्रै हुँदा कर्मचारी पनि कम छन्’, डा. मल्लले भने, ‘केही सेवा थप्यौँ, तर कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।’

उनले सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताललाई तत्काल ५० शय्यामा स्तरोन्नति गरे दुर्गमका नागरिकलाई ठूलो राहत पुग्ने बताए ।

अस्पतालको भौतिक संरचना र सेवा विस्तारको तुलनामा जनशक्ति तथा दरबन्दी पर्याप्त नहुँदा उपलब्ध स्रोतसाधनबाटै सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

विशेषज्ञ चिकित्सक आएपछि शल्यक्रिया सेवामा सहजता

सुदूरपश्चिम प्रदेश सरकारले एमडिजिपी डा. राहुल श्रेष्ठलाई छात्रवृत्ति करारमा खटाएपछि अस्पतालको सेवा प्रवाहमा थप सहजता भएको अस्पताल प्रशासनले जनाएको छ ।

अर्थोपेडिक सर्जनको नियमित उपस्थितिले हाडजोर्नी तथा नसासम्बन्धी उपचार र शल्यक्रिया सेवामा समेत सहजता भएको अस्पतालका प्रमुख चिकित्सक डा. मल्लले बताए ।

प्रदेशको बजेट नआउँदा औषधि खरिद प्रभावित

सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेट प्राप्त नभएका कारण औषधि खरिद प्रक्रिया अघि बढाउन समस्या भएको अस्पताल प्रमुख डा. मल्लले बताए ।

उनका अनुसार अस्पतालको फार्मेसीमा औषधि रहे पनि निःशुल्क वितरण गर्नुपर्ने सबै औषधि उपलब्ध गराउन समस्या भइरहेको छ ।

‘फार्मेसीमा पर्याप्त औषधि छ’, उनले भने, ‘९८ प्रकारका निःशुल्क औषधि दिनुपर्नेमा करिब ५० प्रकारका औषधि मात्रै निःशुल्क दिन्छौँ । खरिद गर्न बजेट नहुँदा समस्या भएको छ ।’

बिरामीको चाप बढ्दै गए पनि औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनमा समस्या देखिएको छ । निःशुल्क औषधिको मौज्दातसमेत घट्दै गएकाले त्यसको प्रत्यक्ष असर दुर्गमका नागरिकमा पर्न सक्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।

भौतिक संरचना, विशेषज्ञ सेवा तथा शल्यक्रिया सेवामा क्रमशः सुधार हुँदै गए पनि पर्याप्त जनशक्ति, नियमित औषधि आपूर्ति, अत्याधुनिक उपकरण तथा बजेट व्यवस्थापन जिल्ला अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

दुर्गमका नागरिकले सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि लाखौँ रुपैयाँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता अझै कम गर्न अस्पतालको क्षमता विस्तार आवश्यक देखिन्छ ।

यद्यपि अस्पताल प्रशासन तथा व्यवस्थापन समितिको कार्यशैलीप्रति पनि प्रश्न उठ्ने गरेको छ । बिरामीको उपचारका लागि समयमै चिकित्सक नआउने तथा विभिन्न समस्या भोग्नुपरेको भन्दै स्थानीयवासीले पटकपटक अस्पतालप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

विगतको तुलनामा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको भए पनि पर्याप्त विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण, नियमित औषधि आपूर्ति तथा व्यवस्थापकीय पक्षलाई थप बलियो बनाउनुपर्ने स्थानीय विष्णु कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४