Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृष्णभीरमा सडक निर्माण सम्पन्न, भोली बिहानदेखि नियमित संचालन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०८३
  • 1K
    SHARES

धादिङ । भदौ १४ गतेदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको चर्चित कृष्णभीर सडकखण्ड १८ दिनपछि पुनः सञ्चालनमा आएको छ । त्रिशूली नदीको कटानका कारण सडकको ठूलो भाग भासिएपछि अवरुद्ध बनेको सडकलाई पुरानो संरचनाको विकल्पमा नयाँ ट्रयाक निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

सडक सञ्चालनमा ल्याउन नागढुंगा–मुग्लिन सडक आयोजनाको नेतृत्वमा भदौ १८ गतेदेखि निरन्तर काम गरिएको थियो । आयोजनाका अनुसार करिब १३ दिनसम्म दैनिक १८ घण्टासम्म विभिन्न उपकरण, प्राविधिक तथा जनशक्ति परिचालन गरी नयाँ ट्रयाक निर्माण गरिएको हो । नयाँ ट्रयाक निर्माणपछि आवश्यक स्थानमा ग्राबेलिङ तथा नाला निर्माणसमेत गरिएको छ ।

त्रिशूली नदीको कटानले सडकको पुरै भाग नै भासिएपछि तत्काल पुरानो सडक संरचनाबाट यातायात सञ्चालन गर्न सम्भव नभएको थियो । त्यसपछि आयोजनाले सडकको माथिल्लो भाग काटेर चौडा बनाउने र वैकल्पिक ट्रयाक निर्माण गर्ने योजना अघि बढाएको थियो । सोही योजनाअनुसार पहाडको भित्ता काट्दै नयाँ सडक तयार पारिएको नागढुंगा–मुग्लिन सडक आयोजनाका प्रभुराज पाण्डेले जानकारी दिनुभयो ।

नयाँ ट्रयाक निर्माणका क्रममा भने प्राविधिक टोलीले अर्को चुनौतीसमेत सामना गर्नुपरेको थियो । भित्ता काटेर सडक बनाउने क्रममा पहराका विभिन्न ठाउँबाट निरन्तर पानी रसाउने समस्या देखिएको छ । कृष्णभीरको भित्तामा जता काटेर काम गरे पनि त्यहीँबाट पानी निस्कने अवस्थाले निर्माण व्यवसायी तथा इन्जिनियरहरूलाई थप चुनौती थपेको छ ।

भित्ताबाट निरन्तर पानी रसाउँदा नयाँ सडकको स्थायित्व, नाला व्यवस्थापन तथा सडकको सतह संरक्षणमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको प्राविधिकहरू बताउँछन् । पानीको निकास व्यवस्थित गर्न नाला निर्माणसँगै पहिरो क्षेत्रमा आवश्यक निगरानी र उपकरण तयारी अवस्थामा राख्ने कामसमेत भइरहेको छ ।

सडक सञ्चालनमा आए पनि कृष्णभीरको जोखिम भने तत्काल समाप्त भएको छैन । भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरिएकाले सवारीसाधन सञ्चालनसँगै सडकको अवस्थालाई निरन्तर निगरानी गर्नुपर्ने देखिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार पहिरो प्रभावित क्षेत्रमा निरन्तर डोजर तथा प्राविधिक जनशक्ति परिचालन गरिनेछ । सडकमा कुनै समस्या देखिए तत्काल मर्मत तथा आवश्यक व्यवस्थापन गर्न सकिने गरी तयारी राखिने उहाँले बताउनुभएको छ ।

कृष्णभीर पृथ्वी राजमार्गको महत्वपूर्ण र जोखिमयुक्त खण्डका रूपमा लामो समयदेखि परिचित छ । काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा तराई क्षेत्रसँग जोड्ने प्रमुख मार्ग भएकाले यहाँ हुने अवरोधले हजारौँ यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुने गरेका छन् । यही कारण कृष्णभीरमा सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा पर्ने गर्दछ ।

कृष्णभीरको इतिहास पनि पहिरो र त्यसलाई नियन्त्रण गर्ने प्रयाससँग जोडिएको छ । करिब २६ वर्षअघि कृष्णभीरमा ठूलो पहिरो गएको थियो । त्यसबेला लामो समयसम्म उच्च प्राविधिक सीप, अनुभव, ठूलो जनशक्ति र निरन्तर प्रयास परिचालन गरेर पहिरो नियन्त्रणमा लिइएको थियो । त्यसयता पनि कृष्णभीरलाई सडक सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रका रूपमा हेर्ने गरिएको छ ।

यसपटक त्रिशूली नदीको कटानसँगै सडकको ठूलो भाग भासिएपछि पुरानो सडक संरचनामै भर पर्नुभन्दा वैकल्पिक ट्रयाक निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको हो । तत्कालका लागि सडक खुले पनि दीर्घकालीन रूपमा कृष्णभीरको स्थायित्वका लागि थप प्राविधिक अध्ययन, नदी कटान नियन्त्रण तथा पहिरो व्यवस्थापन आवश्यक देखिएको छ ।

नयाँ ट्रयाकबाट सवारी सञ्चालन सुरु भएसँगै लामो समयदेखि रोकिएका तथा वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका यात्रु र चालकलाई राहत मिलेको छ । तर सडकको नयाँ संरचना पूर्ण रूपमा स्थिर नहुन्जेल सावधानीपूर्वक सवारी सञ्चालन गर्नुपर्ने अवस्था छ ।

आयोजनाले पहिरो क्षेत्रमा आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालनमा राख्ने जनाएको छ । विशेषगरी वर्षा, भित्ताबाट आउने पानी र त्रिशूली नदीको कटानका कारण सडकमा पुनः क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नियमित अनुगमन आवश्यक हुने देखिएको छ ।

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण गरी सडक सञ्चालनमा ल्याउनु तत्कालको अवरोध हटाउने महत्वपूर्ण काम भए पनि यसले दीर्घकालीन समाधानको आवश्यकता भने थप स्पष्ट पारेको छ । देशकै महत्वपूर्ण राजमार्गमा पर्ने कृष्णभीरलाई सुरक्षित र स्थायी बनाउन नदी कटान नियन्त्रण, पहिरो व्यवस्थापन, पानीको निकास तथा सडक संरचनाको दीर्घकालीन संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४