Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०८३
  • 893
    SHARES

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, जलवायुजन्य विपद्, पर्यटन तथा लगानीका विषयमा छलफल भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो समय नेपालमा देखिएको जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसबाट हुने क्षति कम गर्न अन्तर्राष्ट्रिय सहकार्य र सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री शाहले नेपालको पर्यटन क्षेत्रमा रहेको सम्भावनाबारे पनि चर्चा गर्नुभयो। पर्यटनको विकासबाट नेपाल र अमेरिकाबीच पारस्परिक लाभ लिन सकिने उल्लेख गर्दै उहाँले नेपालमा अमेरिकी लगानी बढाउन प्रोत्साहन गर्न कार्यवाहक राजदूत बोल्डिनसँग आग्रह गर्नुभयो।

भोटेकोशी बाढीपछि उत्पन्न कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई दिएको सहयोग र देखाएको ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गर्नुभयो। बाढीका कारण नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै उहाँले प्रभावित सबैप्रति दुःख व्यक्त गर्नुभयो।

यसअघि पनि कार्यवाहक राजदूत बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई राहत, पुनःस्थापना र पुनर्निर्माणका काममा सहयोग गर्न अमेरिकी सरकार तयार रहेको बताउनुभएको थियो।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो।

बोल्डिनले बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारी दिनुभयो।

यस भेटवार्तालाई पछिल्लो विपद्पछि नेपाललाई प्राप्त भइरहेको अन्तर्राष्ट्रिय सहयोग तथा नेपाल–अमेरिका सम्बन्धका विभिन्न पक्षमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ। अमेरिकाले यसअघि भोटेकोशी बाढीपछि मानवीय सहायता तथा विपद् प्रतिकार्यमा सहयोग परिचालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४