काठमाडौं । नेपाली कांग्रेसले विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन्।
आङ्देम्बेले विपद् आएको १७–१८ दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाइएको संसदीय उच्चस्तरीय समिति गठनको विषय अझै कार्यान्वयनमा आउन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको जानकारी दिए।
उनका अनुसार विपद्बाट प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका काममा संसदीय निगरानी आवश्यक छ। राहत व्यवस्थापनदेखि प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने कामसम्म जिम्मेवार र पारदर्शी ढङ्गले अघि बढाउन उच्चस्तरीय समिति आवश्यक रहेको उनको भनाइ छ।
आङ्देम्बेले भने, ‘अहिलेसम्म गठन हुन सकेको छैन । चाँडोभन्दा चाँडो संसदीय उच्चस्तरीय समिति गठन गरेर अहिलेको राहत व्यवस्थापनदेखि पुनःस्थापनासम्मका विषयलाई प्रभावकारी रूपमा हेर्न आवश्यक छ।’
उनले विपद्बाट प्रभावित बालबालिका, सुत्केरी महिला तथा अन्य पीडितको अवस्थाबारे अनुगमन गर्नुपर्ने बताए। त्यसैगरी प्रभावित नागरिकका लागि प्राप्त राहत तथा सहयोगको उचित सदुपयोग भए–नभएको विषयमा समेत समितिले निगरानी गर्नुपर्ने उनको भनाइ छ।
विपद्बाट घरबारविहीन भएका नागरिकलाई सुरक्षित स्थानमा नयाँ बस्ती निर्माण गरी पुनःस्थापना गर्ने विषयमा समेत स्पष्ट योजना र जिम्मेवारीका साथ काम गर्नुपर्ने कांग्रेसको धारणा छ।
आङ्देम्बेले संसदीय उच्चस्तरीय समिति गठनको मागलाई सरकारविरोधी कदमका रूपमा नबुझ्न आग्रह गरेका छन्। उनले समितिको उद्देश्य सरकारलाई कमजोर बनाउनु नभई सरकारका कामलाई थप व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउनु रहेको स्पष्ट पारे।
उनले भने, ‘सरकारले संसदीय उच्चस्तरीय समिति गठन गर्नु भनेको सरकारको विरुद्धमा बोल्नु वा सरकारविरुद्ध समिति गठन गर्नु होइन । यो सरकारकै कामलाई थप व्यवस्थित र सरकारलाई थप जिम्मेवार बनाउनका लागि हो।’
राज्यका सबै निकाय तथा राजनीतिक दलबीच समन्वय गरी विपद् प्रभावित क्षेत्रमा राज्यको उपस्थिति बलियो बनाउन पनि संसदीय निगरानी आवश्यक रहेको आङ्देम्बेले बताए।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग
यसैबीच, आङ्देम्बेले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन्।
संसद्को नियमावली तथा कार्यतालिकाअनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम संसद् र कार्यकारीबीच प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण माध्यम भएकाले यसलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष रूपमा समसामयिक विषय, सरकारका नीति तथा निर्णय र जनसरोकारका विषयमा प्रश्न गर्न पाउने भएकाले उक्त कार्यक्रम संसद्को प्रभावकारिताका लागि महत्वपूर्ण रहेको कांग्रेसको धारणा छ।
सभामुख डोलप्रसाद अर्याल यस विषयमा सकारात्मक रहेको र प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चाँडै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी आफूले पाएको आङ्देम्बेले बताए।
कांग्रेस महाधिवेशनको कार्यतालिकाबारे पनि जानकारी
भेटका क्रममा आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाबारे समेत सभामुखलाई जानकारी गराएका थिए।
उनका अनुसार कांग्रेसको वडा अधिवेशन ३ र ४ गते, प्रदेश तथा क्षेत्रीय अधिवेशन १० गते र केन्द्रीय महाधिवेशन १६ देखि १९ गतेसम्म हुने तय भएको छ।
सभामुखसँगको भेटमा विपद् व्यवस्थापन, संसदीय निगरानी, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तथा कांग्रेसको आगामी महाधिवेशनलगायत विषयमा छलफल भएको आङ्देम्बेले जानकारी दिएका छन्।