काठमाडौं । देशका २० जिल्लामा सोमबार आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै विभिन्न साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको हो।
महाशाखाका अनुसार सोमबार संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालीकोट, हुम्ला, बझाङ र बाजुरा तथा आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।
उक्त जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। विशेषगरी लगातार वा छोटो अवधिमा ठूलो वर्षा भएमा साना नदी, खोला तथा खोल्सामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक देखिएको छ।
महाशाखाले देशका केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ। नदी आसपासका बस्ती, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचना निरन्तर हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाका कारण सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र नदी तथा खोलानजिक नजान सावधानी अपनाउनुपर्ने देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदीको जलस्तर र वर्षाको अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकाय तथा स्थानीयवासीलाई सतर्क र तयारी अवस्थामा रहन आग्रह गरिएको छ।