काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
महाकवि देवकोटाको योगदान र व्यक्तित्वको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक औपचारिक रूपमा स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। उहाँका अनुसार आज दिउँसो काठमाडौँको मैतीदेवीस्थित महाकवि देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा : मिथ र यथार्थ’ विषयमा विशेष गोष्ठी आयोजना गरिँदैछ।
गोष्ठीमा महाकवि देवकोटाका छोरा पद्म देवकोटाले स्मृतिपत्र तथा महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा देवकोटाको साहित्यिक योगदान, व्यक्तित्व, सिर्जनशीलता र नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसीका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। लक्ष्मीपूजाका दिन जन्मिएका कारण उहाँको नाम लक्ष्मीप्रसाद राखिएको थियो। उहाँको निधन विसं २०१६ भदौ २९ गते भएको थियो।
सानै उमेरदेखि साहित्य सिर्जनामा रुचि राख्नुभएका देवकोटाले करिब १० वर्षको उमेरदेखि कविता लेख्न सुरु गर्नुभएको थियो। छोटो समयमै नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउनुभएका उहाँले महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना तथा फुटकर कवितालगायत विभिन्न विधामा महत्वपूर्ण कृति सिर्जना गर्नुभएको छ।
देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको मानिन्छ। उहाँका रचनामा मानवतावाद, प्रकृतिप्रेम, सामाजिक चेतना, विद्रोह र क्रान्तिको भावना पाइन्छ। पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यिक प्रभावलाई आफ्नै सिर्जनात्मक शैलीमा प्रस्तुत गर्नु उहाँको अर्को विशेषता मानिन्छ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको विकासमा महाकवि देवकोटाको महत्वपूर्ण योगदान रहेको छ। उहाँको चर्चित खण्डकाव्य ‘मुनामदन’ नेपाली साहित्यकै लोकप्रिय कृतिमध्ये एक हो। नेपाली भाषामा प्रकाशित सर्वाधिक बिक्री हुने पुस्तकका रूपमा समेत ‘मुनामदन’लाई लिइन्छ।
देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादी तथा प्रगतिवादी धाराका प्रमुख प्रवर्तकमध्ये एक हुनुहुन्थ्यो। उहाँका रचनामा समाजका विभिन्न पक्ष, मानवीय संवेदना, प्रकृति, प्रेम, दुःख, संघर्ष र परिवर्तनको चाहना स्पष्ट रूपमा देखिन्छ।
महाकवि देवकोटाको प्रतिभाको चर्चा नेपालमा मात्र नभई भारत तथा अन्य देशमा समेत भएको पाइन्छ। भारतका प्रसिद्ध विद्वान् राहुल साङ्कृत्यायनले देवकोटाको साहित्यिक प्रतिभालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त प्रतिभासँग तुलना गरेको मानिन्छ।
त्यस्तै, नाट्यसम्राट बालकृष्ण समले देवकोटाले ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितामार्फत तीनपटक जन्म लिएको जस्तो प्रभाव छाडेको बताउनुभएको थियो। यसबाट देवकोटाको साहित्यिक प्रतिभा र सिर्जनाको विशिष्टता झल्किन्छ।
देवकोटाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्नुभयो। विदेशी भाषामा नेपाली साहित्यका कृति अनुवाद गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली साहित्यको प्रचारप्रसारमा योगदान दिनुभएको थियो।
उहाँले अङ्ग्रेजी साहित्यका विभिन्न गद्य लेखकका निबन्ध चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ समेत प्रकाशित गर्नुभएको थियो। पाश्चात्य साहित्य तथा ग्रीसेली स्रोतबाट प्रभावित भएर नेपाली भाषामा विभिन्न कृति सिर्जना गर्नुभएको थियो। ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’ तथा ‘प्रमिथस’जस्ता कृतिमा त्यसको प्रभाव देखिन्छ।
देवकोटा साहित्यकार मात्र नभई राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो। विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री भएका बेला उहाँले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा समेत उहाँको सक्रिय योगदान रहेको मानिन्छ।
महाकवि देवकोटाको सिर्जनशीलता असाधारण थियो। उहाँले तीन महिनामै ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएको साहित्यिक इतिहासमा उल्लेख छ। यसले उहाँमा रहेको असाधारण कल्पनाशक्ति, भाषिक क्षमता र तत्काल कविता सिर्जना गर्न सक्ने प्रतिभालाई देखाउँछ।
चरम आर्थिक अभाव, पारिवारिक दुःख तथा राजनीतिक गतिविधिका बीच पनि देवकोटाले नेपाली साहित्यलाई उच्चस्तरका सिर्जना प्रदान गर्नुभएको थियो। कठिन परिस्थितिका बाबजुद उहाँको साहित्यिक यात्रा निरन्तर अघि बढेको थियो।
देवकोटाले आफ्नो चर्चित ‘पागल’ कवितालाई आफैँ अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको थियो। उहाँले पाश्चात्य साहित्यका विभिन्न स्रोतलाई नेपाली परिवेश र भाषामा रूपान्तरण गर्दै नेपाली साहित्यको दायरा फराकिलो बनाउनुभएको थियो।
नेपाली साहित्यको आधुनिक विकासमा महाकवि देवकोटाको योगदान आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। उहाँका सिर्जना, विचार र साहित्यिक योगदान नयाँ पुस्ताका लागि समेत प्रेरणाको स्रोत बनेका छन्।
यसै कारण महाकवि देवकोटाको स्मृति दिवस केवल एक साहित्यकारको सम्झना गर्ने दिन मात्र नभई नेपाली भाषा, साहित्य, संस्कृति र सिर्जनात्मक परम्प्रतिको योगदानलाई स्मरण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।