Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हरितालिकामा पशुपतिनाथमा बिहानैदेखि महिला व्रतालुको भीड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २९ २०८३
  • 836
    SHARES

काठमाडौँ । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि ठूलो भीड लागेको छ। व्रत बसेका महिलाको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनलाई व्यवस्थित र सहज रूपमा दर्शन गराउन कोषले चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरेको छ। विभिन्न क्षेत्रबाट आउने भक्तजनलाई छुट्टाछुट्टै मार्गबाट मन्दिर प्रवेश गराई दर्शनपछि सहज रूपमा बाहिर निस्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो।

मित्रपार्कतर्फबाट आउने भक्तजनका लागि मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिर प्रवेश गराउने व्यवस्था गरिएको छ। त्यहाँबाट उत्तरतर्फको र्‍याम्प हुँदै पशुपतिनाथको दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था छ।

त्यस्तै, जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै मन्दिर परिसर प्रवेश गर्ने मार्ग बनाइएको छ। आकासे पुल तथा विभिन्न प्रवेशद्वार प्रयोग गरी भक्तजनलाई पशुपतिनाथको दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ।

सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टर नजिकको ढोका, राममन्दिर र वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। पूर्वतर्फको र्‍याम्पबाट पशुपतिनाथको दर्शन गराई सोही ढोकाबाट फर्कने व्यवस्था गरिएको कोषले जनाएको छ।

पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि पनि छुट्टै दर्शन मार्गको व्यवस्था गरिएको छ। पिङ्गलास्थानको ढोकाबाट प्रवेश गरी चार शिवालय, पञ्चदेवल वृद्धाश्रम हुँदै अस्थायी आकासे पुलमार्फत मन्दिर परिसर प्रवेश गराइनेछ। चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै पशुपतिनाथको दक्षिण मुहारको दर्शन गराएपछि उन्मत्त भैरव मन्दिरतर्फबाट भक्तजनलाई बाहिर निकाल्ने व्यवस्था गरिएको छ।

बिहानको समयमा भक्तजनले लाममा बसेको करिब आधा घण्टामै पशुपतिनाथको दर्शन गर्न सक्ने अवस्था रहेको कोषले जनाएको छ। भदौरे झरीका बीच पनि महिला व्रतालु तथा अन्य भक्तजन उत्साहका साथ लाममा बसेर भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन्।

तीज पर्वलाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। कोषका अनुसार भक्तजनको सुरक्षा, भीड व्यवस्थापन तथा अन्य व्यवस्थापनका लागि करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै, २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक पनि विभिन्न स्थानमा खटिएका छन्।

दर्शन गर्न आउने भक्तजनका लागि चन्दन वितरणको समेत व्यवस्था गरिएको छ। सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशाला क्षेत्रमा चन्दन वितरणको व्यवस्था गरिएको कोषले जनाएको छ।

हरितालिका पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा मात्र नभई देशभरका विभिन्न शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, त्रिपुरेश्वर तथा वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव मन्दिरमा समेत पूजा तथा दर्शनका लागि भक्तजनको लाम लागेको जनाइएको छ।

हरितालिका तीजका दिन महिला व्रतालुहरू भगवान् शिवको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्ने धार्मिक परम्परा रहेको छ। यसै अवसरमा देशभरका शिवालयहरूमा विशेष पूजा तथा दर्शन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४