Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छः आईजीपी कार्की


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २८ २०८३
  • 893
    SHARES

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री, वैज्ञानिक र व्यवस्थित बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन्।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै आईजीपी कार्कीले सडकमा ट्राफिक प्रहरी जोखिम मोलेर सवारीसाधनको बीचमा उभिएर हात हल्लाउँदै यातायात व्यवस्थापन गर्नुपर्ने परम्परागत अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले ट्राफिक व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए। प्रविधिको प्रभावकारी प्रयोगबाट सडकमा हुने सवारी चाप, ट्राफिक नियम उल्लङ्घन तथा अन्य गतिविधिको निगरानी र व्यवस्थापन थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।

कार्कीले काठमाडौंमा एआई–सक्षम सीसीटीभी जडानसँगै व्यवस्थित बस स्टप, बसपार्क, पार्किङ स्टेसन र वैज्ञानिक पार्किङ प्रणाली विकास गर्नुपर्ने बताए।

उनले भने, ‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ । एआई–इनेबल्ड सीसीटीभी, व्यवस्थित बस स्टप, बस पार्क, पार्किङ स्टेसन तथा वैज्ञानिक पार्किङ व्यवस्थापनमा जोड दिन आवश्यक छ।’

महानगरसँग सहकार्यमा फुटपाथ र पार्किङ व्यवस्थापन

आईजीपी कार्कीले काठमाडौं महानगरपालिकासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन र आपत्कालीन उद्धार प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए।

बढ्दो जनसंख्या, तीव्र सहरीकरण तथा सवारीसाधनको चापका कारण राजधानीमा सार्वजनिक स्थान व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ। यस्तो अवस्थामा महानगरपालिका र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।

कार्कीले फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापन जस्ता विषयमा समेत स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य आवश्यक रहेको बताए।

उनका अनुसार राजधानीमा सहरी व्यवस्थापनका चुनौती एकअर्कासँग जोडिएका छन्। सडक तथा फुटपाथको व्यवस्थापनदेखि पार्किङ, सार्वजनिक यातायात, फोहोरमैला र विपद् उद्धारसम्मका विषयमा सम्बन्धित निकायबीच समन्वय हुन सके मात्र नागरिकले सुरक्षित र व्यवस्थित सहरको अनुभूति गर्न सक्नेछन्।

उत्पादनदेखि अन्तिम व्यवस्थापनस्थलसम्म फोहोर चुनौती

आईजीपी कार्कीले काठमाडौंको फोहोरमैला व्यवस्थापनमा उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन र प्रभावकारी समाधान खोज्नुपर्ने बताए।

फोहोर व्यवस्थापन केवल फोहोर उठाउने विषय मात्र नभई यसको उत्पादन, संकलन, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापनसम्मको समग्र प्रणालीसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

७५३ वटै स्थानीय तहसँग समन्वय गर्ने तयारी

नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले देशभरका ७५३ वटै स्थानीय तहलाई नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताए।

उनका अनुसार स्थानीय तहले आफ्नो आवश्यकता र क्षमताअनुसार नेपाल प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्छन्। प्रहरी कार्यालयका लागि जग्गा तथा भवन उपलब्ध गराउनेदेखि कार्यालय निर्माण तथा मर्मतसम्भारमा सहयोग गर्न सकिने उनले बताए।

त्यसैगरी स्थानीय तहले सवारीसाधन, विपद् उद्धार सामग्री तथा सीसीटीभी जडान र विस्तारमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘स्थानीय तहहरूले नेपाल प्रहरीलाई आवश्यकताअनुसार जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण र मर्मतमा सहयोग गर्ने, सवारी साधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने, सीसीटीभी जडान तथा विस्तार गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेजस्ता कामले सुरक्षा सेवालाई थप प्रभावकारी बनाउँछ।’

यस्तो सहकार्यबाट नेपाल प्रहरी, महानगर प्रहरी र आम नागरिकबीचको समन्वय अझ सुदृढ हुने कार्कीको विश्वास छ।

सफा र अवरोधरहित फुटपाथ नागरिकको अधिकार

कार्कीले काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थान तथा फुटपाथ व्यवस्थापनका क्षेत्रमा गरिरहेका कामको प्रशंसा पनि गरे।

उनले महानगरपालिकाको प्रयासका कारण विगतको तुलनामा सडक तथा सार्वजनिक स्थानमा फोहोरको अवस्था सुधार भएको उल्लेख गर्दै नागरिकले सफा सडकमा हिँड्न पाउने तथा फुटपाथ अवरोधरहित रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताए।

‘अहिले पहिलेको जस्तो असरल्ल फोहोरको थुप्रो देख्न नपर्ने र सफा सडकमा हिँड्न पाउने अवस्था बनेको छ । स्वच्छ र अवरोधरहित सार्वजनिक स्थानमा हिँड्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो,’ उनले भने।

राजधानीको व्यवस्थापनले समग्र सहरी व्यवस्थापनको स्तर देखाउँछ

राजधानी काठमाडौंको सहरी व्यवस्थापनमा महानगरपालिकाले गर्ने कार्यसम्पादनले देशकै समग्र सहरी व्यवस्थापनको स्तरलाई समेत प्रतिबिम्बित गर्ने कार्कीको भनाइ छ।

काठमाडौंमा ठूलो जनसंख्या, अत्यधिक सवारी चाप तथा सीमित सडक पूर्वाधारका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेकाले दीर्घकालीन योजना र आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उनले बताए।

उनले आगामी दिनमा महानगरपालिका र सुरक्षा निकायबीच थप योजना, प्रविधि र समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

विशेषगरी ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन दुवै निकायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने उनले बताए।

आईजीपी कार्कीको भनाइमा काठमाडौंको ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउन एआई–सक्षम सीसीटीभी, व्यवस्थित पार्किङ, सार्वजनिक यातायातका पूर्वाधार तथा प्रभावकारी आपत्कालीन उद्धार प्रणालीलाई एकीकृत रूपमा अघि बढाउन सके राजधानीको सहरी व्यवस्थापन थप सुरक्षित, व्यवस्थित र नागरिकमैत्री बनाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४