रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोला नजिकै आइतबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ। दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रहरीका अनुसार दुवै जनाको दुर्घटनास्थलमै मृत्यु भएको हो। बिहान सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटनामा परेको थियो।
तीव्र गतिमा गुडिरहेको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार सुरु गरेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई तत्काल नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार थप दुई जना घाइतेलाई उद्धार गरी उपचारका लागि लैजान हेलिकप्टर आउने क्रममा रहेको छ।
अन्य घाइतेहरूको उपचार सानीभेरी गाउँपालिका अस्पताल, सिम्लीमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको बताइएको छ।
यसअघि प्रारम्भिक सोधपुछका क्रममा जिपमा चालकसहित ११ जना सवार रहेको सूचना प्राप्त भएको थियो। तर अनुसन्धान अघि बढाउँदै सम्बन्धित व्यक्ति तथा निकायसँग थप सोधपुछ गर्दा जिपमा चालकसहित १३ जना सवार रहेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा जिपमा सवार सबै व्यक्तिको पहिचान भने अझै पूर्णरूपमा खुलेको छैन। दुर्घटनामा घाइते तथा सकुशल रहेका यात्रुहरूको विवरण संकलन गर्ने काम भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे समेत अनुसन्धान थालेको छ। जिप सडकबाट कसरी अनियन्त्रित भयो, चालकको अवस्था, सडकको अवस्था तथा अन्य सम्भावित कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्गम पहाडी सडकमा हुने यस्ता दुर्घटनामा उद्धार तथा उपचारका लागि समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन चुनौती हुने गरेको छ। यस घटनामा पनि गम्भीर घाइतेलाई तत्काल हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण बनेको छ। घटनाबारे थप विवरण संकलन गर्ने तथा घाइतेहरूको अवस्था र जिपमा सवार अन्य यात्रुको पहिचान खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।