स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ तारुखोलामा किसानले खाद्यान्न बाली लगाउँदै आएको जमिनलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्दै अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन्। धान, मकै लगायतका परम्परागत खाद्यान्न बालीबाट अपेक्षाकृत कम आम्दानी हुने र बाँदरबाट समेत क्षति हुने समस्या देखिएपछि किसानले अकबरे खुर्सानी खेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन्।
तारुखोलामा हाल करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ। वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत उक्त खेती व्यावसायिक रूपमा सञ्चालन गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताउनुभयो।
पाठकका अनुसार धान र मकैजस्ता खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने सम्भावना देखिएपछि खेती विस्तार गरिएको हो। साथै, अन्य कतिपय बालीमा बाँदरको समस्या रहे पनि खुर्सानी खेतीमा त्यस्तो क्षति कम हुने भएकाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहज भएको उहाँको भनाइ छ।
“गत फागुनमा लगाएको अकबरे खुर्सानीले अहिले उत्पादन दिन थालेको छ,” सञ्चालक पाठकले भन्नुभयो, “उत्पादन भएको जति सबै बजार पठाउने गरेका छौँ। मागअनुसार बजारमा पु¥याउन भने सकिरहेका छैनौँ।”
हाल फार्ममा दुई–तीन दिनको अन्तरालमा करिब ३०० किलो पाकेको अकबरे खुर्सानी टिपेर बिक्री गर्ने गरिएको छ। फार्ममा उत्पादन भएको खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलस्थित तरकारी मण्डी तथा स्थानीय बजारमा बिक्री हुने गरेको सञ्चालक पाठकले जानकारी दिनुभयो।
उत्पादित खुर्सानीले बजारमा राम्रो मूल्यसमेत पाएको छ। हाल अकबरे खुर्सानी प्रतिलिटर रु २२० का दरले बिक्री भइरहेको सञ्चालक पाठकले बताउनुभयो। उहाँका अनुसार उत्पादन बढ्दै गए पनि बजारको अभाव भने छैन।
“खुर्सानी प्रतिकिलो रु २२० का दरले बिक्री भइरहेको छ,” उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको खुर्सानीले राम्रो बजार पाएको छ। बजारको समस्या छैन, उत्पादन निरन्तर भइरहेको छ।”
व्यावसायिक रूपमा पहिलो पटक अकबरे खुर्सानी उत्पादन सुरु गरिएकाले यसको सम्भावना राम्रो देखिएपछि आगामी दिनमा खेतीको क्षेत्रफल अझै विस्तार गर्ने तयारी फार्मले गरेको छ। स्थानीयस्तरमै उत्पादन गरेर बजारसम्म पु¥याउन सकिने भएकाले किसानका लागि अकबरे खुर्सानी आम्दानीको राम्रो स्रोत बन्न सक्ने देखिएको छ।
खुर्सानी खेतीलाई व्यवस्थित बनाउन वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर) ले समेत सहयोग गरेको छ। परियोजनामार्फत फार्मलाई कृषि प्राविधिक सहयोगका साथै मल्चिङ प्लास्टिक, मल तथा खुर्सानी सुकाउने मेसिन उपलब्ध गराइएको छ।
प्राविधिक सहयोग र आवश्यक कृषि सामग्री उपलब्ध भएपछि खेती गर्न थप सहज भएको फार्म सञ्चालक पाठकले बताउनुभयो। खेतमा अहिले पनि खुर्सानी पाक्ने र टिप्ने क्रम निरन्तर चलिरहेको छ। कामदार परिचालन गरेर पाकेको खुर्सानी टिप्ने र बजार पठाउने गरिएको छ।
“खेतमा खुर्सानी पाक्ने र टिप्ने क्रम जारी छ। कामदार लगाएर खुर्सानी टिपिरहेका छौँ,” पाठकले भन्नुभयो, “गर्न सकेको खण्डमा आफ्नै गाउँठाउँमा खेर गएको जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने रहेछ।”
फार्मले हालसम्म करिब रु सात लाख बराबरको खुर्सानी बिक्री गरिसकेको जनाएको छ। उत्पादन सुरु भएको छोटो अवधिमै उल्लेख्य रकमको खुर्सानी बिक्री हुनुले व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढाउन सहयोग पुग्ने देखिएको छ।
अकबरे खुर्सानीसँगै केदारनाथ कृषि फार्ममा माछापालन र कागती खेती समेत सञ्चालन गरिएको छ। विभिन्न कृषि उत्पादनलाई एकीकृत रूपमा अघि बढाउँदै फार्मले स्थानीय स्रोत, साधन र जमिनको अधिकतम उपयोग गर्ने प्रयास गरेको छ।
फार्ममा उत्पादन भएका खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु बजारसम्म पु¥याउन फार्मकै सवारीसाधन प्रयोग गर्ने गरिएको छ। कृषक तथा व्यापारीको मागअनुसार उत्पादनलाई उनीहरूकै स्थानसम्म ढुवानी गरिदिँदा व्यापारी र उपभोक्ता दुवैलाई सहज भएको फार्म सञ्चालकको भनाइ छ।
परम्परागत रूपमा खाद्यान्न बाली लगाउँदै आएको जमिनमा व्यावसायिक तरकारी खेती विस्तार हुन थालेसँगै स्थानीय किसानका लागि कृषि क्षेत्रबाटै आम्दानी बढाउने सम्भावना देखिएको छ। अकबरे खुर्सानीले राम्रो मूल्य र बजार पाएमा आगामी दिनमा थप क्षेत्रफलमा खेती विस्तार गरी स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ।