काठमाडौँ । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित नेवार समुदायले मनाउँदै आएको एकमहिने गुँला पर्व आज सम्पन्न हुँदैछ ।
नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा रहेको गुँला पर्वमा महिनाभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने परम्परा छ । पर्वको अवसरमा मौलिक बाजागाजा बजाउने, भजन गाउने, चैत्य तथा मन्दिरको परिक्रमा गर्ने र धार्मिक अनुष्ठान गर्ने गरिन्छ ।
गुँला पर्वको अन्तिम दिन विधिपूर्वक विशेष पूजाआराधना गरी एकमहिने व्रत तथा धार्मिक गतिविधिको समापन गर्ने परम्परा रहेको छ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज अर्थात् ‘पारु भ्वय्’ खाने चलनसमेत रहेको छ ।
विशेषगरी काठमाडौँ उपत्यकाका बौद्ध नेवार समुदायले गुँला पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । पर्वका क्रममा महिलाहरू हाकुपटासी पहिरनमा मौलिक बाजागाजासहित बौद्ध चैत्य, इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत विभिन्न देवीदेवताका मन्दिरको परिक्रमा तथा दर्शन गर्ने परम्परा छ ।
गुँला पर्वमा विभिन्न प्रकारका परम्परागत बाजा बजाउने गरिन्छ । यस क्रममा पास्त, धां, धोलक, पछिमा, धिमेचा, नगरा, नायखि, कोंचा खिं र डवडवचालगायतका बाजा बजाइन्छन् । त्यसैगरी भुस्या, मुहाली, सिछ्या, बौचा, टिं, धुलु, चतिचा र पोङ्गाललगायत सहायक बाजाको समेत प्रयोग गरिन्छ ।
गुँला पर्वकै अवसरमा बजाइने भएकाले यी मौलिक वाद्ययन्त्रलाई सामूहिक रूपमा ‘गुँला बाजा’ भन्ने गरिन्छ । पर्वका क्रममा बजाइने बाजा र दाफा भजनले नेवार समुदायको धार्मिक आस्था तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
काभ्रेको बनेपामा पनि गुँला पर्व विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ मनाइएको छ । बनेपाको वाँख्यो दाफा भजन खलले गुँला अवधिभर दाफा भजनसँगै धा, ताः, बाँसुरीलगायतका परम्परागत बाजाको धुन प्रस्तुत गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
वाँख्यो दाफा भजन खलका अध्यक्ष रमेश काजी मानन्धरका अनुसार बनेपाका मानन्धर समुदायमा गुँला महिनाभर चोखोनिति पालना गर्दै विशेष प्रकारको व्रत बस्ने परम्परा रहेको छ । यस अवधिमा एक छाक मात्र भोजन गर्ने चलनसमेत रहेको उहाँले बताउनुभयो ।
गुँला धर्म धार्मिक आस्थामा मात्र सीमित नभई नेवार समुदायको मौलिक संगीत, बाजा, भजन, कला, संस्कृति र पुस्तौँदेखि चलिआएको परम्पराको संरक्षण गर्ने महत्वपूर्ण माध्यमसमेत बनेको छ ।
गुँला पर्वका माध्यमबाट लोपोन्मुख अवस्थामा रहेका मौलिक बाजा तथा दाफा भजन संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास हुँदै आएको अध्यक्ष मानन्धरले बताउनुभयो । पर्वका क्रममा नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने, दाफा भजन गाउने तथा चैत्य परिक्रमा गर्ने संस्कारमा सहभागी गराउने गरिएको छ ।
पछिल्लो समय आधुनिक संगीत र जीवनशैलीको प्रभाव बढ्दै जाँदा कतिपय मौलिक बाजा तथा परम्परागत संस्कृति ओझेलमा पर्ने जोखिम रहेको अवस्थामा गुँला पर्वले ती परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यस पर्वले नेवार समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्नुका साथै मौलिक बाजा, भजन र कला संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ । त्यसैले गुँला पर्वलाई धार्मिक आस्था, सांस्कृतिक पहिचान र मौलिक परम्पराको संरक्षणसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ ।