काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । बाढीबाट सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ४ वटा जलविद्युत आयोजना प्रभावित भएका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बाढीबाट प्रभावित आयोजनाहरूको कुल जडित क्षमता ६६९ मेगावाट रहेको छ । यसमध्ये सञ्चालनमा रहेका आयोजनाको जडित क्षमता २८१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट रहेको छ ।
बाढीबाट प्रभावित आयोजनामध्ये ११ वटा आयोजनामा कार्यरत ९०९ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ । विशेषगरी रसुवा जिल्लामा रहेका जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ । त्यहाँ आयोजना संरचनामा क्षति हुनुका साथै ठूलो मानवीय क्षतिसमेत भएको जनाइएको छ ।
रसुवामा रहेको २१६ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको छ । आयोजनाका प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए ।
बाढीपछि हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने ७ वटा शव फेला परेको विवरणमा उल्लेख छ । अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनमध्ये ९ जना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको इप्पानले जनाएको छ ।
त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना पनि बाढीबाट पूर्णरूपमा प्रभावित भएको छ । सञ्चालनमा रहेको उक्त आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । बाढीले आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएपछि उद्धार तथा खोजी कार्यलाई प्राथमिकता दिइएको छ ।
बाढीबाट प्रभावित अन्य आयोजनामा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी, १५.६ मेगावाटको मिडल त्रिशूली र नुवाकोटमा रहेको २५ मेगावाट क्षमताको गंगा जलविद्युत आयोजना रहेका छन् ।
त्यसैगरी १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे र ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजना पनि बाढीबाट प्रभावित भएका छन् ।
यस्तै, त्रिशूली जलविद्युत केन्द्र र १४.१ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्रमा समेत बाढीले असर पुर्याएको छ । त्रिशूली जलविद्युत केन्द्रमा कार्यरत तीन जना सम्पर्कविहीन रहेको र ७० जना सकुशल रहेको विवरणमा उल्लेख छ । देवीघाट जलविद्युत केन्द्रमा भने एक जना सुरक्षागार्ड सम्पर्कविहीन रहेको जनाइएको छ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका संरचना, पहुँचमार्ग तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ । आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ ।
बाढीबाट प्रभावित आयोजनाको क्षतिको पूर्ण विवरण अझै सङ्कलन भइरहेको जनाइएको छ । मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएपछि जलविद्युत क्षेत्रमा परेको समग्र असर थप स्पष्ट हुने बताइएको छ ।
जलविद्युत आयोजना प्रभावित हुँदा विद्युत उत्पादन तथा निर्माण कार्यमा समेत असर पर्न सक्ने देखिएको छ । विशेषगरी ठूलो क्षति भएका आयोजनाको पुनःनिर्माण तथा सञ्चालनमा ल्याउन समय र ठूलो लगानी आवश्यक पर्ने अवस्था देखिएको छ ।