काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६ सय ७० जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ।
बाढीका कारण चीनको केरुङ क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार, व्यवसाय, भ्रमण तथा पर्यटनलगायत विभिन्न कामका लागि केरुङ पुगेका नेपाली नागरिक भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि उतै रोकिएका थिए।
स्थलमार्गमा आएको अवरोधका कारण तत्काल नेपाल फर्किन नसकेका नेपाली नागरिकलाई चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलको प्रत्यक्ष सहजीकरण र समन्वयमा सुरक्षित रूपमा स्वदेश फर्काइएको हो।
सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएका सबै नेपाली नागरिकलाई सुरक्षित रूपमा काठमाडौं पठाइएको छ। बाढीपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि तातोपानी नाकाबाट नेपाल प्रवेश गराउन सुरु गरिएको थियो।
उद्धार कार्यअन्तर्गत भदौ १८ गते १ सय १४ जना, भदौ १९ गते १ सय ५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १ सय ५ जना, भदौ २२ गते १ सय ६ जना र भदौ २३ गते ९४ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्।
यसरी विभिन्न दिनमा गरी जम्मा ६ सय ७० जना नेपाली नागरिकलाई सुरक्षित रूपमा नेपाल ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।
तातोपानी अध्यागमन कार्यालयका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले आवश्यक विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याउने गरेको थियो। चिनियाँ पक्षले सम्बन्धित नेपाली नागरिकको राहदानी नम्बर लगायतका विवरणसमेत उपलब्ध गराएर नेपाली अधिकारीको जिम्मा लगाउने व्यवस्था मिलाएको थियो।
नेपाल प्रवेश गरेपछि नेपाली अधिकारीहरूले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सुरक्षित रूपमा काठमाडौं पठाउने व्यवस्था गरेका थिए। यस क्रममा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलले उद्धार, समन्वय तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालतर्फका विभिन्न सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि सीमावर्ती क्षेत्रमा आवागमन प्रभावित भएको थियो। त्यसको प्रत्यक्ष असर चीनको केरुङ पुगेका नेपाली नागरिकमा समेत परेको थियो।
व्यापार तथा व्यवसायका लागि केरुङ पुगेका नेपालीसँगै भ्रमण तथा पर्यटनका लागि चीन पुगेका नागरिकसमेत स्थलमार्ग अवरुद्ध भएपछि उतै रोकिएका थिए। लामो समयसम्म घर फर्किन नपाउँदा उनीहरू समस्यामा परेका थिए।
चिनियाँ पक्षको सहयोग तथा नेपाली सुरक्षा निकायको समन्वयमा उनीहरूलाई चरणबद्ध रूपमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो। तातोपानी नाका हुँदै नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्य सम्पन्न भएसँगै केरुङमा बाढीका कारण अलपत्र परेका नेपालीलाई सुरक्षित रूपमा उद्धार गर्ने प्रक्रिया पूरा भएको छ।
प्राकृतिक विपत्तिका कारण सीमा क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिमा नेपाल र चीनका सम्बन्धित निकायबीच भएको समन्वयले नेपाली नागरिकको सुरक्षित उद्धारमा सहयोग पुगेको छ। सशस्त्र प्रहरी बलले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियामा चिनियाँ पक्षको सहयोग र नेपाली अधिकारीहरूको समन्वय महत्वपूर्ण रहेको जनाएको छ।