काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो।
कार्यालयका अनुसार हाल विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको छ। विपद्का समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने उद्देश्यले कोषमा रकम जम्मा हुँदै आएको छ।
यसैबीच, कोषमा जम्मा भएको रकममध्ये एक अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा गरिएको हो।
रसुवामा बाढी तथा पहिरोजस्ता विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न उक्त रकम उपयोग गरिने जनाइएको छ।
त्यस्तै, कोषअन्तर्गत हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको अमेरिकी डलर खातामा समेत रुपैयाँमा हिसाब गर्दा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ बराबरको रकम जम्मा भएको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री राहत कोष तथा दैवी प्रकोप उद्धार कोषमा विभिन्न स्रोतबाट जम्मा भएको रकमलाई विपद् प्रभावित क्षेत्र र नागरिकको आवश्यकताअनुसार राहत तथा उद्धार कार्यमा परिचालन गरिँदै आएको छ।
विपद्का घटना बढ्दै जाँदा उद्धार, राहत, पुनःस्थापना तथा प्रभावित पूर्वाधारको पुनर्निर्माणका लागि ठूलो आर्थिक स्रोत आवश्यक पर्ने भएकाले कोषमा जम्मा भएको रकमको प्रभावकारी र पारदर्शी परिचालन महत्वपूर्ण मानिन्छ।
सरकारले कोषमा रहेको रकमलाई प्रभावित नागरिकको आवश्यकता र विपद्को अवस्थाअनुसार परिचालन गर्दै जाने जनाएको छ। रसुवाका बाढीपीडितका लागि एक अर्ब रुपैयाँ निकासा भइसकेसँगै आगामी दिनमा अन्य प्रभावित क्षेत्रका लागि समेत आवश्यकताका आधारमा राहत रकम परिचालन हुने अपेक्षा गरिएको छ।