काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा आफूहरूले सरकारबाट राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । आफूहरूलाई नेपाली जनताले दुई तिहाइ बहुमतसहित काम गर्ने जनादेश दिएको दाबी गर्दै उहाँले जनमत र इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने बताउनुभएको हो ।
मंगलबार ललितपुरमा आयोजित जेन–जी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूहरू जनताको विश्वासबाट सरकारमा पुगेकाले कुनै व्यक्ति वा समूहले राजीनामा माग्दैमा त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले वर्तमान सरकारको राजनीतिक वैधता जनताबाट प्राप्त मत र विश्वासमा आधारित रहेको दाबी गर्नुभयो । जनताले दिएको म्यान्डेटलाई सम्मान गर्दै सरकार अघि बढ्ने उल्लेख गर्दै उहाँले जनमतलाई राजनीतिक स्वार्थअनुसार फेरबदल गर्न नसकिने धारणा राख्नुभयो ।
गृहमन्त्री गुरुङले भन्नुभयो, ‘अघिनै मैले भनेको थिएँ, इतिहास हो । फेर्न सकिँदैन हजुर, इतिहास हो । नेपाली जनताले दुई तिहाई बहुमत दिएर जाऊ, काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन हजुर ।’
उहाँले आफूहरूको राजीनामा मागिएको प्रसंगमा समेत स्पष्ट धारणा राख्दै भन्नुभयो, ‘राजीनामा पनि दिन सकिँदैन । हामीलाई किनभने उहाँहरूले जिताएको होइन, नेपाली जनताले जिताएको हो हामीलाई ।’
गृहमन्त्रीको भनाइले सरकारमाथि उठिरहेका राजनीतिक प्रश्न र राजीनामाको मागप्रति उहाँको कडा असहमति देखिएको छ । उहाँले सरकारको जिम्मेवारीबाट पछि हट्नुको सट्टा जनताले दिएको म्यान्डेटअनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘राजनीति गरेर शासन गर्न होइन, सेवा गर्न आएका हौँ’
गृहमन्त्री गुरुङले आफूहरू राजनीति गरेर शासन गर्ने उद्देश्यले सरकारमा नआएको दाबी गर्नुभयो । आफूहरू विशुद्ध रूपमा जनताको सेवा गर्ने उद्देश्यका साथ सरकारमा आएको उल्लेख गर्दै उहाँले राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई जनमुखी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सरकारमा रहेका व्यक्तिहरूको मुख्य उद्देश्य जनतामाथि शासन गर्नु नभई नागरिकको सुरक्षा, सेवा र अधिकार सुनिश्चित गर्नु रहेको बताउनुभयो । गृह प्रशासनलाई नागरिकको प्रत्यक्ष सेवामा केन्द्रित गर्ने उहाँको भनाइ थियो ।
‘हजुरको आशीर्वाद लिएर हामी तपाईंहरूको सेवामा आएका छौँ । तपाईंहरूलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौँ,’ उहाँले भन्नुभयो ।
गृहमन्त्री गुरुङले गृह मन्त्रालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक तथा सुरक्षा संयन्त्रलाई जनताको सेवामा पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
‘सम्पूर्ण गृह प्रशासन तपाईंहरूको सेवामा लाग्नेवाला छ भनेर म तपाईंहरूलाई प्रमिस पनि गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।
जनताको विश्वास कायम राख्ने दाबी
गृहमन्त्री गुरुङले सरकारप्रति जनताले गरेको विश्वासलाई कमजोर हुन नदिने दाबी गर्नुभयो । जनताले दिएको जिम्मेवारी पूरा गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा गृह प्रशासनलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने बताउनुभयो ।
उहाँले जनताको विश्वास र जनादेशलाई सम्मान गर्दै अघि बढ्ने बताउँदै सरकारको कामकारबाही जनताको हितमा केन्द्रित हुने दाबी गर्नुभयो ।
शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रममा गृहमन्त्री गुरुङले जेन–जी आन्दोलन, त्यसका शहीद तथा आन्दोलनबाट उठेका मुद्दाको सन्दर्भसमेत जोड्दै जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले सरकारको सफलता राजनीतिक भाषणमा नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सेवामा निर्भर हुने संकेत गर्दै गृह प्रशासनलाई जनताको सुरक्षा र सेवाका लागि थप सक्रिय बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो ।