वराहक्षेत्र । घरको काम सकेर उद्योगमा पुग्ने र दिनभर काम गरेर साँझ घर फर्किने दैनिकी बनेको छ वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेतको। गाउँमै उद्योग स्थापना भएपछि रोजगारीका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताउने बस्नेतले उद्योग स्थापना भएदेखि नै त्यहाँ काम गर्दै आएकी छन्।
“घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु । कामअनुसार पारिश्रमिक पाइन्छ,” उनी भन्छिन्, “प्लाइ उद्योग स्थापना भएदेखि नै यहाँ काम गर्दै आएकी छु।”
उद्योगमा उनी काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा तयार भएका सामग्री गाडीमा राख्ने र झार्नेलगायतका काम गर्छिन्। उद्योगबाट प्राप्त आम्दानीले परिवारको दैनिक आवश्यकता पूरा गर्न ठूलो सहयोग पुगेको उनको भनाइ छ।
“यहाँ आएर काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने तथा झार्ने काम गर्छु,” बस्नेतले भनिन्, “यहाँबाट कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको छ।”
गाउँमै उद्योग सञ्चालनमा आएपछि स्थानीय महिलाका लागि रोजगारीको अवसर सिर्जना भएको छ। नियमित आम्दानीको स्रोत बनेपछि परिवारको आर्थिक व्यवस्थापनमा समेत सहज भएको स्थानीय श्रमिक बताउँछन्।
६० भन्दा बढी स्थानीयलाई रोजगारी
जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा वराहक्षेत्र नगरपालिका–५, कालाबन्जरमा प्लाइउड उद्योग स्थापना गरिएको हो। भेनियर उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले २०८१ साल माघमा स्थापना भएको उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।
उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार उद्योग सञ्चालनमा आएपछि स्थानीय नागरिकका लागि रोजगारीको अवसर सिर्जना भएको छ।
उद्योगले कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर करिब १ करोड ५० लाख रुपैयाँ लगानीमा उत्पादन सञ्चालन गरिरहेको छ। हाल उद्योगमा वराहक्षेत्र क्षेत्रका ६० देखि ६५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
उद्योगमा कार्यरत श्रमिकमध्ये अधिकांश महिला छन्। स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि महिलाको संख्या बढी भएको व्यवस्थापन तथा लेखा प्रमुख रानामगरले बताए।
उनका अनुसार उद्योगले स्थानीय जनशक्तिलाई नै प्राथमिकता दिँदै रोजगारी उपलब्ध गराउने प्रयास गरिरहेको छ। गाउँमै रोजगारीको अवसर सिर्जना हुँदा स्थानीय श्रमिकलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न समेत सहयोग पुगेको छ।
दैनिक एक लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन
उद्योगले हाल दैनिक ८० हजारदेखि एक लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्दै आएको छ। उत्पादन बढ्दै गएसँगै उद्योगमा आवश्यक श्रमिक तथा प्राविधिक जनशक्तिको मागसमेत बढिरहेको व्यवस्थापन पक्षले जनाएको छ।
उद्योगमा कार्यरत श्रमिक रोशन चौधरीका लागि पनि गाउँमै खुलेको उद्योग रोजगारीको महत्वपूर्ण माध्यम बनेको छ।
“गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको छ,” चौधरी भन्छन्, “यहीँ बसेर काम गर्न पाउँदा परिवारसँगै बस्न पाइएको छ। यहीँबाट कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ।”
स्थानीयस्तरमै रोजगारी पाएपछि युवादेखि महिलासम्मलाई आफ्नो गाउँठाउँमै बसेर आम्दानी गर्ने अवसर प्राप्त भएको उनको भनाइ छ।
कामअनुसार प्रतिघण्टा पारिश्रमिक
उद्योगले श्रमिकलाई उनीहरूले गर्ने कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरेको छ। कामको प्रकृति र श्रमिकको जिम्मेवारीअनुसार पारिश्रमिक निर्धारण हुने व्यवस्थापन पक्षले जनाएको छ।
उद्योग सञ्चालनको सुरुवाती चरणमा दक्ष प्राविधिक जनशक्तिको अभाव हुँदा भारतबाट प्राविधिक ल्याएर मेसिन सञ्चालन गर्नुपरेको थियो। तर अहिले नेपाली श्रमिकले पनि मेसिन सञ्चालनलगायतका प्राविधिक काम सिक्दै गएपछि बाह्य जनशक्तिमाथिको निर्भरता क्रमशः कम हुँदै गएको रानामगरले बताए।
“अहिले नेपाली श्रमिकले पनि मेसिन सञ्चालनलगायतका काम सिक्दै गएकाले सहज भएको छ,” उनले भने, “हाम्रो चाहना यहीँका स्थानीयलाई रोजगार दिन सकौँ भन्ने हो।”
उद्योगले स्थानीय श्रमिकलाई काम सिकाउँदै दक्ष बनाउने प्रयास गरिरहेको छ। यसले तत्काल रोजगारी सिर्जना गर्नुका साथै भविष्यमा स्थानीयस्तरमै दक्ष प्राविधिक जनशक्ति तयार हुने अपेक्षा गरिएको छ।
पहाडी जिल्लाबाट काठ, देश–विदेशमा बजार
भेनियर उत्पादनका लागि उद्योगले मुख्य रूपमा उत्तिस, कटुस र केही चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ। आवश्यक काठमध्ये अधिकांश तेह्रथुमबाट ल्याउने गरिएको छ भने खोटाङ, भोजपुरलगायतका पहाडी जिल्लाबाट समेत काठ ल्याउने गरिएको रानामगरले जानकारी दिए।
पहाडी जिल्लाबाट ल्याइएका गोलिया काठलाई उद्योगमा विभिन्न प्रक्रियामार्फत प्रशोधन गरिन्छ। गोलिया काठलाई मेसिनको सहायताले पातलो तहमा काटेर भेनियर तयार गरिन्छ। तयार भएको भेनियरलाई विभिन्न स्थानमा रहेका प्लाइउड उद्योगमा बिक्री गर्ने गरिएको छ।
उद्योगबाट उत्पादित भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुर लगायतका क्षेत्रमा रहेका प्लाइउड उद्योगमा बिक्री हुँदै आएको छ।
स्थानीय बजारसँगै उद्योगले आफ्नो उत्पादन भारतसम्म पनि पठाउँदै आएको छ। भारतको उत्तर प्रदेश, राजस्थान र सिलिगुडीसम्म भेनियर पठाउने गरिएको व्यवस्थापन पक्षले जनाएको छ।
यसले उद्योगको बजार नेपालमा मात्र सीमित नरही सीमापारसम्म विस्तार भएको देखाएको छ। उत्पादनको माग र बजार विस्तार हुँदै गएमा उद्योगले उत्पादन क्षमता थप बढाउन सक्ने सम्भावना रहेको व्यवस्थापन पक्षको भनाइ छ।
वार्षिक पाँच करोडको कारोबार
उद्योगले हाल वार्षिक रूपमा करिब पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको जनाएको छ। उत्पादन तथा बिक्रीबाट हुने आम्दानीसँगै काठ प्रशोधनका क्रममा निस्कने विभिन्न प्रकारका उपउत्पादन बिक्रीबाट समेत उद्योगले थप आम्दानी गर्दै आएको छ।
भेनियर उत्पादनका क्रममा निस्कने दाउरा, काठका टुक्रा तथा अन्य खेर जाने सामग्रीलाई समेत उपयोग गरी बिक्री गर्ने गरिएको छ। यसले उद्योगबाट खेर जाने सामग्रीलाई आम्दानीको स्रोतमा परिणत गर्न सहयोग पुगेको छ।
उद्योगका अनुसार ठूला दाउरा एक ट्रकको पाँच हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। त्यस्तै, साना तथा सडेर जाने प्रकृतिका काठका टुक्रा प्रतिलिटर होइन, प्रतिकिलो तीनदेखि पाँच रुपैयाँसम्म बिक्री हुने गरेको छ।
यसरी मुख्य उत्पादन भेनियरसँगै काठ प्रशोधनबाट निस्कने सामग्रीको समेत उपयोग हुँदा उद्योगको समग्र आर्थिक गतिविधिमा योगदान पुगेको छ।
स्थानीय अर्थतन्त्रमा प्रभाव
गाउँमै उद्योग स्थापना भएर सञ्चालनमा आएपछि प्रत्यक्ष रोजगारी पाएका श्रमिकको आम्दानी मात्र बढेको छैन, स्थानीय अर्थतन्त्रमा समेत यसको प्रभाव देखिन थालेको छ। श्रमिकले प्राप्त गर्ने आम्दानी स्थानीय बजारमा खर्च हुने भएकाले व्यापार तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने गरेको स्थानीयको भनाइ छ।
विशेषगरी महिलाले घरपरिवारको जिम्मेवारीसँगै उद्योगमा काम गरेर आम्दानी गर्न थालेपछि उनीहरूको आर्थिक सहभागिता बढेको छ। घरायसी काम र रोजगारीलाई सन्तुलन गर्दै आम्दानी गर्न पाउँदा महिलाका लागि उद्योग महत्वपूर्ण अवसर बनेको छ।
स्थानीयस्तरमा यस्ता उद्योगको विस्तार हुन सके रोजगारीका लागि वैदेशिक रोजगारी वा अन्य सहरतर्फ पलायन हुने क्रमलाई केही हदसम्म रोक्न सकिने देखिन्छ।
वराहक्षेत्र–५ मा सञ्चालनमा रहेको प्लाइउड उद्योगले स्थानीय स्रोत, श्रम र बजारलाई जोड्दै रोजगारी तथा आर्थिक गतिविधि विस्तार गर्ने प्रयास गरिरहेको छ। उत्पादन क्षमता, बजार र रोजगारी थप विस्तार गर्न सके आगामी दिनमा उद्योगले स्थानीय अर्थतन्त्रमा अझ ठूलो योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।