Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०८३
  • 798
    SHARES

काठमाडौं  । परम्परागत अन्नबालीबाट पर्याप्त आम्दानी लिन कठिन भइरहेका बेला इलामको माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको भरपर्दो माध्यम बनाएका छन् । परम्परागत रूपमा मकै, कोदो लगायतका अन्नबाली खेती गर्दै आएका पृथीमान जवेगूले पछिल्लो एक दशकदेखि व्यावसायिक रूपमा रुद्राक्ष खेती गर्दै वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

जवेगूले आफ्नो १८ रोपनी खेतीयोग्य जमिनमा करिब ३०० वटा रुद्राक्षका बोट रोपेका छन् । विसं २०७३ मा सङ्खुवासभाबाट प्रतिगोटा दुई सय रुपैयाँका दरले रुद्राक्षका बिरुवा ल्याएर खेती सुरु गरेका उनले चार वर्षपछि उत्पादन लिन थालेका हुन् ।

“विसं २०७३ सालमा सङ्खुवासभाको कुस्वाबेँसीबाट प्रतिगोटा दुई सय रुपैयाँका दरले ३०० वटा रुद्राक्षका बिरुवा ल्याएर खेतीयोग्य बारीमा रोपेको हुँ,” जवेगूले भने, “चार वर्षपछि उत्पादन सुरु भयो । विसं २०७७ सालदेखि बर्सेनि करिब दुई लाख रुपैयाँ आम्दानी भइरहेको छ ।”

एकपटक लगाएपछि वर्षौँसम्म आम्दानी

जवेगूका अनुसार रुद्राक्ष खेतीको सबैभन्दा ठूलो फाइदा भनेको प्रारम्भिक लगानी र मेहनतपछि लामो समयसम्म आम्दानी लिन सकिनु हो । अन्य अन्नबालीमा हरेक वर्ष बीउ, मल, श्रम, सिँचाइ तथा अन्य कृषि सामग्रीमा खर्च गर्नुपर्ने भए पनि रुद्राक्षका बोट हुर्किसकेपछि नियमित रूपमा ठूलो लगानी आवश्यक नपर्ने उनको अनुभव छ ।

रुद्राक्ष खेती सुरु गर्दा बिरुवा खरिद, खाडल निर्माण, मल तथा सिँचाइ व्यवस्थापनमा खर्च भए पनि बोट हुर्किएपछि खेतीमा हुने खर्च निकै कम भएको उनले बताए ।

“रुद्राक्षलाई अन्य बालीजस्तो धेरै मेहनत गरिरहन पर्दैन,” उनले भने, “सुरुमा बिरुवा किन्न, खाडल बनाउन, मल तथा सिँचाइ व्यवस्थापनमा खर्च भयो । बोट हुर्किसकेपछि भने खासै खर्च हुँदैन ।”

उनका अनुसार परम्परागत अन्नबालीमा वर्षभरि मेहनत गरे पनि उत्पादनअनुसार आम्दानी कम हुने गरेको थियो । रुद्राक्ष खेतीले भने तुलनात्मक रूपमा कम श्रम र खर्चमा नियमित आम्दानी दिन थालेपछि परिवारको आर्थिक अवस्थामा समेत सहजता आएको छ ।

“पहिले कडा मेहनत गर्दा पनि अन्नबालीबाट घरखर्च चलाउन मुस्किल पर्थ्यो,” उनले भने, “अहिले बर्सेनि नियमित आम्दानी हुन थालेपछि घरखर्च चलाउन सहज भएको छ ।”

बोटमै पुग्छन् व्यापारी

जवेगूलाई आफूले उत्पादन गरेको रुद्राक्ष बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने अवस्था छैन । सङ्खुवासभाका व्यापारीले उनको बारीमै आएर रुद्राक्ष हेर्ने र वार्षिक रूपमा ठेक्कामा उत्पादन खरिद गर्ने गरेका छन् ।

उनका अनुसार व्यापारीसँग सम्झौता भएपछि उत्पादन बजारसम्म पुर्‍याउने झन्झटसमेत हुँदैन ।

“रुद्राक्ष बिक्रीका लागि मैले केही गर्नुपर्दैन । उत्पादन भएपछि उहाँहरू आफैँ आउनुहुन्छ । दाना हेर्नुहुन्छ, मुखदार दाना छान्नुहुन्छ,” उनले भने, “ठेक्का सम्झौताअनुसार पैसा दिएर जानुहुन्छ ।”

यसरी उत्पादनको बजार सुनिश्चित भएपछि किसानलाई बिक्रीको चिन्ता कम भएको छ । व्यापारीले बोटमै पुगेर उत्पादनको मूल्यांकन गर्ने भएकाले रुद्राक्ष खेतीप्रति जवेगू थप उत्साहित छन् ।

खेती विस्तार गर्ने योजना

रुद्राक्षबाट नियमित आम्दानी हुन थालेपछि जवेगूले आगामी दिनमा यसको खेती विस्तार गर्ने योजना बनाएका छन् । नयाँ जमिनमा थप रुद्राक्षका बिरुवा रोप्ने तयारीमा रहेका उनले गाउँका अन्य किसानलाई समेत यस खेतीका सम्भावनाबारे जानकारी गराउँदै आएका छन् ।

माङसेबुङ क्षेत्रमा व्यावसायिक रूपमा रुद्राक्ष खेती सुरु गर्ने प्रारम्भिक किसानमध्ये आफू पनि रहेको बताउँदै उनले अहिले अन्य किसानले समेत परीक्षणका रूपमा थोरै क्षेत्रफलमा रुद्राक्ष रोप्न थालेको बताए ।

स्थानीय तह तथा सम्बन्धित निकायले गुणस्तरीय बिरुवा, प्राविधिक ज्ञान, रोग तथा कीरा व्यवस्थापन र बजारको सुनिश्चिततामा सहयोग गर्न सके रुद्राक्ष खेतीलाई व्यावसायिक रूप दिन सकिने उनको भनाइ छ ।

गुणस्तरीय दानाले दिन सक्छ ठूलो मूल्य

रुद्राक्षका सबै दानाको मूल्य समान हुँदैन । दानाको आकार, बनोट, गुणस्तर तथा त्यसमा देखिने प्राकृतिक रेखा अर्थात् ‘मुख’का आधारमा यसको मूल्य निर्धारण हुने गरेको जवेगू बताउँछन् ।

“सबै दानाको मूल्य एउटै हुँदैन,” उनले भने, “स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।”

रुद्राक्षको दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । धार्मिक तथा ज्योतिषीय मान्यतामा विभिन्न मुख भएका रुद्राक्षलाई फरक–फरक महत्व दिइन्छ । बजारमा पनि दानाको प्रकार, आकार, गुणस्तर र दुर्लभताअनुसार मूल्यमा ठूलो अन्तर देखिने गरेको व्यवसायीहरू बताउँछन् ।

सामान्यतया आठदेखि २९ मुखेसम्मका दानालाई ‘मुखदार’ रुद्राक्षका रूपमा चर्चा गरिन्छ । मुखको संख्या बढी भएका र दुर्लभ दानाको माग तथा मूल्य तुलनात्मक रूपमा उच्च हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

धार्मिकदेखि व्यावसायिक प्रयोगसम्म

रुद्राक्षका दाना धार्मिक तथा सांस्कृतिक प्रयोजनमा विशेष महत्त्व राख्छन् । पूजा–आराधना तथा माला बनाउन प्रयोग हुने रुद्राक्ष पछिल्लो समय गहना तथा विभिन्न सजावटी सामग्री बनाउन पनि प्रयोग हुँदै आएको छ ।

धार्मिक तथा आध्यात्मिक महत्त्वका कारण नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत रुद्राक्षको माग रहेको व्यवसायीहरू बताउँछन् । यही मागका कारण उपयुक्त भूगोल भएका स्थानमा रुद्राक्ष खेती किसानका लागि राम्रो नगदे बालीको विकल्प बन्न सक्ने सम्भावना देखिएको छ ।

मध्यपहाडका किसानका लागि सम्भावनाको बाली

कृषि विज्ञहरूका अनुसार रुद्राक्ष समुद्री सतहबाट करिब एक हजार आठ सय मिटर उचाइसम्म खेती गर्न सकिन्छ । मट्याइलो, पारिलो तथा घमाइलो जमिन रुद्राक्ष खेतीका लागि उपयुक्त मानिन्छ ।

वर्षायाम अर्थात् असारदेखि असोजसम्म बिरुवा रोप्न उपयुक्त हुने र बिरुवाबीच पर्याप्त दूरी कायम गर्नुपर्ने बताइन्छ । सामान्यतः करिब १० मिटरको फरकमा रुद्राक्षका बिरुवा रोप्न सकिने मानिन्छ ।

तराईदेखि मध्यपहाडी क्षेत्रसम्म विभिन्न स्थानमा रुद्राक्ष खेतीको सम्भावना रहेको बताइन्छ । यसको अर्को विशेषता भनेको एकपटक हुर्किएपछि लामो समयसम्म उत्पादन लिन सकिनु हो । उचित हेरचाह र अनुकूल वातावरणमा रुद्राक्षका बोटले दशकौँसम्म फल दिने भएकाले किसानका लागि यो दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्छ ।

परम्परागत खेतीमा बढ्दो लागत, श्रम र उत्पादनको अनिश्चितताबीच जवेगूको अनुभवले वैकल्पिक नगदेबालीका रूपमा रुद्राक्ष खेतीको सम्भावना देखाएको छ । गुणस्तरीय बिरुवा, प्राविधिक ज्ञान र बजारको सुनिश्चितता गर्न सके इलामको माङसेबुङलगायत मध्यपहाडी क्षेत्रमा रुद्राक्ष खेती विस्तार गरी किसानको आम्दानी बढाउन सकिने सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४