काठमाडौँ । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र एक जनाको शव फेला परेको छ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङभित्रबाट एक जनाको शव बाहिर निकालेको हो। फेला परेको शवको पहिचान भने हुन बाँकी रहेको उनले जानकारी दिए।
यसअघि सोही सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले उनीहरूलाई जीवितै बाहिर निकालेको हो।
उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौँस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको सुरुङभित्र रहेको भूमिगत विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश भूमिगत विद्युत् गृह क्षेत्रमा रहेको अनुमान गरिएको छ।
उद्धार टोलीले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजीलाई निरन्तरता दिएको छ। भूमिगत विद्युत् गृह क्षेत्रमा रहेका व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाकर्मी तथा प्राविधिक टोलीले सावधानीपूर्वक खोजी तथा उद्धार कार्य गरिरहेका छन्।
सुरुङभित्र फसेकाहरूको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेकाले उद्धार टोलीले सम्भावित सबै स्थानमा खोजी गरिरहेको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोली परिचालित छ।
जीवित उद्धार गरिएका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेकाले उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिलाई पनि सुरक्षित रूपमा बाहिर निकाल्न सकिने आशा व्यक्त गरेको छ। खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ।