काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद्का कारण सुरुङमार्ग तथा जलविद्युत् आयोजनाका पावरहाउस क्षेत्रमा फसेका नागरिकको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुरुङभित्र रहेका नागरिकको अवस्था अझै यकिन हुन नसकेको भन्दै उद्धारका लागि सुरुङको अन्तिम भाग अर्थात् पावरहाउससम्मै पुगेर खोजी गर्नुपर्ने बताउनुभएको हो।
शाहीले सुरुङमार्गमा प्रवेश गरेर मात्रै उद्धार प्रयास सीमित नगरी जलविद्युत् आयोजनाका पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक तथा सुरक्षा विज्ञ परिचालन गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो।
उहाँका अनुसार बाहिरबाट उद्धार गरिएका वा सुरक्षित स्थानमा पुगेका नागरिकको विवरणलाई मात्र आधार बनाएर सुरुङ तथा पावरहाउस क्षेत्रमा रहेका सबै व्यक्ति सुरक्षित छन् भन्ने निष्कर्ष निकाल्न नहुने अवस्था छ। सुरुङभित्र तथा पावरहाउस क्षेत्रमा अझै पनि मानिस जीवित अवस्थामा रहेको सम्भावनालाई ध्यानमा राख्दै खोजी कार्यलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ छ।
शाहीले भन्नुभयो, “सुरुङभित्र फसेका नागरिकको अहिले पनि उद्धार गर्न सकेका छैनौँ। बाहिर देखिनुभएका नागरिकहरू बाहिर निस्किसक्नुभएको अवस्था हो। सुरुङमार्गमा रहेका पावरहाउसमा मानिस जीवित हुनसक्ने सम्भावना भएकाले टनेलमा मात्र छिरेर हुँदैन, पावरहाउससम्म पुगेर खोजी गर्नुपर्छ।”
उहाँले यस्तो जटिल उद्धार कार्यमा सामान्य जनशक्तिभन्दा प्राविधिक ज्ञान र अनुभव भएका विज्ञहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। त्यसैले सम्बन्धित जलविद्युत् आयोजना, सुरुङ निर्माण तथा उद्धारसम्बन्धी प्राविधिक विज्ञलाई तत्काल परिचालन गर्नुपर्नेमा राप्रपाले जोड दिएको उहाँले जानकारी दिनुभयो।
स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्न माग
सर्वदलीय बैठकमा विपद् प्रभावित क्षेत्रमा राहत वितरणको अवस्थाबारे समेत गम्भीर छलफल भएको शाहीले बताउनुभयो।
सरकारले राजधानी तथा अन्य स्थानबाट प्रभावित क्षेत्रमा राहत सामग्री पठाइरहे पनि स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसक्दा वास्तविक पीडितसम्म राहत पुग्न कठिनाइ भएको उहाँको भनाइ छ।
राहत सामग्री प्रभावित क्षेत्रमा पठाएर मात्र जिम्मेवारी पूरा नहुने भन्दै उहाँले वितरण प्रणालीलाई व्यवस्थित बनाउन स्थानीय सरकारलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताउनुभयो।
शाहीका अनुसार स्थानीय तहसँग प्रभावित परिवारको वास्तविक विवरण, आवश्यकताको प्राथमिकता तथा भौगोलिक अवस्थाबारे तुलनात्मक रूपमा बढी जानकारी हुने भएकाले राहत वितरणमा स्थानीय निकायलाई केन्द्रमा राख्न आवश्यक छ।
उहाँले भन्नुभयो, “राहत वितरणमा तल्लो निकायलाई प्रयोग गर्न पनि हामीले आग्रह गरेका छौँ। यहाँबाट राहत गएको छ, तर प्रभावित क्षेत्रका स्थानीय निकायसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन सक्नुभएको छैन।”
उद्धारसँगै राहत व्यवस्थापनमा जोड
राप्रपाले विपद् प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेको छ। एकातर्फ सुरुङ, पावरहाउस तथा अन्य जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने र अर्कोतर्फ विस्थापित तथा प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवासलगायतका राहत उपलब्ध गराउनुपर्ने शाहीले बताउनुभयो।
उहाँले विपद्को समयमा संघीय सरकारबाट मात्र सबै काम सम्भव नहुने भन्दै प्रदेश र स्थानीय सरकार, सुरक्षाकर्मी, प्राविधिक जनशक्ति तथा नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
देश–विदेशबाट भइरहेको सहयोगप्रति धन्यवाद
राप्रपा नेता शाहीले विपद्का बेला पीडित नागरिकका लागि देशभित्र तथा विदेशबाट सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले विभिन्न व्यक्ति, संस्था, व्यवसायी तथा प्रवासी नेपालीहरूले आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गरिरहेको उल्लेख गर्दै उक्त सहयोगलाई वास्तविक पीडितसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्याउनुपर्नेमा जोड दिनुभयो।
विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संस्था र आम नागरिकको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
राप्रपाले सर्वदलीय बैठकमार्फत सरकारको ध्यान विशेषगरी सुरुङ तथा पावरहाउस क्षेत्रमा केन्द्रित खोजी–उद्धार, प्राविधिक विज्ञको परिचालन र स्थानीय तहको प्रभावकारी समन्वयतर्फ आकर्षित गराएको जनाएको छ।