Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढी पीडितका साथमा पोखरेली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०८३
  • 570
    SHARES

कास्की । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोमभित्र सोमबार अपराह्न चहलपहल थियो । कोही चामलका बोरा बोकेर आइरहेका थिए भने कोही स्कुटर र गाडीमा आएर सामानका पोका झार्दै फर्कदै गरिरहेका थिए । नीलो कुर्था र सेतो सुरुवाल लगाएका महिला भ्यानबाट ओर्लेर धमाधम सामान झार्न थाले ।

महानगर प्रहरीले उनीहरुलाई सघाइरहेका थिए । उनीहरु थिए पोखरा–१५ नयाँगाउँस्थित बगैँचा मन्टेश्वरीका शिक्षक तथा कर्मचारी । भोटेकोशी बाढीपीडितका लागि खाद्यान्न तथा अन्य राहत सामग्री लिएर शिक्षक कर्मचारी त्यहाँ पुगेका थिए । उनीहरूले करिब रु ३५ हजार बराबरको चामल, गेडागुडी, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न बाढी पीडितका लागि ल्याएका थिए ।

विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि पोखरामा पनि त्यसको पीडा महसुस हुन थालेको छ । बाढीले ठूलो मानवीय क्षति भयो भने कैयौँ पुल सडकलगायत संरचना बगे । विद्यालयसमेत बगाउँदा विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित बने ।

“देशको एउटा कुनामा हाम्रा धेरै साथी बाढीबाट पीडित छन् । हामी सुरक्षित स्थानमा बसेर हेरिरहन सकेनौँ । त्यसैले आफ्नो ठाउँबाट जे सक्छौँ, त्यही सहयोग गर्ने कोसिस गरेका हौँ”, बगैँचा मन्टेश्वरी प्रि स्कुलका संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले भने । विपद्का बेला पीडितलाई सहयोग गर्नु मानवीय दायित्व भएको उनको भनाइ छ ।

विपद्मा परेकालाई सहयोग गर्न पोखरेली सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानले आफूले सकेको राहत सामग्री लिएर प्रदर्शनी केन्द्र पुग्न थालेका छन् । त्यसका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमासमेत रकम जम्मा भइरहेको छ । पोखरा नयाँबजारका गणेश शाही पनि बाढी प्रभावितका लागि कपडा, भाँडाकुँडालगायत सामग्री लिएर आएका थिए ।

प्रभावित क्षेत्रको क्षति असाध्यै ठूलो रहेकाले आफूहरुको सहयोग सामान्य भए पनि पीडामा साथ दिनुपर्छ भन्ने भावना राखिएको शाहीले बताए । “मरेर जाने त गए तर बाँचेकाहरु झन् बढी समस्यामा परेको देखेका छौँ । उनीहरुलाई आफूले सकेको सहयोग गराैँ भनेर आएका हौँ । त्यहाँको क्षति हेर्दा हाम्रो सहयोग केही पनि होइन तर पीडामा केही न केही नगरिकन मन मानेन”, शाहीले भने।

रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राहत सङ्कलन केन्द्र स्थापना गरेको छ । महानगरले यही भदौ १४ गतेदेखि राहत सहयोग अभियान सञ्चालन गरिरहेको छ । यो अभियान भदौ १८ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।

अभियानमा खाद्यान्न, लत्ताकपडा, बन्दोबस्तीका सामग्री, औषधिलगायत आवश्यक सामग्री सङ्कलन भइरहेको छ । महानगरले इच्छुक व्यक्ति, सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई राहत सामग्री उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ । केन्द्रमा सङ्कलन भएका राहत सामग्री महानगर प्रहरी बलको पृथ्वीचोकस्थित कार्यालयमा जम्मा गरिएको छ ।

त्यहाँबाट राहत सामग्री आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइने महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, “विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्न राहत सङ्कलन अभियान सुरु गरेका छौँ । सक्दो सहयोग गर्न नगरवासीमा आह्वान गरेका छौँ । सहयोग जुटिरहेको छ । नागरिकले स्वतःस्फूर्त रूपमा उपलब्ध गराइदिनुभएको छ । हामी सङ्कलित राहत सामग्री प्रभावित क्षेत्रमा छिट्टै पुर्याउने छौँ ।”

महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरिसकेको छ । त्यसैगरी अत्यावश्यक सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार र खोजीका लागि खटिएको छ ।

भोटेकोशी बाढीबाट प्रभावितका लागि पोखरेलीले राहत सामग्री मात्र नभई आर्थिक सहयोगसमेत गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यहाँका सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, विद्यालय तथा व्यापारिक प्रतिष्ठानले स्वःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४