Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खप्तडमा नेपाली सेनाको मेडिकल बन्दै भरोसाको केन्द्र, दैनिकजसो दर्जनौँलाई निःशुल्क उपचार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०८३
  • 1.3K
    SHARES

काठमाडौँ । समुद्री सतहबाट करिब तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइमा फैलिएको खप्तडमा स्वास्थ्योपचार पाउनु अझै पनि चुनौतीपूर्ण छ । दुर्गम भूगोल, चिसो मौसम, लामो पैदलयात्रा र सीमित स्वास्थ्य पूर्वाधारका कारण खप्तड पुग्ने पर्यटक, गोठाला तथा तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ जटिल बन्ने गरेको छ ।

यही कठिन भूगोलमा नेपाली सेनाले सञ्चालन गर्दै आएको मेडिकल भने स्थानीयवासीदेखि पर्यटक र तीर्थयात्रीसम्मका लागि भरोसाको केन्द्र बन्दै गएको छ । समरजित गुल्मले सञ्चालन गरेको उक्त मेडिकलबाट दैनिकजसो बिरामीले निःशुल्क स्वास्थ्य सेवा पाउँदै आएका छन् । सामान्य स्वास्थ्य समस्या लिएर पुग्ने गोठालादेखि खप्तड भ्रमणमा आएका पर्यटकसम्मका लागि तत्काल उपचार र स्वास्थ्य परामर्श उपलब्ध गराउने भएकाले मेडिकलप्रति स्थानीयको विश्वाससमेत बढ्दै गएको छ ।

खप्तडछान्ना गाउँपालिका–६, बझाङकी कला थापा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचारका लागि खप्तड पुग्ने गरेको बताउँछिन् । गाउँनजिकै स्वास्थ्यचौकी भए पनि नेपाली सेनाले सञ्चालन गरेको मेडिकलमा उपचार गराउँदा आफूलाई बढी विश्वास लाग्ने उनको अनुभव छ ।

“ठूलो बिरामी भएर होइन, सानोतिनो बिरामको उपचार गर्नुपर्दा पनि सधैँ खप्तड पुग्छु,” थापा भन्छिन्, “खप्तडको दबाइले छिट्टै सञ्चो हुन्छ ।”

उनका अनुसार मेडिकलमा औषधि उपलब्ध हुनुका साथै स्वास्थ्यकर्मीबाट बिरामीको अवस्था हेरेर आवश्यक परामर्शसमेत दिने गरिएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सीमित रहेको अवस्थामा सेनाको मेडिकल स्थानीयका लागि सहज विकल्प बनेको उनको भनाइ छ ।

खप्तडछान्नाकै तेजेन्द्र खड्काको अनुभव पनि उस्तै छ । नजिकै स्वास्थ्यचौकी हुँदाहुँदै पनि सानोतिनो स्वास्थ्य समस्या देखिए खप्तडस्थित सेनाको मेडिकल पुग्ने गरेको उनी बताउँछन् ।

“उस्तै खालको औषधि पाए पनि खप्तडमा परामर्श असाध्यै राम्रो लाग्छ,” खड्का भन्छन्, “त्यसैले नजिकैको स्वास्थ्यचौकी छाडेर सानोतिनो बिराम लागे खप्तड पुगिहाल्छु । घरमा अरू बिरामी हुँदा पनि खप्तड लैजान्छौँ ।”

उनका अनुसार हिउँदको समयमा आवतजावत कठिन हुने भए पनि वर्षायाममा छान्नाका विभिन्न गाउँबाट समेत स्थानीय उपचारका लागि खप्तड पुग्ने गरेका छन् ।

पर्यटकका लागि पनि भरपर्दो सहारा

खप्तड धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य हो । वर्षभरि पर्यटकको आवागमन हुने भए पनि विशेषगरी गर्मीयाममा यहाँ आउने पर्यटकको सङ्ख्या बढ्ने गर्छ ।

खप्तडको उच्च भूभाग, चिसो मौसम र लामो पैदलयात्राका कारण कतिपय पर्यटकलाई यात्राकै क्रममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । यस्ता समस्या देखिएपछि उनीहरू उपचारका लागि नेपाली सेनाको मेडिकल पुग्ने गरेका छन् ।

नेपाली सेनाका अनुसार मेडिकलमा लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुने तथा सामान्य चोटपटक लाग्नेलगायत समस्या लिएर पर्यटक तथा स्थानीय पुग्ने गरेका छन् ।

खप्तडछेडेदह गाउँपालिका–१ का धर्म रोकायाका लागि खप्तडमा उपचारको विषय आउँदा नेपाली सेनाको मेडिकल पहिलो विकल्प हो ।

“खप्तडमा आउँदा उपचारका लागिमात्र होइन, दुःखसुख पर्दा पनि नेपाली सेना नजिकको साथीजस्तो बनेको छ,” रोकाया भन्छन्, “पर्यटकका लागि त सेनाको मेडिकल निर्विकल्प जस्तै छ । कसैलाई चोटपटक लाग्दा पनि सहारा सेना नै छ ।”

उच्च पहाडी तथा दुर्गम क्षेत्रमा स्वास्थ्य समस्या देखिएपछि तत्काल उपचार पाउनु ठूलो राहत हुने स्थानीयको भनाइ छ । खप्तडबाट तल झर्न लामो समय लाग्ने भएकाले सामान्य समस्या देखिँदा पनि तत्काल उपचार र स्वास्थ्य परामर्श पाउनु महत्त्वपूर्ण मानिन्छ ।

कतिपय अवस्थामा खराब मौसम, वर्षा तथा भौगोलिक कठिनाइका कारण बिरामीलाई तत्काल खप्तडबाट बाहिर लैजानसमेत कठिन हुने गर्छ । यस्तो अवस्थामा मेडिकलबाट उपलब्ध हुने प्राथमिक उपचारले बिरामीलाई थप जटिलताबाट जोगाउन सहयोग पुग्ने गरेको समरजित गुल्मका गुल्मपति सेनानी विजय खत्री बताउँछन् ।

उनका अनुसार स्थानीय तथा पर्यटकलाई तत्काल आवश्यक उपचार उपलब्ध गराउनुका साथै स्वास्थ्यसम्बन्धी आवश्यक परामर्शसमेत दिने गरिएको छ ।

मेला तथा धार्मिक अवसरमा विशेष स्वास्थ्य शिविर

नेपाली सेनाको स्वास्थ्य सेवा नियमित उपचारमा मात्रै सीमित छैन । खप्तडमा वर्षेनी आयोजना हुने धार्मिक तथा सांस्कृतिक मेलालाई लक्षित गरेर सेनाले विशेष निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ ।

खप्तडमा लाग्ने गङ्गादशहरा मेला, उकालु पूर्णिमामा आयोजना हुने खापर जगन्नाथ मन्दिर मेला तथा खापर जगन्नाथ ओरालु मेलाका अवसरमा सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ ।

यी मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लासहित टाढाटाढाबाट ठूलो सङ्ख्यामा श्रद्धालु, पर्यटक तथा स्थानीय नागरिक खप्तड पुग्ने गर्छन् । उच्च भूभागमा हुने ठूलो भीडभाडमा स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर नेपाली सेनाले शिविरमार्फत तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको हो ।

समरजित गुल्मका अनुसार यस्ता स्वास्थ्य शिविरबाट मात्रै हरेक वर्ष हजारौँ नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिने गरेका छन् ।

हालै शुक्रबार लागेको पूर्णिमा मेलामा मात्रै करिब डेढ सय जनाले निःशुल्क स्वास्थ्योपचार सेवा लिएका थिए । प्रतिकूल मौसमका कारण यसपटक अपेक्षाभन्दा कम श्रद्धालु आए पनि स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या उल्लेख्य रहेको सेनानी खत्रीले बताए ।

“यो वर्ष मौसम प्रतिकूल हुँदा कम श्रद्धालु आए । सफा मौसम भए धेरै नै हुन्थे । उपचारमा आउनेको लाइन पनि लामै हुन्थ्यो,” खत्रीले भने ।

उनका अनुसार मेलाका समयमा टाढाटाढाबाट आउने श्रद्धालु, स्थानीय तथा पर्यटकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य शिविर प्रभावकारी बन्दै आएको छ ।

दैनिक उपचार, आकस्मिक अवस्थामा तत्काल सहयोग

सेनाको स्वास्थ्य सेवा मेला तथा विशेष अवसरमा मात्र सीमित छैन । खप्तडमा मेडिकल नियमित रूपमा सञ्चालन हुँदै आएको छ । सेनानी खत्रीका अनुसार दैनिकजसो दर्जनभन्दा बढी बाह्य बिरामीले मेडिकलबाट स्वास्थ्य सेवा लिने गरेका छन् ।

उच्च पहाडी क्षेत्रमा स्वास्थ्य संस्था तथा विशेषज्ञ स्वास्थ्यकर्मीको पहुँच सीमित रहेको अवस्थामा नेपाली सेनाको मेडिकलले प्राथमिक स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

विशेषगरी पर्यटकका लागि खप्तडको यात्रा लामो र शारीरिक रूपमा चुनौतीपूर्ण हुने भएकाले बाटोमा वा गन्तव्यमा स्वास्थ्य समस्या देखिन सक्छ । त्यस्तो अवस्थामा तत्काल स्वास्थ्य परीक्षण, आवश्यक औषधि तथा स्वास्थ्य परामर्श उपलब्ध हुनु उनीहरूका लागि ठूलो सहयोग बन्ने गरेको छ ।

स्थानीयवासीका लागि भने यो सेवा उपचारसँगै भरोसाको माध्यम बनेको देखिन्छ । सामान्य स्वास्थ्य समस्या हुँदा टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुनुका साथै आवश्यक परामर्श र औषधि निःशुल्क पाउने भएकाले मेडिकलप्रति स्थानीयको आकर्षण बढेको हो ।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको महत्त्व

खप्तडजस्तो उच्च पहाडी तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउनु आफैँमा चुनौतीपूर्ण काम हो । यातायातको सहज पहुँच नभएको, मौसम छिटो परिवर्तन हुने र लामो दूरी पैदल हिँड्नुपर्ने भएकाले बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउनु कठिन हुन्छ ।

यस्तो अवस्थामा गन्तव्यस्थलमै उपलब्ध हुने प्राथमिक स्वास्थ्य सेवाले ठूलो महत्त्व राख्छ । सामान्य स्वास्थ्य समस्याको तत्काल उपचार हुन सकेमा बिरामीको अवस्था थप बिग्रिनबाट जोगाउन सकिन्छ भने गम्भीर अवस्थाका बिरामीलाई आवश्यक परे थप उपचारका लागि अन्यत्र पठाउने निर्णयसमेत समयमै गर्न सकिन्छ ।

नेपाली सेनाले खप्तडमा सञ्चालन गरेको मेडिकलले यही आवश्यकता पूरा गर्दै आएको छ । स्थानीयको विश्वास, पर्यटकको बढ्दो आवागमन र धार्मिक मेलामा सहभागी हुने हजारौँ श्रद्धालुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मेडिकलको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको छ ।

खप्तडको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र पर्यटन सम्भावनासँगै यहाँ पुग्ने नागरिकको स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि नेपाली सेनाको नियमित निःशुल्क स्वास्थ्य सेवा स्थानीय समुदाय तथा पर्यटकका लागि उपयोगी आधार बनेको छ ।

दुर्गम भूगोलमा सामान्य स्वास्थ्य सेवाको पहुँचसमेत कठिन हुने अवस्थामा खप्तडमा सञ्चालित सेनाको मेडिकलले उपचार, औषधि र स्वास्थ्य परामर्शलाई एउटै स्थानबाट निःशुल्क उपलब्ध गराउँदै स्थानीय तथा पर्यटकको भरोसा जित्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४