Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा–नुवाकोटमा ३ हजार ४५४ जनाले पाए आश्रय र राहत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

संघीय तथा स्थानीय सरकारको समन्वयमा सञ्चालनमा ल्याइएका ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जना बाढी तथा विपद् प्रभावित नागरिकले अस्थायी आश्रय र राहत प्राप्त गरेका छन्।

नुवाकोटमा मात्रै २ हजार २७४ जना प्रभावितले १६ वटा अस्थायी आश्रयस्थल तथा शिविरमा आश्रय लिएका छन्। विदुर नगरपालिकाका विभिन्न क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, सेफहाउस, स्वास्थ्य चौकी, कवर्ड हल, आयुर्वेद वैकल्पिक चिकित्सालयलगायत स्थानमा व्यवस्थापन गरिएको छ।

विदुर नगरपालिका–३ देवघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयमा व्यवस्थापन गरिएको छ भने विदुर–९ का प्रभावितलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ।

त्यस्तै, बेलकोटगढीको रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालय, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आधारभूत विद्यालय तथा त्रिभुवन माध्यमिक विद्यालयमा आश्रयको व्यवस्था गरिएको छ। रसुवाका केही प्रभावितलाई समेत नुवाकोटको बट्टारस्थित तामाङ प्लाजामा राखिएको छ।

उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।

रसुवामा १० आश्रयस्थल, १ हजार १८० जनाले लिए आश्रय

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा पनि उद्धार तथा राहत वितरणलाई तीव्र बनाइएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १८० जना विपद् प्रभावितले आश्रय लिएका छन्।

स्थानीय तहसँगको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिका–१ र २ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–१, २, ३ र ५ अन्तर्गत थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी तथा आमाछोदिङ्मो गाउँपालिका–१ र २ अन्तर्गत हाकु, पाङ्ग्रङ र ग्रेमा समेत प्रभावितका लागि अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ।

स्थानीय प्रशासनका अनुसार राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान छैन। भौगोलिक विकटताका कारण सडकमार्गबाट पुग्न कठिन भएका अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ।

विभिन्न स्थानमा स्वास्थ्य टोली परिचालन

बाढी प्रभावितको उपचार तथा स्वास्थ्य सेवाका लागि रसुवाका विभिन्न स्थानमा स्वास्थ्य टोलीसमेत परिचालन गरिएको छ। धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी परिचालन भएका छन्। हेलिक्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीसमेत उपचार सेवामा सक्रिय रहेको छ।

बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै राहत, खाद्यान्न र औषधोपचार सहज रूपमा पुर्‍याउन स्थानीय प्रशासन र सुरक्षा निकायहरू उच्च सतर्कताका साथ परिचालित भइरहेका छन्।

बाढीपछिको तत्कालीन उद्धारसँगै प्रभावित नागरिकको सुरक्षित व्यवस्थापन, स्वास्थ्य उपचार र राहत वितरणलाई प्राथमिकतामा राखेर सरकारी तथा सुरक्षा निकायहरूले समन्वयात्मक रूपमा काम गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४