काठमाडाैं । केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या गरेको आरोपमा पक्राउ परेका ११ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लागेको भदौरे धार्मिक मेलामा सहभागी हुन पुगेका ३९ वर्षीय शिक्षक राईको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले सुङदेलकै ११ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सागर कोयी राई, प्रतीक राई, निशान राई, सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन्।
पक्राउ परेका सबैलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको थियो। अदालतले घटनाबारे थप अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए।
पुरानो रिसिइबीका कारण हत्या भएको प्रहरीको निष्कर्ष
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिक्षक राईको हत्या पुरानो रिसिइबीका कारण कुटपिट गरी गरिएको पुष्टि भएको जनाइएको छ। शिक्षक राईको भदौ ११ गते राति कुटपिटबाट हत्या भएको र घटनाको भोलिपल्ट भदौ १२ गते आरोपितहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटाअन्तर्गत निम्नमाध्यमिक तहमा कार्यरत शिक्षक भानुभक्त राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट निस्किएका थिए। सोही दिन उनी धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी पुगेका थिए।
प्रहरीका अनुसार सामान्य विवादबाट सुरु भएको घटनाले पछि गम्भीर रूप लिएको थियो।
मेलामा विवादपछि कुटपिट भएको आरोप
प्रत्यक्षदर्शीका अनुसार भदौ ११ गते साँझ सालपापोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा शिक्षक राई र सुङदेलकै ‘माइकल’ भनिने निशान राईबीच विवाद भएको थियो।
मृतकका आफन्तले भने पुरानो रिसिइबीका कारण निशान राईसँग साँझ विवाद भएपछि राति योजनाबद्ध रूपमा कुटपिट गरी शिक्षक राईको हत्या गरिएको आरोप लगाएका छन्। यद्यपि घटनाको वास्तविक कारण र सबै आरोपितको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्थानीयका अनुसार शिक्षक राई र निशान राईबीच यसअघि पनि गाउँमा पटक–पटक विवाद तथा झगडा हुँदै आएको थियो। यही पुरानो विवाद घटनाको पृष्ठभूमि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
११ जना पक्राउ परेपछि गाउँमा तनाव
घटनामा एउटै गाउँका ११ जना एकैसाथ पक्राउ परेपछि सुङदेलमा तनावको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्। घटनापछि स्थानीयवासीमा त्रास र चिन्ता बढेको बताइएको छ।
शिक्षक राई खोटाङका भए पनि हत्या भएको स्थान भोजपुर जिल्लाभित्र पर्ने भएकाले घटनाको अनुसन्धान तथा कानुनी कारबाही जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार भोजपुरमा भएको घटनाको अनुसन्धानका क्रममा आवश्यक सहयोग खोटाङबाट उपलब्ध गराइनेछ।
प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन, प्रत्यक्षदर्शी तथा आरोपितसँगको बयानलगायतका पक्षमा अनुसन्धान अघि बढाएको जनाएको छ। अदालतबाट प्राप्त अनुसन्धानको म्यादभित्र घटनाको वास्तविक कारण, घटनामा प्रत्येक व्यक्तिको भूमिका तथा अन्य संलग्न पक्षबारे थप तथ्य बाहिर ल्याउने प्रहरीको तयारी छ।