काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन्।
कप्तान लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोगको भावना व्यक्त गर्दै आफ्नो एक महिनाको पारिश्रमिक उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका हुन्। विपद्को समयमा आफूले सक्ने सहयोग गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उनले प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
लामिछानेले तलब सहयोगसँगै एसीसी प्रिमियर कप प्रतियोगितामा नेपालले लिने प्रत्येक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत १ हजार ५०० रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
उनका अनुसार प्रतियोगिताका क्रममा संकलन हुने उक्त रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ। प्राकृतिक विपद्का कारण प्रभावित बालबालिकाको पढाइमा समस्या नहोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गर्न लागेको उनको भनाइ छ।
कप्तान लामिछानेको यो घोषणाले खेलकुद क्षेत्रबाट विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने अभियानमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। खेलाडी तथा खेलकुदसँग जोडिएका व्यक्तिहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्का बेला सहयोगको हात बढाउँदै आएका छन्।
मासिक १ लाख ५० हजार तलब
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताअन्तर्गत ‘ए’ श्रेणीमा रहेका कप्तान लामिछानेले मासिक १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्दै आएका छन्।
‘ए’ श्रेणीमा कप्तान लामिछानेसँगै राष्ट्रिय क्रिकेट टोलीका खेलाडी रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी पनि रहेका छन्।
यसअनुसार लामिछानेले आफ्नो एक महिनाको १ लाख ५० हजार रुपैयाँ तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका हुन्। त्यसमाथि एसीसी प्रिमियर कपमा नेपालको प्रदर्शनका आधारमा विकेट, चौका र छक्काबाट थप रकम संकलन हुनेछ।
लामिछानेको यो पहलले बाढीबाट प्रभावित परिवार, विशेषगरी बालबालिकाको शिक्षा निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विपद्का कारण घरपरिवार तथा विद्यालयका शैक्षिक सामग्री गुमाएका बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग रकम खर्च गरिने बताइएको छ।