काठमाडौँ । बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार रकम सङ्कलन भएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम निरन्तर बढिरहेको सरकारले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत सहयोग सङ्कलन भइरहेको छ । विपद्को समयमा प्राप्त हुने सहयोगलाई व्यवस्थित तथा पारदर्शी रूपमा परिचालन गर्ने उद्देश्यले सरकारले सहयोगको विवरणसमेत सार्वजनिक गर्दै आएको छ ।
कार्यालयले विपद् प्रभावित नागरिकका लागि सहयोग तथा उद्धारसम्बन्धी जानकारी आदानप्रदान गर्न ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएको छ । उक्त पोर्टलमार्फत उद्धारका लागि प्राप्त अनुरोध तथा आर्थिक सहयोगसम्बन्धी विवरणलाई सार्वजनिक गरिँदै आएको कार्यालयले जनाएको छ । यसले सहयोगदाताले आफूले उपलब्ध गराएको रकम कहाँ र कसरी सङ्कलन भइरहेको छ भन्ने विषयमा जानकारी प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेका खातामार्फत रकम जम्मा भएको कार्यालयले जनाएको छ । यसबाहेक हिमालयन बैंक र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर समेत जम्मा भएको जनाइएको छ । स्वदेशी तथा विदेशी नागरिक, विभिन्न सङ्घसंस्था, व्यवसायी, निजी क्षेत्र तथा अन्य दाताबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
सरकारले विपद्का कारण ठूलो जनधनको क्षति भएका क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउने, घाइतेको उपचार गर्ने र विस्थापित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा प्राप्त सहयोग उपयोग गरिने बताइएको छ ।
विपद्को समयमा ठूलो परिमाणमा आर्थिक सहयोग सङ्कलन भइरहेकाले त्यसको पारदर्शी उपयोग, सही व्यवस्थापन र दुरुपयोग रोकथाम चुनौतीपूर्ण विषय बन्न सक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सरकारले आर्थिक सहयोगका नाममा हुनसक्ने सम्भावित वित्तीय ठगी तथा अनधिकृत सङ्कलनबाट जोगिन नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ ।
कार्यालयले विपद् प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड तथा आधिकारिक बैंक खातामार्फत मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । सहयोग गर्दा खाताको नाम ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ वा ‘प्रधानमन्त्री कोष’ रहेको यकिन गर्न पनि आग्रह गरिएको छ ।
सरकारका अनुसार अनधिकृत व्यक्ति वा संस्थाको व्यक्तिगत खातामा रकम जम्मा गर्दा सहयोगको दुरुपयोग हुन सक्ने भएकाले आधिकारिक माध्यमबाट मात्र सहयोग उपलब्ध गराउन आवश्यक छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा कोषका बैंक खाता तथा सहयोगसम्बन्धी विस्तृत विवरण उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न ठूलो स्रोत आवश्यक पर्ने भएकाले सरकारलाई प्राप्त हुने आर्थिक सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्नु महत्वपूर्ण हुने देखिएको छ । सङ्कलित रकमको पारदर्शी व्यवस्थापन, वास्तविक पीडितसम्म सहयोगको पहुँच र राहत वितरणमा प्रभावकारिता कायम गर्न सके विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले विपद्को यस विषम परिस्थितिमा देश तथा विदेशमा रहेका नेपाली, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ । साथै, प्राप्त हुने प्रत्येक सहयोगको उचित अभिलेख राखी विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ ।