एजेन्सी । युक्रेनको राजधानी कीभनजिकै रुसी सेनाले गरेको ड्रोन आक्रमणपछि भएको श्रृंखलाबद्ध विस्फोटमा परी ३७ जनाको मृत्यु भएको छ। घटनामा चार बालबालिकासहित ४२ जना घाइते भएका छन्।
क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोका अनुसार रुसी ड्रोनले कीभको पश्चिमतर्फ रहेको बुचा जिल्लाको आवासीय क्षेत्रनजिकै रहेको सैन्य हातहतियार तथा गोलाबारुद भण्डारण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको थियो। शुक्रबार राति भएको आक्रमणपछि गोदाममा राखिएका विभिन्न प्रकारका विस्फोटक पदार्थमा श्रृंखलाबद्ध विस्फोट भएको थियो।
विस्फोटपछि गोदाम क्षेत्रमा भीषण आगलागी भएको थियो। आगो र विस्फोटको प्रभाव आसपासका क्षेत्रमा समेत फैलिँदा ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन्। घटनापछि जोखिममा रहेका करिब ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
विस्फोटका कारण नजिकै रहेको वृद्ध तथा अपांगता भएका व्यक्तिहरूको हेरचाह केन्द्रमा समेत ठूलो क्षति पुगेको छ। स्थानीय अधिकारीहरूका अनुसार घटनाबाट आसपासका करिब १३० वटा सर्वसाधारणका घर ध्वस्त वा क्षतिग्रस्त भएका छन्।
मृत्यु हुने ३७ जनामध्ये ३४ जना वृद्धाश्रममा रहेका व्यक्तिहरू रहेको बताइएको छ। घटनामा ठूलो मानवीय क्षति भएपछि युक्रेनमा सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणको बस्ती नजिकै विस्फोटक पदार्थ तथा गोलाबारुद भण्डारण गरिनु गम्भीर लापरबाही भएको बताएका छन्। युक्रेनी कानुनअनुसार आवासीय क्षेत्रनजिकै हतियार तथा विस्फोटक पदार्थ भण्डारण गर्न नपाइने भएकाले घटनाको जिम्मेवारीबारे अनुसन्धान अघि बढाइएको छ।
युक्रेनको सुरक्षा सेवाले घटनामा संलग्न तथा जिम्मेवार अधिकारीहरूविरुद्ध आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ। अनुसन्धानले आवासीय क्षेत्रनजिकै सैन्य सामग्री भण्डारण गर्ने निर्णय कसरी भयो र त्यसमा कसको जिम्मेवारी थियो भन्ने विषयमा समेत केन्द्रित हुने बताइएको छ।
यता, रुसले भने उक्त स्थानमा युक्रेनले प्रयोग गर्ने लामो दूरीका एफपी–१ र एफपी–२ ड्रोनका कम्पोनेन्ट तथा बुस्टरहरू भण्डारण गरेको दाबी गरेको छ। रुसका अनुसार सोही सैन्य सामग्रीलाई लक्षित गर्दै ‘गेरान–४’ ड्रोनमार्फत आक्रमण गरिएको हो।
तर, आक्रमणपछि भएको ठूलो जनधनको क्षतिका कारण घटनालाई लिएर युक्रेनले सैन्य संरचना व्यवस्थापन तथा सर्वसाधारणको सुरक्षासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएको छ। घटनाको पूर्ण विवरण तथा क्षतिको वास्तविक अवस्था भने अनुसन्धानपछि थप स्पष्ट हुने बताइएको छ।