काठमाडौँ । कृषि सेवा विभागले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा सम्भावित रोगको संक्रमण रोकथामका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका पशुपन्छीको अवस्था गम्भीर बन्न सक्ने भन्दै विभागले प्रदेश तथा स्थानीय सरकार र सुरक्षा संयन्त्रसँग समन्वय गरी प्राविधिक टोली परिचालन गरेको हो ।
विभागका महानिर्देशक उमेश दाहालका अनुसार कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको समन्वयमा बाढी प्रभावित जिल्लामा प्राविधिक टोली पठाइएको हो । बाढीका कारण मानिससँगै ठूलो संख्यामा पशुपन्छीसमेत प्रभावित भएको र कतिपय पशुपन्छी घाइते तथा मृत अवस्थामा हुन सक्ने भएकाले तत्काल उद्धार तथा उपचारको व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर घाइते पशुपन्छीको उद्धार तथा आकस्मिक उपचार गर्ने, बिरामी पशुपन्छीको स्वास्थ्य परीक्षण गर्ने र आवश्यकताअनुसार औषधि तथा खोप उपलब्ध गराउने काम गर्नेछ ।
त्यसैगरी बाढीमा परी मृत्यु भएका पशुपन्छीको सुरक्षित रूपमा व्यवस्थापन तथा विसर्जन गर्ने कार्यलाई समेत प्राथमिकतामा राखिएको छ । मृत पशुपन्छीको उचित व्यवस्थापन हुन नसकेमा विभिन्न किसिमका रोग तथा संक्रमण फैलिन सक्ने जोखिम रहने भएकाले जैविक सुरक्षाका उपाय अपनाएर व्यवस्थापन गर्न आवश्यक रहेको विभागले जनाएको छ ।
बाढी तथा पहिरोपछि पशुपन्छीमा विभिन्न किसिमका संक्रामक रोग फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले जैविक सुरक्षा तथा रोग नियन्त्रणलाई विशेष प्राथमिकता दिएको छ । प्रभावित क्षेत्रमा पशु स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी तत्काल आवश्यक उपचार तथा रोकथामका उपाय अवलम्बन गरिने जनाइएको छ ।
महानिर्देशक दाहालका अनुसार प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगिसकेको छ । टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी प्रभावित क्षेत्रमा आवश्यक समन्वयका साथ काम अघि बढाएको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्दै टोलीले उद्धार तथा राहतसम्बन्धी गतिविधिसमेत सञ्चालन गरिरहेको छ ।
टोलीले नुवाकोटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग समेत समन्वय गरेको विभागले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उपचार तथा रोग नियन्त्रणका लागि आवश्यक पर्ने औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ ।
विभागका अनुसार प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराइनेछ । पशुपन्छीको अवस्था मूल्याङ्कन गरी तत्काल उपचार आवश्यक पर्ने क्षेत्र पहिचान गरेर प्राविधिक जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
विपद्का कारण पशुपन्छीको उद्धार तथा उपचारसँगै पशुपालनमा निर्भर किसानसमेत प्रभावित भएका छन् । बाढीले पशु गोठ, खोर तथा पशुपालनसँग सम्बन्धित संरचनामा क्षति पुर्याउनुका साथै पशुचौपायाको दाना तथा आहारमा समेत समस्या सिर्जना गरेको हुन सक्ने विभागले जनाएको छ ।
यसैबीच, विभागले पशु सेवासँग सम्बन्धित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई विपद् प्रभावित क्षेत्रमा सक्रिय हुन आग्रह गरेको छ । पेसागत सङ्घसंस्था, उद्यमी तथा व्यवसायी, पशु कल्याणसम्बन्धी संस्था, नागरिक समाजलगायतलाई समेत उद्धार, उपचार तथा रोग नियन्त्रणका कार्यमा सहयोग गर्न विभागले अपिल गरेको छ ।
विभागले विशेषगरी असहाय तथा घाइते पशुपन्छीको तत्काल उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन र सम्भावित महामारीको रोकथाममा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।
विपद्पछि मानिसको उद्धारसँगै पशुपन्छीको संरक्षण र स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने भएकाले सम्बन्धित सबै निकायलाई समन्वयात्मक रूपमा परिचालन गरिएको विभागको भनाइ छ ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अवस्था निरन्तर मूल्याङ्कन गर्ने र आवश्यकताअनुसार उद्धार, उपचार तथा जैविक सुरक्षा कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ ।