काठमाडौं । चितवन कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्ना छोराले कपाल छोटो बनाए हुन्थ्यो भन्ने लाग्छ। विद्यालयबाट समेत छोरालाई कपाल काट्न लगाउन आग्रह गर्दै फोन आएपछि उहाँले छोरासँग कपाल छोटो बनाउन आग्रह गर्नुभयो। तर छोराले कपाल छोटो बनाउन नमानेपछि जबर्जस्ती गर्न भने नसकेको उहाँ बताउनुहुन्छ।
“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन पनि आएको थियो। बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन। जबर्जस्ती गर्नुभएन,” ढकालले भन्नुभयो।
भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि उस्तै छ। कक्षा १२ मा अध्ययनरत जेठो छोरालाई कपाल काट्न भन्नै छाडिसकेको उहाँ बताउनुहुन्छ। कक्षा ७ मा अध्ययनरत कान्छो छोरा पनि पछिल्लो समय अभिभावकको आग्रहलाई बेवास्ता गर्न थालेको उहाँको भनाइ छ।
“ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ। कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो,” न्यौपानेले भन्नुभयो।
ढकाल र न्यौपाने प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय विद्यालय तथा उच्च शिक्षा तहमा अध्ययनरत किशोर विद्यार्थीमा लामो कपाल राख्ने प्रवृत्ति बढ्दै गएको अभिभावकको अनुभव छ। विद्यालयले कपाल छोटो बनाउन आग्रह गरे पनि कतिपय विद्यार्थीले त्यसलाई स्वीकार नगर्ने र अभिभावकको अनुरोधसमेत बेवास्ता गर्ने गरेका छन्।
कतिपय विद्यार्थी लामो कपाल पाल्न मात्रै होइन, त्यसलाई नियमित रूपमा मिलाउन वा कोर्नसमेत रुचि नदेखाउने गरेका छन्। आफूलाई सहज लागेअनुसार कपाल राख्ने र त्यसको शैलीबारे अरूले दिएको सुझावलाई अस्वीकार गर्ने प्रवृत्ति किशोरमा बढ्दै गएको अभिभावकको गुनासो छ।
विद्यालयलाई अनुशासन कायम गर्न चुनौती
विद्यार्थीको व्यक्तिगत स्वतन्त्रता र अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाका कारण विद्यालयहरूले विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाउन नसक्ने अवस्था छ। त्यसैले कतिपय विद्यालयले विद्यार्थीको कपालसम्बन्धी विषयमा अभिभावकसँग समन्वय गर्न थालेका छन्।
विद्यालयले जबर्जस्ती कपाल काट्न लगाएको भन्दै विद्यार्थीले हेलो सरकार तथा प्रहरीसमक्ष समेत उजुरी गर्ने गरेको पाइएको छ। भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाब दिएर कपाल काट्न लगाएको भन्दै विद्यार्थीले हेलो सरकारमा उजुरी गर्ने गरेको जानकारी आफूहरूकहाँ आउने गरेको छ।
आचार्यका अनुसार विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, होस्टलमा बस्ने तथा अभिभावकभन्दा टाढा रहेका विद्यार्थीमा कपाल छोटो बनाउन नमानेको अवस्था बढी देखिने गरेको छ।
विद्यार्थीको कपाल काट्ने विषयमा विद्यालय र अभिभावकबीच समेत मतभेद देखिन थालेको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी विद्यार्थीलाई कपाल काट्न भन्न छाड्नुपरेको बताउनुहुन्छ।
उहाँका अनुसार विद्यालयमा अनुशासन कायम गर्ने विषयमा कपालको शैलीलाई लिएर विद्यालयले पहिलेजस्तो कडाइ गर्न सक्ने अवस्था छैन।
“अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन। कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ,” पुरीले बताउनुभयो।
विद्यालयविरुद्ध हेलो सरकारमा उजुरी परेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशभरका ३५ भन्दा बढी विद्यालयले विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाएको भन्दै उजुरी परेको जानकारी आफूले पाएको बताउनुभयो।
कानुनले विद्यार्थीको इच्छाविपरीत कपाल काट्न रोक्छ
सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनमा विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाइने व्यवस्था गरिएको छ। विद्यालयमा विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने वा काट्न लगाउने विषयमा गुनासो बढेपछि कानुनी रूपमा समेत यस्तो कार्यलाई निरुत्साहित गरिएको हो।
शिक्षा नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न वा गराउन नदिने व्यवस्था गरिएको छ।
त्यस्तै विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने व्यवस्था पनि नियमावलीमा उल्लेख छ।
यस व्यवस्थाले विद्यार्थीको आत्मसम्मान तथा व्यक्तिगत अधिकारलाई संरक्षण गरेको देखिए पनि विद्यालयमा अनुशासन कायम गर्ने विषयमा नयाँ चुनौती थपिएको विद्यालय सञ्चालकहरूको भनाइ छ। कपालको लम्बाइ तथा शैलीलाई लिएर विद्यार्थी र विद्यालयबीच विवाद बढ्न थालेपछि अभिभावकसँगको समन्वयलाई विद्यालयहरूले विकल्पका रूपमा लिन थालेका छन्।
सामाजिक सञ्जाल र सेलिब्रेटीको प्रभाव
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार विद्यार्थीमा लामो कपाल राख्ने तथा नयाँ शैली अपनाउने प्रवृत्तिको एउटा कारण सामाजिक सञ्जाल र विश्वव्यापी फेसनको सहज पहुँच पनि हो।
उहाँका अनुसार विगतमा किशोर तथा युवा पुस्ताले चलचित्र वा अन्य माध्यमबाट मात्रै विदेशी तथा विश्वव्यापी जीवनशैलीबारे जानकारी पाउने गर्थे। अहिले भने बालबालिका सानै उमेरदेखि मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालमार्फत विभिन्न देशका कलाकार, खेलाडी तथा सेलिब्रेटीको जीवनशैली प्रत्यक्ष रूपमा हेर्न पाउँछन्।
“नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो। जे चिज सेलिब्रेटीले गर्छन्, त्यसको नक्कल उनीहरूले गर्न चाहन्छन्,” डा. घिमिरेले भन्नुभयो।
उहाँका अनुसार पहिले किशोरावस्थापछि मात्रै चलचित्र तथा अन्य माध्यमबाट त्यस्ता शैलीको प्रभाव पर्ने भए पनि अहिले मोबाइल तथा सामाजिक सञ्जालको पहुँचका कारण त्यसको प्रभाव पर्ने उमेर झन् तल झरेको छ।
“बच्चाले मोबाइलमा सेलिब्रेटी देखेको छ। पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ,” उहाँले भन्नुभयो।
डा. घिमिरेका अनुसार कपाल लामो राख्नु आफैँमा नराम्रो कुरा भने होइन। तर किशोरले आफ्नो व्यक्तित्व, रुचि र स्वतन्त्रता अभिव्यक्त गर्ने क्रममा अपनाउने शैलीलाई परिवार तथा विद्यालयले बुझेर व्यवहार गर्न आवश्यक रहेको उहाँको धारणा छ।
कपाल लामो राख्नु विरोधको संकेत पनि हुन सक्छ
किशोरावस्था व्यक्तित्व निर्माण तथा स्वतन्त्र पहिचान खोज्ने महत्वपूर्ण चरण हो। यस उमेरमा अभिभावक तथा विद्यालयले लगाउने केही प्रतिबन्धप्रति विद्यार्थीले असहमति जनाउने सम्भावना बढी हुन्छ।
डा. घिमिरेका अनुसार घर र विद्यालयबाट लगातार कपाल छोटो बनाउन दबाब दिइए पनि त्यसलाई अस्वीकार गर्नु कहिलेकाहीँ आज्ञाकारिताविरुद्धको सांकेतिक विरोधका रूपमा समेत बुझ्न सकिन्छ।
किशोरले आफ्नो शरीर, पहिरन र कपालको शैलीमार्फत आफूलाई अरूभन्दा फरक देखाउन खोज्नु सामान्य मनोवैज्ञानिक प्रक्रिया हुनसक्ने उहाँ बताउनुहुन्छ। त्यसैले केवल कपालको लम्बाइलाई आधार बनाएर विद्यार्थीको अनुशासन वा चरित्र मूल्याङ्कन गर्नु उचित नहुने उहाँको भनाइ छ।
तर लामो कपाल राख्दा त्यसको नियमित स्याहार तथा सफाइमा लाग्ने समय र खर्चका कारण पढाइमा असर पर्न सक्ने विषयलाई पनि बेवास्ता गर्न नहुने उहाँ बताउनुहुन्छ।
सरसफाइमा पनि ध्यान आवश्यक
स्वास्थ्य तथा सरसफाइका दृष्टिले लामो कपाल राख्दा नियमित सफाइ र हेरचाह आवश्यक हुन्छ। छोटो कपालको तुलनामा लामो तथा बाक्लो कपाल सफा गर्न बढी समय लाग्न सक्छ।
कपाल राम्रोसँग सफा नगर्दा धुलो, फोहोर तथा पसिना जम्न सक्ने र चाया तथा जुम्राजस्ता समस्या देखिन सक्ने सम्भावना हुन्छ। विशेषगरी गर्मी मौसममा लामो तथा बाक्लो कपालमा पसिना जम्दा असहजता बढ्न सक्छ।
त्यसैले विद्यार्थीले कपाल छोटो राख्ने वा लामो राख्नेभन्दा पनि त्यसको सरसफाइ र नियमित हेरचाहमा ध्यान दिनुपर्ने देखिन्छ।
अनुशासन कि व्यक्तिगत स्वतन्त्रता ?
विद्यार्थीको लामो कपालको विषय अहिले केवल फेसन वा व्यक्तिगत रोजाइमा सीमित छैन। यसले विद्यालयको अनुशासन, विद्यार्थीको व्यक्तिगत स्वतन्त्रता, अभिभावकको भूमिका र कानुनी अधिकारबीचको सन्तुलनबारे बहससमेत निम्त्याएको छ।
विद्यालयले आफ्नो वातावरणलाई व्यवस्थित राख्न विद्यार्थीको पोसाक, सरसफाइ तथा अनुशासनमा ध्यान दिनुपर्ने हुन्छ। अर्कोतर्फ विद्यार्थीको शारीरिक स्वरूप र व्यक्तिगत अभिव्यक्तिमाथि अनावश्यक दबाब दिन नहुने कानुनी तथा मनोवैज्ञानिक मान्यता पनि महत्वपूर्ण छ।
यस अवस्थामा विद्यालयले जबर्जस्तीभन्दा पनि विद्यार्थी तथा अभिभावकसँग संवाद गरेर समाधान खोज्नु आवश्यक देखिन्छ। कपालको लम्बाइलाई मात्रै अनुशासनको मापदण्ड बनाउनुको सट्टा विद्यार्थीको व्यवहार, अध्ययनप्रतिको जिम्मेवारी, सरसफाइ र विद्यालयको वातावरणलाई मुख्य आधार बनाउनु उपयुक्त हुने विज्ञहरूको धारणा छ।
अभिभावकले पनि किशोरावस्थामा देखिने यस्ता परिवर्तनलाई केवल जिद्दी वा अनुशासनहीनताको रूपमा नलिएर छोराछोरीसँग संवाद गर्न आवश्यक छ। विद्यार्थीले आफ्नो रुचि र स्वतन्त्रता प्रयोग गर्दा त्यससँगै सरसफाइ, पढाइ र सामाजिक जिम्मेवारीलाई पनि सन्तुलनमा राख्नुपर्ने देखिन्छ।
यसरी हेर्दा विद्यार्थीमा बढ्दै गएको लामो कपालको मोह एउटा सामान्य फेसन प्रवृत्तिमात्र नभई बदलिँदो सामाजिक परिवेश, सामाजिक सञ्जालको प्रभाव, किशोर मनोविज्ञान तथा व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको विषय बनेको छ। विद्यालय, अभिभावक र विद्यार्थीबीच संवाद तथा समझदारी कायम गर्न सके कपालकै विषयमा हुने अनावश्यक विवाद कम गर्न सकिने देखिन्छ।