Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशको अवसर त्यागेर गाउँमै कुखुरापालन, दुई दाजुभाइ बने सफल उद्यमी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १० २०८३
  • 836
    SHARES

काठमाडौँ । विदेशमा अध्ययन गरेर आकर्षक अवसर पाएका धेरै नेपाली युवाको रोजाइ वैदेशिक रोजगारी र उतैको व्यवसाय बन्ने गरेको छ। तर म्याग्दीका दुई दाजुभाइले भने विदेशको अवसर त्यागेर आफ्नै गाउँमा व्यवसाय सुरु गर्दै स्वरोजगार मात्र होइन, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने सफल उद्यमीको पहिचान बनाउनुभएको छ।

बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजाल र उहाँका भाइ मुकुन्द रिजालले सञ्चालन गरेको रिजाल एग्रो फार्म अहिले म्याग्दीमा व्यावसायिक कुखुरापालनको उदाहरण बनेको छ। काठमाडौँमा होस्टेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै उच्च शिक्षा हासिल गरिरहेका दीर्घ रिजाललाई विसं २०७७ मा फैलिएको कोरोना महामारीले व्यवसाय बन्द गरेर गाउँ फर्किन बाध्य बनायो।

कोरोना महामारीका कारण व्यवसाय बन्द भएपछि गाउँ फर्किएका दीर्घले भाइ मुकुन्दसँग मिलेर कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्न थाल्नुभयो। त्यही क्रममा न्युजिल्यान्डबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेर फर्किएका मुकुन्दले व्यावसायिक कुखुरापालनको योजना अघि सार्नुभयो। दाजुभाइले योजनालाई व्यवहारमा उतार्दै म्याग्दीमै व्यवसाय सुरु गर्ने निर्णय गर्नुभयो।

“विदेशबाट पढेर आएका भाइले बनाएको कुखुरापालनको योजनालाई साथ दिएर बेनी बजार नजिकैको खबरा लभ्लीहिलमा १४ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका हौँ,” व्यवसायी दीर्घ रिजालले भन्नुभयो।

सुरुआतमा सीमित लगानी र चुनौतीका बीच सञ्चालन गरिएको फार्म अहिले विस्तार हुँदै गएको छ। खबरा लभ्लीहिलबाट सुरु भएको रिजाल एग्रो फार्म अहिले रत्नेचौर, कुरिलाखर्क, बरबुटा र चुत्रेनीसम्म विस्तार भएको छ। फार्ममा हाल करिब सात हजार लेयर्स र पाँच हजार ब्रोइलर कुखुरा पालिएको सञ्चालकले बताउनुभयो।

कुखुरापालन व्यवसायमा दाजुभाइको परिवारका सदस्यसहित स्थानीय युवाले समेत रोजगारी पाएका छन्। हाल परिवारका चार सदस्यसहित करिब २० जनाले प्रत्यक्ष रोजगारी पाएको रिजालले जानकारी दिनुभयो।

करिब दुई करोड रुपैयाँ लगानी रहेको फार्मले पछिल्लो वर्ष १६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको सञ्चालक रिजालको भनाइ छ। छोटो समयमै व्यवसाय विस्तार हुनुमा उत्पादनको गुणस्तर, नियमितता र स्थानीय बजारको मागलाई मुख्य कारण मानिएको छ।

व्यवसाय सुरु गर्दाका दिन भने सहज थिएनन्। बैंकबाट ऋण लिनसमेत कठिन भएको र बजारमा नयाँ उत्पादन तथा ब्रान्डलाई विश्वास दिलाउन समय लागेको सञ्चालक रिजाल बताउनुहुन्छ।

“सुरुआती दिनमा बैंकले ऋण नपत्याउने र ग्राहकलाई पनि उत्पादनको बारेमा बुझाउनुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो, “निरन्तरता र गुणस्तरमा जोड दिँदै गएपछि रिजाल एग्रोको आफ्नै ब्रान्ड बनेको छ। अहिले बजारमा मासु, अण्डा र कुखुरा बिक्री गर्न समस्या छैन।”

फार्ममा उत्पादन हुने अण्डाको मुख्य बजार बेनी बजार तथा आसपासका स्थानीय क्षेत्र बनेका छन्। स्थानीय बजारमै अण्डाको पर्याप्त खपत हुने भएकाले उत्पादन बिक्रीका लागि टाढाको बजार खोज्नुपर्ने अवस्था नरहेको सञ्चालकको भनाइ छ।

कुखुरापालनसँगै दाजुभाइले व्यवसायलाई थप विविधीकरणसमेत गरेका छन्। फार्ममा उत्पादन भएका अण्डा बिक्री गर्नुका साथै कुखुराका लागि उद्योगबाट ल्याइने दाना बिक्री गर्ने पसलसमेत बेनी बजारमा सञ्चालन गरिएको छ। यसले फार्मको उत्पादन र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुगेको छ।

त्यसैगरी बेनी बजार तथा आसपासका क्षेत्रमा कुखुराको मासुको माग बढ्दै गएपछि खाली रहेका कुखुराका खोर भाडामा लिएर ब्रोइलर कुखुरापालन विस्तार गरिएको छ। यसले व्यवसायको उत्पादन क्षमता बढाउनुका साथै खाली रहेका पूर्वाधारलाई समेत प्रयोगमा ल्याएको छ।

फार्मका अर्का सञ्चालक मुकुन्द रिजालका अनुसार म्याग्दीमा पोल्ट्री व्यवसायको राम्रो सम्भावना देखेर नै विदेशको अवसर छाडेर नेपाल फर्किने निर्णय गरिएको हो।

“आफ्नै देशमा केही गरौँ भन्ने सोचले न्युजिल्यान्डमा प्राप्त अवसर छाडेर व्यवसायमा लागेको हुँ,” मुकुन्दले भन्नुभयो, “पोल्ट्री व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने योजना छ।”

विदेशमा अध्ययन गरेपछि उतै रोजगारी वा व्यवसाय गर्ने अवसर भए पनि आफ्नै ठाउँमा सम्भावना खोजेर व्यवसाय सुरु गर्न सकिने उदाहरण रिजाल दाजुभाइले प्रस्तुत गरेका छन्। उनीहरूको अनुभवले कृषि तथा पशुपालन क्षेत्रमा आधुनिक प्रविधि, व्यवस्थापन र बजारको सही संयोजन गर्न सके नेपालमै राम्रो आम्दानी र रोजगारी सिर्जना गर्न सकिने देखाएको छ।

यद्यपि व्यवसाय विस्तारका क्रममा विभिन्न चुनौती पनि छन्। विशेषगरी स्थानीयस्तरमा दक्ष प्राविधिक जनशक्ति तथा कामदारको अभाव रहेको सञ्चालकको भनाइ छ। कुखुरापालनमा नियमित प्राविधिक निगरानी, रोग नियन्त्रण, खोप तथा व्यवस्थापन आवश्यक पर्ने भए पनि आवश्यक दक्ष जनशक्ति स्थानीयस्तरमै उपलब्ध हुन कठिन हुने गरेको उनीहरू बताउँछन्।

त्यसैगरी फार्मसम्म पुग्ने पहुँच मार्ग कच्ची भएकाले उत्पादन तथा दाना ढुवानीमा समस्या हुने गरेको छ। वर्षायाममा सडकको अवस्था थप कमजोर हुँदा कुखुराका लागि आवश्यक दाना, औषधि तथा अन्य सामग्री ढुवानी गर्न कठिनाइ हुने गरेको सञ्चालकहरूको भनाइ छ।

कुखुरापालन व्यवसायमा बजारको मागसँगै उत्पादन लागत, दानाको मूल्य, रोगको जोखिम र व्यवस्थापन खर्चसमेत महत्वपूर्ण चुनौतीका रूपमा रहने गरेको छ। यस्ता चुनौतीका बाबजुद गुणस्तर कायम गर्दै व्यवसायलाई निरन्तरता दिइरहेका रिजाल दाजुभाइले आगामी दिनमा फार्मलाई थप व्यवस्थित र व्यावसायिक बनाउने योजना अघि सारेका छन्।

स्थानीय स्रोत, बजार र जनशक्तिको उपयोग गर्दै गाउँमै व्यवसाय विस्तार गरेका रिजाल दाजुभाइको प्रयासले वैदेशिक अध्ययन वा रोजगारीका लागि बाहिर जाने युवाले स्वदेशमै फर्किएर उद्यम गर्न सक्ने सम्भावनालाई समेत देखाएको छ।

कृषि तथा पशुपालनलाई परम्परागत निर्वाहमुखी पेशाबाट व्यावसायिक उद्यमका रूपमा विकास गर्न सके स्थानीय अर्थतन्त्र चलायमान बनाउन सकिने उनीहरूको अनुभवले देखाएको छ। करिब दुई करोड रुपैयाँको लगानीबाट सुरु भएको व्यवसायले वार्षिक करोडौँ रुपैयाँको कारोबार गर्दै परिवारसँगै स्थानीय बासिन्दालाई समेत रोजगारी दिन सफल हुनु यसैको उदाहरण बनेको छ।

विदेशको अवसर त्यागेर आफ्नै माटोमा सम्भावना खोजेका रिजाल दाजुभाइ अहिले उत्पादन, रोजगारी र उद्यमशीलताको माध्यमबाट म्याग्दीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। आगामी दिनमा पोल्ट्री व्यवसायलाई थप आधुनिक, व्यवस्थित र ठूलो क्षमतामा विस्तार गर्ने उनीहरूको योजनाले स्थानीय कृषि उद्यममा नयाँ सम्भावनासमेत देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४