Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध, केही सडकमा राति सवारी सञ्चालनमा रोक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०८३
  • 361
    SHARES

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो, भूक्षय तथा सडक भासिने समस्या देखिँदा यातायात प्रभावित भएको छ। केही प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई ध्यानमा राख्दै केही सडकमा रातिको समयमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड वर्षाका कारण प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा कुनै पनि किसिमका सवारीसाधन सञ्चालन गर्न नपाइने जनाइएको छ।

यता, इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोही गाउँपालिकाको लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

यसैगरी, रोल्पा र पाल्पाका महत्वपूर्ण सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएका छन्। रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा आज बिहान भूक्षय भएको प्रहरीले जनाएको छ।

लगातार वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउने क्रममा समेत थप पहिरो तथा बाढीको जोखिम रहन सक्ने देखिएको छ। सडक अवरुद्ध भएका क्षेत्रमा यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले पहिरो तथा बाढीको जोखिम कायम रहेका सडकखण्डमा सावधानीपूर्वक यात्रा गर्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा सम्बन्धित निकायबाट जारी हुने पछिल्लो सूचना हेरेर मात्रै यात्रा तय गर्न अनुरोध गरेको छ।

वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले लामो दूरीको यात्रा गर्ने यात्रुले प्रस्थान गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनु तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउनु आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४