काठमाडौं । पाँचथर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी देखिएका छन्। पछिल्लो समय सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएपछि परिवार विखण्डनले समाजमा जटिल समस्या निम्त्याउन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
पाँचथर जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ मा कुल ६०९ वटा नयाँ मुद्दा दर्ता भएका थिए। तीमध्ये ३८४ वटा अर्थात् ठूलो हिस्सा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेका छन्।
त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ बाट २४६ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए। तीमध्ये ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा थिए। यसरी आर्थिक वर्ष २०८२/०८३ मा जिल्ला अदालतमा नयाँ र अघिल्लो वर्षबाट सरेर आएका गरी कुल ४७१ वटा सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको प्रक्रियामा रहेका थिए।
यीमध्ये १६७ वटा मुद्दा मेलमिलाप प्रक्रियाबाट टुंगिएका छन्। यद्यपि मेलमिलापमा पुगेका अधिकांश मुद्दामा अन्ततः सम्बन्ध विच्छेद नै भएको पाँचथर जिल्ला अदालतका तहसिलदार तथा सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिइन्।
उनका अनुसार सम्बन्ध विच्छेदका मुद्दाको संख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा अदालतमा रहेका कुल मुद्दामध्ये करिब ५१ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा थिए। आर्थिक वर्ष २०८२/०८३ मा यो अनुपात पाँच प्रतिशतले बढेर ५६ प्रतिशत पुगेको नेम्बाङले बताइन्।
पछिल्लो वर्ष पाँचथर जिल्ला अदालतमा सबैभन्दा बढी उमेरका दम्पतीमध्ये ७३ वर्षीय श्रीमान् र ५९ वर्षीया श्रीमतीसमेत सम्बन्ध विच्छेदका लागि पुगेका थिए। त्यस्तै, डेढ वर्षको बच्चा भएका बाबुआमासमेत वैवाहिक सम्बन्ध अन्त्य गर्न अदालत पुगेको तथ्यले सम्बन्ध विच्छेदको समस्या विभिन्न उमेर समूह र पारिवारिक अवस्थासम्म फैलिएको देखाउँछ।
कागजी प्रक्रिया पूरा गर्न पनि अदालत पुग्ने गरेको तथ्य
जिल्ला अदालतका तहसिलदार तथा सूचना अधिकारी नेम्बाङका अनुसार सम्बन्ध विच्छेदका लागि दर्ता हुनेमध्ये करिब एक तिहाइ मुद्दा वास्तविक रूपमा वैवाहिक सम्बन्ध अन्त्य गर्नभन्दा पनि कानुनी तथा कागजी प्रक्रिया पूरा गर्न दर्ता हुने गरेको देखिन्छ।
उनका अनुसार कतिपय दम्पतीले पहिले नै अर्को विवाह गरिसकेका हुन्छन् र कानुनी रूपमा अघिल्लो वैवाहिक सम्बन्ध अन्त्य भएको प्रमाण आवश्यक पर्ने भएकाले अदालतको प्रक्रियामा आउने गरेका छन्।
सम्बन्ध विच्छेदको संख्या वर्षेनि बढ्दै जानु समाजका सबै पक्षका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ। परिवार विखण्डनको बढ्दो अवस्थाप्रति समाजले समयमै ध्यान दिनुपर्ने उनले बताइन्।
बालविवाहदेखि सामाजिक सञ्जालसम्म कारण
अधिवक्ता जयप्रकाश केरुङका अनुसार पाँचथरमा सम्बन्ध विच्छेदका विभिन्न कारण देखिएका छन्। बालविवाह, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, मदिरा सेवनको लत, पारिवारिक बेवास्तालगायतका कारण वैवाहिक सम्बन्धमा दरार आउने गरेको उनको अनुभव छ।
उनका अनुसार बालविवाह गरेका कतिपय दम्पती उमेरसँगै मानसिक तथा सामाजिक रूपमा परिपक्व भएपछि एकअर्कासँग जीवन बिताउन नसक्ने निष्कर्षमा पुग्ने गरेका छन्। त्यस्तै, श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीका लागि लामो समय घरबाट टाढा हुँदा उत्पन्न हुने एक्लोपनले पनि सम्बन्धमा समस्या सिर्जना गर्ने गरेको उनले बताए।
वैदेशिक रोजगारीका क्रममा लामो समय अलग बस्दा कतिपय दम्पती अन्य व्यक्तितर्फ आकर्षित हुने र त्यसले वैवाहिक सम्बन्धमा थप तनाव सिर्जना गर्ने गरेको केरुङको भनाइ छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगले कतिपय अवस्थामा यस्तो दूरी र अविश्वासलाई थप जटिल बनाउने गरेको उनले बताए।
मदिरा सेवनको लत पनि पारिवारिक विखण्डनको प्रमुख कारणका रूपमा देखिएको उनको भनाइ छ। मदिराका कारण परिवारको आर्थिक अवस्था कमजोर हुनुका साथै घरभित्रको माया, विश्वास र आपसी सम्बन्ध कमजोर हुँदै जाँदा अन्ततः वैवाहिक सम्बन्ध नै टुट्ने अवस्था आउने गरेको उनले बताए।
त्यस्तै, श्रीमान् वा श्रीमतीले परिवारका सदस्यप्रति गर्ने बेवास्ता, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति तथा आपसी संवादको कमीले पनि सम्बन्धमा समस्या निम्त्याउने गरेको केरुङले बताए।
सम्बन्ध विच्छेदको असर बालबालिकामा बढी
सम्बन्ध विच्छेदको सबैभन्दा ठूलो असर बालबालिकामा पर्ने गरेको अधिवक्ता केरुङको भनाइ छ। उनका अनुसार सम्बन्ध विच्छेद भएका परिवारका ९० प्रतिशतभन्दा बढी घटनामा आमाले नै सन्तानको जिम्मेवारी लिने गरेको पाइन्छ।
कानुनले पनि बालबालिका सावालक नभएसम्म आमाको साथबाट वञ्चित गर्न नहुने व्यवस्था गरेको उनले बताए। तर आमाले पुनः विवाह गरेपछि वा एकल अभिभावकको अवस्थामा रहे पनि सिङ्गो पारिवारिक संरचना नहुँदा बालबालिकाको मनोविज्ञानमा गम्भीर असर पर्न सक्ने उनले बताए।
सम्बन्ध विच्छेदका लागि अदालतमा आउने कतिपय दम्पतीलाई परामर्श दिँदा भावुक भएर रोए पनि सम्बन्ध जोगाउने प्रयास गर्न तयार नहुने अवस्था देखिएको केरुङको अनुभव छ।
उनका अनुसार सम्बन्ध विच्छेद कानुनी प्रक्रियामात्र नभई त्यससँग जोडिएको पारिवारिक, सामाजिक र मनोवैज्ञानिक पक्षलाई समेत गम्भीर रूपमा हेर्न आवश्यक छ।
रोजगारीको अभाव र वैदेशिक पलायन पनि चुनौती
पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद ढुंगाना सम्बन्ध विच्छेदका कारण पहिचान गर्न समाजले गम्भीर अध्ययन गर्नुपर्ने बताउँछन्।
उनका अनुसार रोजगारीको अभावका कारण श्रीमान्–श्रीमती लामो समयसम्म सँगै बस्न नपाउने अवस्था सिर्जना हुँदा वैवाहिक सम्बन्ध टिकाउन कठिन हुने गरेको छ। वैदेशिक रोजगारी र आन्तरिक बसाइँसराइका कारण परिवारका सदस्यबीच भौतिक दूरी बढ्दा पनि पारिवारिक सम्बन्धमा असर पर्न सक्ने उनले बताए।
सम्बन्ध विच्छेदलाई अहिले समाजमा मनोवैज्ञानिक समस्याका रूपमा समेत बुझ्न थालिएको ढुंगानाको भनाइ छ। परिवार तथा समाजप्रति त्याग, समर्पण र जिम्मेवारीको भावना विकास गर्न सचेतना आवश्यक रहेको उनले बताए।
उनका अनुसार पछिल्लो समय व्यक्तिगत लाभलाई प्राथमिकता दिने तर परिवार र समाजप्रतिको जिम्मेवारीलाई बेवास्ता गर्ने प्रवृत्तिले पनि पारिवारिक विखण्डन बढाउन भूमिका खेलेको छ।
क्षणिक आवेगमा निर्णय गर्ने तथा परिवार र समाजप्रति नागरिक उत्तरदायित्व कमजोर हुँदै जाँदा पारिवारिक संरचनामा खलल पुग्ने र त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्ने गरेको उनले बताए।
यद्यपि विगतमा महिलाले अन्याय सहेर पनि वैवाहिक सम्बन्ध कायम राख्नुपर्ने सामाजिक दबाब रहेकामा अहिले त्यस्तो अन्याय सहन नचाहने महिलाको संख्या बढ्नु पनि सम्बन्ध विच्छेदको एउटा पक्ष भएको ढुंगानाले बताए।
सम्बन्ध विच्छेदको बढ्दो तथ्यांकले वैवाहिक सम्बन्धमा देखिएका समस्यालाई केवल व्यक्तिगत विषयका रूपमा नभई सामाजिक र मनोवैज्ञानिक पक्षबाट समेत अध्ययन गर्नुपर्ने देखाएको छ। परिवारभित्र आपसी संवाद, सम्मान, विश्वास र जिम्मेवारीको भावना बलियो बनाउन सके धेरै समस्या समाधान गर्न सकिने सरोकारवालाको धारणा छ।