काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै केही प्रमुख सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडक वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएका छन्। पहिरो, सडक भासिने र नदी कटानका कारण कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा रातिको समयमा मात्रै आवागमन रोकिएको छ।
यी सडकमा राति सवारी सञ्चालनमा रोक
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड मा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथ मा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द गरिएको छ।
त्यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्ड मा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ। सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म सावधानी अपनाउन आग्रह गरेको छ।
यी सडक पूर्ण रूपमा अवरुद्ध
इलाम नगरपालिका–९ राजदुवाली मा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी स्थित अरनिको राजमार्गमा इकु पहिरो खसेपछि तथा लिपिङ क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे मा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध भएको छ। साथै, गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङ मा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला क्षेत्रमा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, लमजुङको बेँसीसहर–मनाङ सडक अन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि उक्त सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह
प्रहरी प्रधान कार्यालयले अविरल वर्षासँगै पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।