गण्डकी । कास्कीमा गत साउन महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ६७ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा ५८ पुरुष र नौ महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई खोजी गर्ने अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद सजाय कार्यान्वयन तथा जरिवाना असुलका लागि सम्बन्धित अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
पक्राउ परेका प्रतिवादीबाट अदालतको फैसला कार्यान्वयनका क्रममा आठ वर्ष सात महिना ११ दिन कैद असुल भएको छ । त्यस्तै, उनीहरूबाट रु ३७ लाख ९६ हजार ५२० बिगोसमेत असुल उपर भएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो ।
प्रहरीका अनुसार चेक अनादर, बिगो लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीको खोजी तथा पक्राउलाई प्रहरीले पछिल्लो समय प्राथमिकतामा राखेको जनाएको छ ।
अदालतबाट दोषी ठहर भए पनि लामो समयसम्म पक्राउ नपरेका प्रतिवादीलाई खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसका लागि प्रहरीका विभिन्न टोलीले फरार प्रतिवादीको सम्भावित स्थान तथा गतिविधिबारे सूचना संकलन गरी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्दै आएका छन् ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय कास्कीले गत साउन महिनामा चालु मुद्दामा १८१ जनालाई पक्राउ गरेको जनाएको छ । अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा विभिन्न कसुरमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साउन महिनामा कास्कीमा अपराधसँग सम्बन्धित १६८ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधसँग सम्बन्धित २० वटा मुद्दा रहेका छन् । त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका १३ वटा मुद्दा दर्ता भएका छन् ।
साउनमा आर्थिक अपराधसँग सम्बन्धित ५३ वटा मुद्दा दर्ता भएका छन् भने अन्य प्रकृतिका अपराधसँग सम्बन्धित ८२ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले अपराध अनुसन्धानसँगै अदालतबाट फैसला भइसकेका मुद्दाको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिँदै आएको जनाएको छ । फरार प्रतिवादी पक्राउ तथा अदालतबाट भएको फैसला कार्यान्वयनलाई तीव्रता दिँदा कानुनी शासन कायम गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा अदालतको फैसला कार्यान्वयनका लागि आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने जनाएको छ ।