धनगढी । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारीसाधन कारबाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन ट्राफिक कारबाहीमा परेका थिए । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै थप चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको छ । यससँगै पछिल्लो एक वर्षको अवधिमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या ४३ हजार ५९३ पुगेको हो ।
साउन महिनामा मात्रै ट्राफिक कारबाहीबाट रु ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ८७ जना चालकलाई कारबाही गरिएको छ ।
ट्राफिक नियम पालना नगर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जिप/कार, ट्रक र ट्याक्टरलगायतका सवारीसाधन बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए ।
त्यस्तै, आठ हजार ८९३ जिप/कार, छ हजार २८५ ट्रक, तीन हजार ७११ ट्याक्टर, एक हजार ७८५ बस तथा चार हजार ८९० अन्य सवारीसाधन ट्राफिक कारबाहीमा परेका थिए । तथ्याङ्कले सुदूरपश्चिममा दुईपाङ्ग्रे तथा निजी सवारीसाधनसँगै मालवाहक सवारीसाधनबाट समेत ट्राफिक नियम उल्लङ्घन हुने क्रम उल्लेख्य रहेको देखाएको छ ।
प्रहरी उपरीक्षक कार्कीले प्रदेशमा सवारीसाधनको सङ्ख्या निरन्तर बढ्दै जानु, कतिपय स्थानमा सडक साँघुरा हुनु, ट्राफिक नियमप्रतिको बेवास्ता तथा जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढिरहेको बताउनुभएको छ । उहाँका अनुसार पछिल्लो तथ्याङ्कले ट्राफिक नियम उल्लङ्घन गर्ने क्रमसमेत बढ्दै गएको देखाएको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचलाई तीव्रता दिएको छ । त्यसका साथै चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा भएका सवारी दुर्घटनामा परी २५० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक हजार ३८१ जना गम्भीर घाइते भएका थिए भने एक हजार १६२ जना सामान्य घाइते भएका थिए । दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेको सङ्ख्याले प्रदेशमा सडक सुरक्षा चुनौती अझै गम्भीर रहेको देखाएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध पनि कारबाही हुँदै आएको छ । गत आर्थिक वर्षमा लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालकलाई कारबाही गरिएको थियो । त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ६४१ जना चालकलाई कारबाही गरी जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, जथाभावी ओभरटेक गर्ने, सवारी चालक अनुमति पत्र तथा आवश्यक कागजातबिना सवारी चलाउनेलगायतका गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।
सुदूरपश्चिमका मुख्य राजमार्ग तथा सहरी क्षेत्रमा सवारीसाधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सडकको अवस्था, बढ्दो सवारी चाप र चालकको लापरबाहीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकले अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्ने प्रहरीको आग्रह छ ।
प्रहरीले सवारी चालकलाई गति सीमित राख्न, मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी नचलाउन, ओभरलोड नगर्न, हेल्मेट तथा सुरक्षा सामग्रीको प्रयोग गर्न र सडकमा अनुशासित रूपमा सवारी चलाउन आग्रह गरेको छ । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै चालक र पैदलयात्रुमा सडक सुरक्षासम्बन्धी जनचेतना वृद्धि गर्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको विश्वास छ ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा ट्राफिक प्रहरीको नियमित चेकजाँच र कारबाहीलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । नियम उल्लङ्घन गर्ने सवारीसाधन तथा चालकलाई कारबाही गर्नुका साथै दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमलाई समेत थप प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।