काठमाडौं । लगातारको वर्षासँगै जाजरकोटमा गएको पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ। भेरी नगरपालिका–२ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। साथै तीन जना अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोमा परेका स्थानीय केदार कार्कीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
पहिरोमा पुरिएका ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र अर्का एक जनाको खोजी कार्य सुरक्षा निकायले जारी राखेको जनाएको छ।
घाइते सात जनामध्ये पाँच जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
उच्च जोखिममा नौ बस्ती
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण भेरी नगरपालिकाका रिसाङ, स्याँला, माथिल्लो थाप्ले, ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँ लगायतका बस्ती उच्च जोखिममा परेका छन्। यी क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ।
उद्धारमा सडक अवरोध
पहिरोका कारण ठाउँ–ठाउँमा सडक भत्किएर अवरुद्ध भएपछि खोजी तथा उद्धार कार्यसमेत प्रभावित भएको छ। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका र सुरक्षा निकायले पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, जोखिमयुक्त घर छाडेर सुरक्षित स्थानमा जान तथा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेका छन्।