खोटाङ । खोटाङमा सर्पदंशको उपचार नहुँदा सर्पले टोकेका बिरामीलाई जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको छ। जिल्लामै उपचारको व्यवस्था नहुँदा बिरामी तथा आफन्तले समय, खर्च र यात्राको जोखिमसँगै सास्ती खेप्नुपरेको हो।
विभिन्न प्रकारका सर्पले टोकेपछि जिल्लामा उपचार हुन नसक्दा बिरामीलाई उदयपुरलगायतका स्थानमा लैजानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले आफूलाई सर्पले टोकेपछि उपचारका लागि उदयपुरको गाईघाटस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी पुग्नुपरेको बताए।
खत्रीका अनुसार गत असार ३२ गते राति दिक्तेल बजारमा हिँडिरहेका बेला उनलाई सर्पले टोकेको थियो। खोटाङमा सर्पदंशको उपचारको व्यवस्था नभएकाले तत्काल उपचारका लागि गाईघाट जानुपरेको उनले बताए। १८ नम्बर बाहिनीमा सर्पदंशको राम्रो उपचार हुने भए पनि त्यहाँसम्म पुग्नुपर्ने बाध्यताले बिरामीलाई ठूलो सास्ती हुने उनको भनाइ छ।
खोटाङमा बढ्दै सर्पदंशका बिरामी
जिल्ला अस्पताल खोटाङको तथ्याङ्कले पछिल्ला वर्षमा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको देखाएको छ।
जिल्ला अस्पतालका मेडिकल रेकर्डर नन्दराम घिमिरेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २८ जना सर्पदंशका बिरामी अस्पताल आएका थिए। तीमध्ये १६ महिला र १२ पुरुष थिए।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा ३१ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेका थिए। तीमध्ये १३ महिला र १८ पुरुष थिए।
आर्थिक वर्ष २०८२/८३ मा भने सर्पदंशका बिरामीको संख्या अझ बढेर ३९ जना पुगेको छ। तीमध्ये २१ महिला र १८ पुरुष रहेको घिमिरेले जानकारी दिए।
यसरी तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा खोटाङमा सर्पदंशका बिरामीको संख्या क्रमशः बढिरहेको देखिन्छ।
विषालु सर्प पहाडतर्फ उक्लिएपछि जोखिम बढ्यो
खोटाङमा स्थानीय भाषामा गुर्बे, हरेउलगायत विभिन्न प्रकारका सर्प पाइने गर्छन्। पछिल्लो समय राजगोमनजस्ता विषालु सर्पसमेत पहाडी क्षेत्रमा देखिन थालेपछि सर्पदंशको जोखिम थप बढेको स्थानीयको भनाइ छ।
पहिले पहाडी क्षेत्रमा विषालु सर्पको जोखिम कम रहेकाले जिल्लामा छुट्टै सर्पदंश उपचार केन्द्रको आवश्यकता नपरेको बताइन्छ। तर पछिल्लो समय तराई क्षेत्रमा पाइने विषालु सर्प पहाडी क्षेत्रमा समेत देखिन थालेपछि जिल्लामै उपचार केन्द्र आवश्यक भएको स्थानीयको माग छ।
जिल्ला अस्पताल व्यवस्थापन समिति खोटाङका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जलवायु परिवर्तनलगायतका कारण तराईमा पाइने विषालु सर्प पछिल्लो समय पहाडी क्षेत्रमा समेत फैलिँदै गएको बताए।
उनका अनुसार सर्पदंशका बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेकाले खोटाङमै सर्पदंश उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने अवस्था आएको छ।
समयमै उपचार नपाउँदा जोखिम
सर्पदंशका बिरामीलाई समयमै उपचार आवश्यक पर्ने भएकाले जिल्लामै उपचार केन्द्र नहुँदा थप जोखिम सिर्जना हुने स्थानीयको भनाइ छ। दुर्गम तथा ग्रामीण क्षेत्रबाट दिक्तेलसम्म ल्याएर पुनः जिल्ला बाहिर लैजानुपर्ने अवस्थाले उपचारमा ढिलाइ हुने सम्भावना समेत रहन्छ।
स्थानीयवासीले सर्पदंशको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पतालमै आवश्यक औषधि, जनशक्ति तथा उपकरणसहितको उपचार केन्द्र स्थापना गर्न माग गरेका छन्। यसो भएमा सर्पले टोकेका बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन सकिने र उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने उनीहरूको अपेक्षा छ।