काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। शुक्रबार बिहान मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालको नजिक रहेको महाशाखाले जनाएको हो।
देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो तथा अन्य विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई समेत सावधानी अपनाउन भनिएको छ।
राति पनि वर्षाको सम्भावना
शुक्रबार राति देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तराई भू–भागका केही स्थानमा समेत मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले मनसुन सक्रिय रहेकाले वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।