Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 627
    SHARES

काठमाडौं । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षको अवधिमा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षतिसँगै घरगोठ, अन्नबाली, भण्डारण गरिएको अन्न तथा पशुधनमा ठूलो क्षति पुगेको हो ।

डिभिजन वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितका लागि कुल रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत तथा क्षतिपूर्ति वितरण गरिएको छ ।

कार्यालयका अनुसार उक्त आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए । हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले राहतस्वरूप जनही रु १० लाखका दरले कुल रु ६० लाख वितरण गरेको छ ।

त्यसैगरी, हात्तीको आक्रमणमा परी सख्त घाइते भएका १७ जनालाई उपचार तथा राहतका लागि कुल रु २६ लाख ६० हजार ८६२ वितरण गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोइवार यादवले जानकारी दिए ।

मानवीय क्षतिसँगै हात्तीले स्थानीय बासिन्दाको घरगोठ, अन्नबाली तथा पशुधनमा समेत व्यापक क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो अवधिमा १५ वटा पशुधनमा क्षति पुगेको थियो । पशुधन क्षतिबापत पीडितलाई रु एक लाख ५० हजार राहत वितरण गरिएको छ ।

त्यस्तै, हात्तीले घरमा भण्डारण गरेर राखिएको अन्नमा समेत क्षति पुर्‍याएको छ । कुल १९१ वटा भण्डारण गरिएको अन्नमा क्षति पुगेको विवरण कार्यालयले सार्वजनिक गरेको छ । उक्त क्षतिबापत पीडितलाई रु १५ लाख २० हजार २६४ राहत वितरण गरिएको छ ।

हात्तीको आक्रमणबाट जिल्लाका विभिन्न स्थानमा घर तथा गोठसमेत क्षतिग्रस्त भएका छन् । कार्यालयका अनुसार २६८ वटा घरगोठमा क्षति पुगेको थियो । घरगोठ क्षतिबापत पीडितलाई रु ४२ लाख ५४ हजार ५६० क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

यसैगरी, हात्तीले खेतबारीमा लगाइएको अन्नबाली नष्ट गर्दा किसानसमेत ठूलो मारमा परेका छन् । अन्नबालीमा भएको क्षतिबापत रु ५४ लाख पाँच हजार राहत तथा क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

मानवीय र आर्थिक क्षति बढ्दो

झापामा पछिल्ला वर्षहरूमा मानव–हात्ती द्वन्द्व चुनौतीका रूपमा देखिँदै आएको छ । जंगलबाट बस्ती तथा खेतीयोग्य क्षेत्रमा हात्ती प्रवेश गर्दा स्थानीय बासिन्दाको ज्यान जोखिममा पर्ने गरेको छ भने किसानले लगाएको बाली र घरमा भण्डारण गरिएको अन्नमा समेत क्षति पुग्ने गरेको छ ।

विशेषगरी हात्तीको आवतजावत हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई रातको समयमा थप जोखिम हुने गरेको छ । हात्तीको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न वन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायले समन्वय गरी सचेतना र सुरक्षाका उपाय प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

एक वर्षमै करिब दुई करोड रुपैयाँ राहत वितरण गर्नुपर्ने अवस्थाले झापामा मानव–हात्ती द्वन्द्वको समस्या गम्भीर बन्दै गएको देखाएको छ । मानवीय क्षति रोक्नुका साथै किसानको घर, अन्नबाली र पशुधन जोगाउन दीर्घकालीन तथा प्रभावकारी उपाय आवश्यक रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४