काठमाडौं । पाकिस्तानको बोर्ड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका नेपाली पर्वतारोही **पुरबहादुर गुरुङ ‘युक्त’**को शुक्रबार काठमाडौंस्थित स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। परिवार, आफन्त, राजनीतिक नेतृत्व तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा उनको अन्तिम विदाइ गरिएको हो।
अन्त्येष्टि कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, पूर्वसभामुख इन्दिरा रानामगर, सांसदहरू, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, पर्वतारोहण व्यवसायी, आरोही तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले स्वर्गीय गुरुङको पार्थिव शरीरमा नेपाली राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यस्तै, नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका गुरुङप्रति सम्मान व्यक्त गर्दै पार्टीका सभापति गगनकुमार थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
पर्वतारोहण क्षेत्रमा ‘युक्त’ नामले परिचित पुरबहादुर गुरुङ लामो समयदेखि सक्रिय तथा अनुभवी आरोहीका रूपमा परिचित थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमा २८ पटक सफल आरोहण गरी नेपालको पर्वतारोहण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए। साहस, अनुभव र समर्पणका कारण उनी स्वदेश तथा विदेशका पर्वतारोहण समुदायमा सम्मानित व्यक्तित्वका रूपमा चिनिन्थे।
पाकिस्तानको बोर्ड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा उनको दुःखद निधन भएपछि नेपाली पर्वतारोहण क्षेत्र शोकमा डुबेको छ। उनको निधनले नेपालको पर्वतारोहण समुदायले एक अनुभवी, साहसी र समर्पित आरोही गुमाएको प्रतिक्रिया विभिन्न क्षेत्रबाट आएको छ।
स्वर्गीय गुरुङको परिवारमा बुबा–आमा, दिदी, श्रीमती तथा एक छोरा रहेका छन्। अन्त्येष्टि कार्यक्रममा उपस्थित सबैले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।