काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुक्खा पहिरो जाँदा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुगेको छ।
प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार कार्यालय परिसरमाथिको उत्तर–पश्चिमतर्फ रहेको अग्लो डाँडाबाट अचानक सुक्खा पहिरो खसेपछि सशस्त्र प्रहरी बलको बीओपीमा भौतिक क्षति पुगेको हो।
पहिरोका कारण बीओपी भवन तथा परिसरमा क्षति पुगे पनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षाकर्मीले आवश्यक सतर्कता अपनाउँदै क्षतिको विवरण संकलन तथा थप जोखिमको मूल्याङ्कन सुरु गरेका छन्।
मनसुन सक्रिय रहेकाले पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम बढिरहेको अवस्थामा तातोपानी भन्सार क्षेत्रमा भएको यो घटनाले सीमा क्षेत्रको सुरक्षा संरचनामा समेत असर पुर्याएको छ।
प्रहरीले उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन स्थानीयवासी, यात्रु तथा सीमा नाका प्रयोगकर्तालाई आग्रह गरेको छ। सम्बन्धित निकायले क्षतिग्रस्त संरचनाको निरीक्षण तथा मर्मतको तयारीसमेत अघि बढाएको जनाएको छ।