काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न भूभागमा वर्षा हुने अनुकूल अवस्था बनेको हो।
महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मनसुन सक्रिय रहेकाले दिनभर देशका अधिकांश क्षेत्रमा बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। यस्तै, तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
रातिको मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै देशका तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
लगातारको वर्षाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात, पर्यटन, पर्वतारोहण र विकास निर्माणका कार्य प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।