काठमाडौं । सरकारले विदेशबाट नेपाल फर्कने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको आर्थिक प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। पछिल्ला दिनहरूमा वैदेशिक रोजगारीबाट स्वदेश फर्कने नेपालीलाई प्रयोग गरी अवैध रूपमा सुन तथा बहुमूल्य वस्तु भित्र्याउने प्रयास बढ्दै गएको भन्दै सुरक्षा निकायले सतर्क रहन अनुरोध गरेको हो।
नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विशेष अनुरोधमा दुबई, कतारलगायत विभिन्न मुलुकबाट फर्किने नेपालीलाई लक्षित गरी केही अपरिचित व्यक्ति तथा दलालहरूले आर्थिक प्रलोभन देखाएर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याउन लगाउने गरेको उल्लेख गरिएको छ। यस्ता गतिविधि संगठित तस्करीसँग सम्बन्धित हुन सक्ने भएकाले यात्रुहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरिएको छ।
कार्यालयका अनुसार अपरिचित व्यक्तिको सामान बोकेर ल्याउनु वा आफ्नो झोलामा राखेर ल्याउनु कानुनविपरीत कार्य हो। यस्तो कार्यमा संलग्न पाइएमा सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गरी प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ। विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन तथा बहुमूल्य वस्तुको ओसारपसार नियन्त्रणका लागि नियमित निगरानी, अनुसन्धान र सुरक्षा जाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ।
सुरक्षा कार्यालयले विदेशबाट फर्किने यात्रुलाई आफ्नै सामान मात्र बोकेर यात्रा गर्न, झोलाभित्र रहेका सबै वस्तुको वास्तविक जानकारी राख्न तथा आफूले खरिद गरेका सामानको बिल र आवश्यक कागजात सुरक्षित राख्न आग्रह गरेको छ। साथै, भन्सारसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्न र कुनै पनि प्रकारको दलाल वा अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न विशेष अनुरोध गरिएको छ।
नेपाल प्रहरीले विमानस्थलमा कुनै शंकास्पद गतिविधि, अवैध सामान ओसारपसारको प्रयास वा आर्थिक प्रलोभन सम्बन्धी सूचना प्राप्त भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि सर्वसाधारणसँग अपिल गरेको छ। समयमै सूचना उपलब्ध भए यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न र संगठित तस्करीविरुद्ध प्रभावकारी कारबाही गर्न सहयोग पुग्ने विश्वास सुरक्षा निकायको छ।
पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सुन तस्करीका घटनाहरू बढ्दै गएकाले सरकारले सीमा सुरक्षा र विमानस्थलको निगरानीलाई थप कडाइ गरेको छ। यसै सन्दर्भमा विदेशबाट फर्कने नेपाली नागरिकलाई सचेत, जिम्मेवार र कानुनप्रति संवेदनशील बन्न आग्रह गर्दै आफ्नै सामान मात्र बोकेर सुरक्षित यात्रा गर्न सरकार तथा सुरक्षा निकायले पुनः अनुरोध गरेका छन्।